Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भूकम्प प्रभावित जिल्ला रुकुम पश्चिममा खाद्य संकटको जोखिम

रुकुम पश्चिम अब खाद्य सुरक्षित जिल्ला नरहने
आइतबार, पुस २२, २०८०
tribeni2

रुकुम पश्चिम । हावाहुरी र भूकम्पले कृषि क्षेत्रमा गरेको क्षतिको कारण रुकुम पश्चिममा खाद्य संकट हुने देखिएको छ । जसको कारण यस वर्ष रुकुम पश्चिम खाद्य सुरक्षित जिल्ला नहरने समेत भएको छ । 

कात्तिक १७ गते जाजरकोटको रामिडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्प र भदौ १७ गते चलेको हावाहुरीका कारण खाद्य क्षेत्रमा ठूलो क्षति भएपछि यस वर्ष जिल्लामा खाद्य सङ्कट हुने देखिएको हो । 

भदौ १७ गते चलेको हावाहुरीका कारण जिल्लाभर चार हजार मेट्रिक टन मकै नष्ट भएको थियो । त्यस्तै भूकम्पका कारण घर भत्किँदा घरमा भण्डारण गरेर राखिएको करिब ५५ मेट्रिन टन खाद्यान्न पुरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । 

विपदले कृषि क्षेत्रमा पु¥याएको क्षतिका कारण जिल्लामा यस वर्ष चार हजार मेट्रिक टन खाद्य अपुग हुने देखिएको कार्यालयका प्रमुख मीनबहादुर केसीले जानकारी दिनुभयो । केसीका अनुसार मकैमा हावाहुरीका कारण क्षति भएको छ भने भूकम्पका कारण घर भत्किदा पुरिएदा अन्नबालीमा क्षति भएको छ । अहिले फेरि भूकम्प प्रभावित क्षेत्रका नागरिक कृषितर्फ भन्दा पनि अस्थायी आवास निर्माणतर्फ लागेकाले यस वर्ष खाद्य सङ्कट हुने देखिएको उहाँको भनाई छ ।  

विगतका वर्षमा जिल्लामा उत्पादन भएको कृषि उपज खाएर पनि दुई हजार पाँच सय मेट्रिक टन बचत हुने गरेको केसीले जानकारी दिनुभयो । “यसअघिका वर्षमा यहाँ उत्पादित कृषि उपज जिल्लामै खपत भएर पनि निर्यात हुने गरेको थियो । यस वर्ष भने चार हजार मेट्रिक टन खाद्य अपुग हुने देखिएको छ”, उहाँले भन्नुभयो ।

भूकम्पकै कारण जिल्लामा कृषि क्षेत्रमा ६५ लाखको क्षति भएको प्रमुख केसीले जानकारी दिनुभयो । उहाँका अनुसार भूकम्पका कारण मकै, दलहन बाली र मौरीका घारमा समेत क्षति गरेको हो । 

आठविसकोट–१४ की चन्द्रकला मल्लले भदौमा हावाहुरीबाट जोगिएको मकै भण्डारण गरेको र त्यो पनि भूकम्पले घर भत्किँदा पुरिएको बताउनुभयो । घरमा रहेका मौरीका घारमा पनि क्षति पुगेकको र खेतीयोग्य जमिनमा टहरा बनाउन परेकोले यो वर्ष के खाने भन्ने चिन्ता रहेको मल्लले बताउनुभयो । 

राहतस्वरुप दिइएको चामल पनि सकिँदै गएको र घरमा कुटानीपिसानीका लागि अन्न नभएकाले भोक हुने चिन्ता भूकम्पपीडितलाई छ । 

कृषि विकास कार्यालयले भूकम्पका कारण जिल्लामा भएको क्षतिबाट खाद्य सङ्कटको अवस्था आउन नदिनका लागि प्रदेश सरकारलाई आग्रह गरिएको जनाएको छ। जिल्लामा कृषिमा भएको क्षतिको विवरण प्रदेश सरकार समक्ष बुझाइएको कृषि विकास कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १६:५४
प्रतिक्रिया दिनुहोस्