Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कुमाखको भवन बनाउने ठेकेदारबाट ठगिएका पेटिठेकेदारको ‘बिजोग’

सम्झौता अनुसारको रकम नदिएर मुख्य ठेकेदार टाप !
शुक्रबार, माघ ५, २०८०
tribeni2

अधिकांश ठेकेदारहरुले समयमै काम नगरेको, कामदारहरुलाई ज्याला नदिएको, गुणस्तरिय काम नगरेको गुनासो सुनिन्छ । एक ठेकेदारले आफ्नै निर्माण कम्पनीको प्रतिनिधीमा नियुक्त गरेका तथा पेटिठेक्का दिएका निर्माण व्यवसायीलाई सम्झौता अनुसारको रकम नदिएर घर न घाटको स्थितिमा पुर्याएको पाईन्छ । 

सल्यानको कुमाख गाउँपालिकाको कार्यालय भवन र पालिकास्तरिय अस्पताल भवन निर्माणको काम गरेका निर्माण व्यवसायी मुख्य ठेकेदारबाट ठगिएपछि आर्थिक अवस्था बिजोग भएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका –१ निवासी रिम प्रसाद शर्माले आफू मुख्य ठेकेदारबाट ठगिएको गुनासो गर्नुभएको छ ।

गाउँपालिकाको कार्यालय भवन र अस्पताल भवन बनाउने ठेक्का पाएको मार्गदेवी निर्माण सेवा प्रा.लि.भक्तपुरले सम्झौता बमोजिमको भुक्तानी नदिएर हिडेपछि शर्माको अवस्था अहिले नाजुक बनेको छ । 

मूलपाटीलाई प्राप्त जानकारी अनुसार कुमाख गाउँपालिकाको कार्यालय भवन र पालिकास्तरिय ५ शैयाको अस्पताल भवन निर्माणको ठेक्का पाएको मार्गदेवी निर्माण सेवाले दुवै भवन निर्माणको जिम्मा शर्मा र चौरजहारीकै निमबहादुर बुढाथोकीलाई दिएको थियो । मार्गदेवी निर्माण सेवा प्रा.लि.का निर्देशक निर्मल रिजाल र पेटी ठेकेदारद्वय शर्मा र बुढाथोकी बिच भवन निर्माणको लागि त्रिपक्षिय सम्झौता भएको थियो ।

सम्झौतापत्र अनुसार निर्माण कम्पनीले शर्मालाई परियोजना प्रमुख र बुढाथोकीलाई परियोजना समन्वयकर्ताको जिम्मेवारी तोकेको थियो । सम्झौतामा परियोजना भवन निर्माणमा जारी बैक जमानत उपलब्ध गराएवापत एकमुष्ट भ्याट बाहेकको जम्मा रकममा ५ प्रतिशत र भ्याटको ४० प्रतिशत कम्पनीलाई दिने तथा धरौटी र भ्याटको ६० प्रतिशत रकम पेटी ठेकेदारद्वय शर्मा र बुढाथोकीलाई फिर्ता गर्नुपर्ने उल्लेख छ । 

सम्झौतामा परियोजनाको शेयर समेत बाँडफाँड गरिएको छ । भवन निर्माणको सम्पूर्ण जिम्मा लिएका शर्माले ७५ प्रतिशत र बुढाथोकीले २५ प्रतिशत शेयर लगानी गर्ने सहमति अनुसार काम सुरु भएतापनि र शर्माले एक्लै सम्पूर्ण लगानी गर्नुपरेको उहाँको दाबी छ । २०७६ जेठ २४ गते गाउँपालिकासँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले २०७६ असार १४ गते भवन निर्माणको सम्पूर्ण जिम्मा पेटी ठेकेदारलाई दिनेगरी सम्झौता गरेको थियो । 

Samjhauta patra1705662841.jpg
मुख्य ठेकेदार र प्रतिनिधीहरु बिचमा भएको त्रिपक्षिय सम्झौता

