Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नागरिकको स्वास्थ्यमा सुधार ल्याउन परिक्षण अभियान सञ्चालन

शनिबार, पुस २१, २०८०
tribeni2

रुकुम पश्चिम । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले नागरिकको स्वास्थ्य अवस्थामा सुधार ल्याउन नागरिक स्वास्थ्य परिक्षण अभियान सञ्चालन गरेको बताउनुभएको छ । शनिबार रुकुम पश्चिमको आठबीसकोटमा नागरिक स्वास्थ्य परिक्षण अभियान कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री शर्माले नागरिकको स्वास्थ्य जाँचको आधारमा रुपमा प्रदेश सरकारले उक्त अभियान सञ्चालन गरेको उल्लेख गर्नुभयो । 

कर्णाली प्रदेश सरकारले रुकुम पश्चिमको आठबीसकोट नगरपालिका, सुर्खेतको चौकुने गाउँपालिका र बिरेन्द्रनगर नगरपालिका र हुम्ला जिल्लालाई लक्षित गरेर उक्त अभियान सञ्चालन गरेको हो । 
 
उक्त कार्यक्रममा मुख्यमन्त्री शर्माले नसर्ने रोगले पछिल्लो समयमा स्वास्थ्य चुनौती उल्लेख गर्नुहुँदै त्यसको रोकथामका लागि पनि स्वास्थ्य परिक्षण थालिएको जनाउनुभयो । अहिले तीन जिल्लामा नमूनाको रुपमा अभियान सञ्चालन गरेतापनि यसलाई कर्णालीका सबै जिल्लामा बिस्तार गरिने मुख्यमन्त्री शर्माले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारले स्वास्थ्य सेवालाई प्रवद्र्धनात्मक र उपचारात्मक दुबै किसिमले समुदायमा लिईरहेको छ । स्वाास्थ्य क्षेत्रमा  क्रियाशिल जनशक्तिलाई उपचारसँगै सचेतनामूलक कार्यमा पनि एकसाथ लिएर जानुपर्छ ।’ नागरिकको स्वास्थ्य परिक्षण, उपचार र जनचेतना जागृत गर्ने जिम्मेवारि स्वास्थ्य क्षेत्रमा क्रियाशिल जनशक्तिको भएको मुख्यमन्त्री शर्माको भनाई छ ।    

भुकम्प प्रभावित स्थानीय तहमा प्रदेश सरकारले स्वास्थ्यका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुहुँदै उहाँले भुकम्प पश्चात खोज, उद्धार, उपचार, राहत र अहिले पुनर्निर्माण लागि प्रदेश सरकारले जिम्मेवारी पुरा गरिरहेको उल्लेख गर्नुभयो । अब पुनर्निर्माणका लागि संघ, प्रदेश र स्थानीय सरकार ठोस रुपमा लाग्ने गरि छलफल भइरहेको मुख्यमन्त्री शर्माले जानकारी दिनुभयो । 

कार्यक्रममा कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रबिन खड्काले यस अभियानले ५५ बर्ष माथिका नागरिकको स्वास्थ्य परिक्षण गर्ने जानकारी दिनुभयो ।  स्वास्थ्य परिक्षणबाट प्राप्त नतिजाका आधारमा पञ्चबर्षिय नीति कार्यक्रम बनाईने उहाँले बताउनुभयो । यस अभियानले ५५ बर्ष माथिका नागरिकको स्वास्थ्य अवस्थामा बुझ्न र सुधार गर्न सहयोग पुग्ने समेत उहाँले विश्वास व्यक्त गर्नुभयो । 

त्यसैगरी कर्णाली प्रदेश सरकारका प्रमुख सचिव चुडामणि पौडेलले स्वास्थ्यलाई प्राथमिकता दिएर कार्यक्रम र बजेट तय गरेको बताउनुभयो  । कर्णालीवासीको स्वास्थ्य सेवालाई थप सरल र सहज बनाउन सरकार लागि परेको उहाँको भनाई छ ।

स्वास्थ्य सेवा निर्देशनालयले पहिलो चरणमा रुकुमपश्चिम र सुर्खेत तथा दोश्रो चरणमा हुम्लामा नागरिक स्वास्थ्य परिक्षण गरिने जनाएको छ । अभियान शुभारम्भसँगै अभियानबारे स्वास्थ्यकर्मीहरुलाई अभिमूखिकरण समेत गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्