रुकुम पश्चिममा सरकारी अनुदानबाट दश हजार बढी अस्थायी आवास निर्माण

शुक्रबार, पुस २०, २०८०

रुकुम पश्चिममा भूकम्प प्रभावितहरुको लागि हालसम्म दश हजार बढी अस्थायी आवास निर्माण भएका छन् । सरकारले अस्थायी आवास निर्माणका लागि दिएको अनुदान रकमको पहिलो किस्ताबाट हालसम्म दश हजार ४२३ वटा आवास निर्माण भएका हुन् । 

जिल्ला प्रशासन कार्यालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार अनुदान वापतको रकमले सात हजार ११७ वटा आवास निर्माण भईरहेका छन् । निमित्त प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालका अनुसार हालसम्म आठबीसकोट नगरपालिकामा तीन हजार १४ वटा अस्थायी आवास बनेका छन् भने चार हजार एक सय आवास निर्माणको चरणमा रहेका छन् ।   
त्यसैगरी चौरजहारी नगरपालिकामा दुई हजार २८९ अस्थायी आवास निर्माण सम्पन्न हुँदा ३१५ वटा निर्माण भइरहेका छन् । मुसीकोट नगरपालिकामा हालसम्म २४ वटा अस्थायी आवास निर्माण भएका छन् भने ४८ वटा निर्माण भईरहेको बताईन्छ । 

त्यस्तै सानीभेरी गाउँपालिकामा चार हजार ४१ अस्थायी आवास निर्माण भएका छन् भने दुई हजार २७ वटा निर्माण भईरहेका छन् । प्रशासन कार्यालयका अनुसार त्रिवेणी गाउँपालिकामा ९३८ अस्थायी आवास निर्माण भएका छन् भने ५५७ वटा आवास निर्माणको चरणमा रहेका  छन् । बाँफिकोटमा गाउँपालिमा  ११७ लाभग्राहीका लागि अस्थायी आवास निर्माण भएका छन् भने ४० वटा निर्माण भईरहेका छन् ।  

निमित्त प्रमुख जिल्ला अधिकारी बढुवालका अनुसार जिल्लाका छ वटै स्थानीय तहमा २३ हजार ६०८ लाभग्राहीको अस्थायी आवास निर्माणको लागि पहिलो किस्ताको रकम स्थानीय तहमा रहेको विपद् कोषमा पठाईसकिएको छ । स्थानीय तहहरुले भने २१ हजार १२५ लाभग्राहीको खातामा पहिलो किस्ता पठाईसकेको जनाएका छन् । 

417444618_1401565784118845_6768598765945077874_n1704451268.jpg

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १६:०३
प्रतिक्रिया दिनुहोस्