भवन निर्माणको सम्पूर्ण लगानी र आवश्यक समन्वय तथा खटनपटन गरेका दुवै पेटी ठेकेदारलाई मुख्य ठेकेदारले भने बमोजिमको खर्च नदिएर अहिले हैरानी दिएको शर्माको आरोप छ । उहाँका अनुसार गाउँपालिकाको भवन तथा अस्पताल निर्माणका लागि आफूले मात्र विभिन्न सामाग्रीसहित करिब एक करोड रकमको कारोबार गरिएको थियो । तर मुख्य ठेकेदारले गाउँपालिकाबाट भुक्तानी लिएको बर्षौ बितिसक्दा पनि सम्झौता अनुसारको रकम दिएका छैनन् । 

मुख्य ठेकेदारले भवन निर्माणको प्रतिनिधी आफूलाई बनाएर उक्त भवन निर्माणमा सम्पूर्ण आर्थिक लगानी गर्न लगाएको र लगानीको नाफा तथा घाटा आफूले नै बेहोर्ने सहमति गरेको शर्माले उल्लेख गर्नुभयो । तर काम सम्पन्न भएपछि मुख्य ठेकेदारले पेटी ठेकेदारहरुसँग हिसाब किताब नगरेर काठमाडौ भागेको बताईन्छ । गाउँपालिका भवन निर्माण सम्पन्न भएर गत बर्ष देखि नै सोहि भवनबाट काम सुरु भईरहेको छ भने अस्पताल भवन निर्माणको अन्तिम चरणमा रहेको छ । 

शर्माका अनुसार आफू र बुढाथोकी बसेर हिसाब निकाल्दा करिब ७० लाख रुपियाँ मार्गदेवी निर्माण सेवाबाट पाउनुपर्ने देखिन्छ । मार्गदेवी निर्माण सेवाका प्रतिनिधी तथा पेटीठेकेदारद्वयले गरेको हिसाब अनुसार गाउँपालिकाबाट निर्माण कम्पनीले विभिन्न मितिमा दुई करोड ७३ लाख ५४ हजार ३९० रुपियाँ लिएको छ । सोहि रकममध्य फरक फरक मितिमा शर्मा र बुढाथोकीलाई दिएको, मार्गदेवीले सम्झौता अनुसार लिएको र  सप्लायर्समा सिधै भुक्तानी दिदा दुई करोड ६३ लाख ८४ हजार रुपियाँ खर्च भएको छ भने नौ लाख ७० हजार ३९० रुपियाँ बाँकि रहेको छ ।

उक्त रकम सम्झौता अनुसार आफूले पाउनुपर्ने शर्माको दाबी छ । यसका साथै धरौटी वापत गाउँपालिकामा राखिएको भुक्तानीको पाँच प्रतिशत रकम १३ लाख ६७ हजार ७१९ रुपियाँ पनि पेटी ठेकेदारहरुले नै पाउनुपर्ने बताईन्छ । 

यसका साथै पाँच शैयाको अस्पताल भवन निर्माणबाट समेत मुख्य ठेकेदारले पेटी ठेकेदारलाई ठगेको बताईन्छ । अस्पतालको काम भईरहेको बेला गाउँपालिकाले एक करोड १३ लाख ८९ हजार चार सय ४५ रुपियाँ भुक्तानी लिईसकेको अवस्थामा सप्लायर्स, शर्मा र बुढाथोकीसहित मार्गदेवी निर्माण सेवाको शुल्क सहित ८० लाख ३३ हजार ६ सय ३२ रुपियाँ मात्र खर्च हुन आउने शर्माले जानकारी दिनुभयो । यसबाट मार्गदेवीले ३३ लाख ५५ हजार आठ सय ४३ रुपियाँ आफूहरुलाई दिन बाँकि रहेको उहाँको भनाई छ । 

nirman hudai gareko aspatal bhawan1705662676.jpeg
निर्माणकै क्रममा रहेको अस्पताल भवन । 

