Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नेपाली सेना र सशस्त्र प्रहरीद्वारा १२४ वटा आवास निर्माण 

आइतबार, पुस २९, २०८०
tribeni2

रुकुम पश्चिममा नेपाली सेना र सशस्त्र प्रहरीले भूकम्पपीडित व्यक्तिहरुका एक सय २४ वटा अस्थायी आवास निर्माण गरेका छन् ।

एक महिनाअघि भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणका लागि परिचालन भएको सुरक्षाकर्मीको टोलीले जिल्लामा तीन सय ४३ वटा भग्नावशेष अवस्थाका घरको समेत व्यवस्थापन गरेको छ ।  

नेपाली सेनाको टोलीले ९० वटा र सशस्त्र प्रहरी टोलीले ३४ वटा अस्थायी आवास निर्माण गरेका हुन् । चण्डीदल गण सल्लेका निमित्त गणपति सेनानी गोपाल बोहराले दिनुभएको जानकारी अनुसार नेपाली सेनाले आठबीसकोट नगरपालिका क्षेत्रमा ८० वटा र सानीभेरी गाउँपालिकामा १० वटा अस्थायी आवास निर्माण गरेको छ ।

सेनानी बोहराले आठबीसकोट नगरपालिका वडा नम्वर ११ मा १८ वटा, १३ मा २७ वटा र १४ मा ३५ वटा अस्थायी आवास निर्माण गरेको जानकारी दिनुभयो । सेनाले सानीभेरी गाउँपालिकाको वडा नम्वर २ मा पाँच वटा र ४ मा पाँच वटा आवास बनाएको छ । 

दुई समुह बनाएर परिचालन भएको टोलीले जोखिमपूर्ण अवस्थाका दुई सय ४४ वटा घरहरुको व्यवस्थापन गरेको छ । आठबीसकोट नगरपालिकामा एक सय १७ र सानीभेरी गाउँपालिकामा एक सय २७ वटा घर व्यवस्थापन गरिएको हो । भूकम्पले चर्किएर जोखिमपूर्ण अवस्थामा रहेका घरहरु व्यवस्थापनमा स्थानीयबाट बढी मात्रामा अनुरोध आउने गरेको सेनाले जनाएको छ ।  

WhatsApp Image 2024-01-12 at 14.22.43_bcefa7cc1705202691.jpg

त्यसैगरी सशस्त्र प्रहरीको ४७ नम्वर गुल्म हेडक्वाटर रुकुमपश्चिमका प्रहरी नायब उपरिक्षक सुमन लामिछानेले सशस्त्र प्रहरीले हालसम्म ३४ वटा अस्थायी आवास निर्माण गरेको र अन्य आवास निर्माणको लागि फिल्डमै टोली खटिरहेको जानकारी दिनुभयो ।

उहाँले सानीभेरी गाउँपालिकामा चार वटा, त्रिवेणी गाउँपालिका आठ वटा र चौरजहारी नगरपालिकामा २२ वटा अस्थायी आवास निर्माण गरेको बताउनुभयो । सशस्त्र प्रहरीले हालसम्म ९९ वटा भग्नावशेष अवस्थाका घरहरुको व्यवस्थापन गरेको छ । 

APF toli asthayi tahara banaudai (3)1705202605.jpg

सुरक्षा निकायको टोली भूकम्पले क्षति गरेका घरहरुको व्यवस्थापन र अस्थायी आवास निर्माणको लागि अझै फिल्डमै रहने जिल्ला सुरक्षा समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले जानकारी दिनुभयो । गत मङ्सिर १३ गतेको मन्त्रीपरिषद्को बैठकको भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको लागि सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको थियो ।

भूकम्पको बेला खोज, उद्धार, उपचार र राहत वितरणको काममा प्रभावकारी भूमिका निर्वाह गरेको सुरक्षाकर्मी टोलीलाई अस्थायी आवास निर्माणको काममा परिचालन गरिएको छ । सुरक्षाकर्मीको टोलीले स्थानीय तहसँग आवश्यक समन्वय गरेर काम गरिरहेको छ । 

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  ०९:००
प्रतिक्रिया दिनुहोस्