रुकुम पश्चिममा अस्थायी आवासका लागि ७३ करोड बढी रकम निकाशा

६६ करोड ४३ लाख २५ हजार वितरण
शुक्रबार, माघ ५, २०८०

रुकुम पश्चिम । रुकुम पश्चिममा भूकम्पपीडितहरूको अस्थायी आवास निर्माणको लागि हालसम्म ७३ करोड५१ लाख ५० हजार  रुपियाँ निकासा भएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्ला विपद् कोषबाट जिल्लाका छ वटा स्थानीय तहमा रहेका स्थानीय विपद् कोषमा उक्त रकम पठाइएको हो । 

प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले दिनुभएको जानकारी अनुसार हालसम्म २९ हजार  ४ सय छ जना लाभग्राहीको लागि पहिलो किस्ता बापतको उक्त रकम पठाइएको छ । पठाइएको उक्त रकमबाट स्थानीय तहले २६ हजार पाँच सय ७३ जना लाभग्राहीको खातामा ६६ करोड ४३ लाख २५ हजार रुपियाँ जम्मा गरिसकेका छन् । 

प्रमुख जिल्ला अधिकारी पन्तले चौरजहारी नगरपालिकामा छ हजार २७९ जना लाभग्राहीको लागि १५ करोड ६९ लाख ७५ हजार रुपियाँ पठाइएकोमा छ हजार एक सय ६५ जना लाभग्राहीको खातामा २५ हजार रुपियाँका दरले रकम जम्मा भइसकेको बताउनुभयो ।

आठबीसकोट नगरपालिकामा नौं हजार सात सय ३२ जना लाभग्राहीको लागि २४ करोड ३३ लाख रुपियाँ पठाएको छ भने नगरपालिकाले नौं हजार छ सय ६७ जना लाभग्राहीको खातामा २४ करोड १६ लाख ७५ हजार रुपियाँ जम्मा गरिसकेको छ । 

मुसीकोट नगरपालिकामा एक हजार  छ सय ६० जना लाभग्राहीको लागि पठाएको चार करोड १५ लाख  रुपियाँ मध्ये आठ सय ५८ जनाको खातामा मात्र पहिलो किस्ताको रकम जम्मा भएको छ । 

प्रशासन कार्यालयका अनुसार सानीभेरी गाउँपालिकामा पाँच हजार नौ सय २१ जना लाभग्राहीको लागि १४ करोड ८० लाख २५ हजार रुपियाँ पठाइएको छ भने गाउँपालिकाले पाँच हजार चार सय ३२ जनालाई पहिलो किस्ताको रकम दिईसकेको छ ।

त्रिवेणी गाउँपालिकामा चार हजार एक सय १५  ५२ जना लाभग्राहीको लागि जिल्ला विपद् कोषबाट प्राप्त दश करोड २८ लाख ७५ हजार रुपियाँ  मध्य दुई हजार सात सय ५२  जनाको लागी छ करोड ८८ लाख रुपियाँ खातामा गएको छ।   

बाँफिकोट गाउँपालिकामा एक हजार छ सय ९९ जना लाभग्राहीको लागि पठाइएको चार करोड २४ लाख ७५ हजार रुपियाँ सबै लाभग्राहीको खातामा पुगेको छ । 

 

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १७:१३
प्रतिक्रिया दिनुहोस्