गाउँपालिका कार्यालय भवन, अस्पताल भवन र धरौटी वापतको रकम गरेर ५६ लाख ९३ हजार नौ सय ५२ र भ्याटको ६० प्रतिशत रकम गरेर करिब ७० लाख रुपियाँ मुख्य ठेकेदार कम्पनीले पेटिठेकेदारहरुलाई दिनुपर्ने उनीहरुको हिसाब रहेको छ । सोहि भवन निर्माणकै लागि आफू जमानी बसेर विभिन्न व्यवसायीहरुबाट लिईएको सामानको रकम समेत तिर्न बाँकि रहेको शर्माले बताउनुभयो । 
 
कुमाख गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत छबि खड्काले मुख्य ठेकेदार र पेटीठेकेदार बिचको लेनदेनको बिषयमा गाउँपालिकासँग नजोडिने बताउनुभयो । मार्गदेवीसँग ठेक्का सम्झौता भएकोले उसैसँग सम्झौता र कामपछिको भुक्तानी भईसकेको जनाउँदै खड्काले पेटिठेक्काको बिषय गाउँपालिकासँग सम्बन्धित नरहेको जनाउनुभयो ।

कार्यालय भवन निर्माण भईसकेपछि प्राप्त बिल भरपाई र अन्य आधारमा गाउँपालिकाले धरौटिसहितको रकम मार्गदेवीलाई उपलब्ध गराएको उहाँको भनाई छ । 

पेटी ठेकेदारको बिजोग

गाउँपालिका र अस्पताल भवन निर्माणको काममा करिब एक करोडको लगानी गरेको बताउदै व्यवसायी शर्माले अहिले आफू घर न घाटको अवस्थामा पुगेको बताउनुभयो । उहाँले विभिन्न सप्लायर्सबाट आफ्नो चिनजानको हिसाबले सामान ढुवानी गरेकोदेखि भवन निर्माणको लागि निकालेको ऋणले आफ्नो आर्थिक अवस्था बिजोग हुँदै गएको उल्लेख गर्नुभयो । 

शर्माले यहि भवन बनाउने क्रममा नेपालगञ्जको अमन ईट्टा उद्योगबाट ल्याएको ईट्टाको समयमै भुक्तानी दिन नसक्दा आफूले चेक बाउन्सको मुद्धा समेत खेप्नु परेको दुखेसो व्यक्त गर्नुभयो । मार्गदेवी निर्माण सेवाले दिएको जिम्मेवारी अनुरुपमा आफूले बि एण्ड बि सप्लायर्सबाट ३० लाख, सोना सिमेन्ट १० लाख, ट्याक्टर तथा टिपर भाडा आठ लाख, ईट्टा उद्योगमा २४ लाख रुपियाँ लगानी गरेको र विभिन्न व्यक्तिहरुसँग २५ लाख रुपियाँ ऋण निकालेको शर्माको भनाई छ । 

gaupalika ma diyako ujuri 1705662893.jpg
भुक्तानी रोक्का गरेर आवश्यक सहजिकरण गरिदिन गाउँपालिकामा गरिएको अनुरोध पत्र । 

आफूले मुख्य ठेकेदारबाट पाउनुपर्ने रकम नपाएकोले भुक्तानी रोकेर आवश्यक सहजिकरण गरिदिन गाउँपालिका कार्यालय तथा न्यायीक समिति समेतलाई गत पुस १८ मा निवेदन दिदा पनि कुनै सुनुवाई नभएको शर्माको गुनासो रहेको छ । 

यस विषयमा मार्गदेवी निर्माण सेवा प्रा.लि.का निर्देशक निर्मल रिजालसँग पटक पटक उहाँको मोबाईल नम्वरमा सम्पर्क गर्दा कल रिसिभ भएन । 

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १६:३६
प्रतिक्रिया दिनुहोस्