तत्काल पुनर्निर्माण मापदण्ड ल्याउन जनार्दन शर्माको माग

शनिबार, माघ ६, २०८०

रुकुम पश्चिम । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले सरकारले तत्काल पुनर्निर्माण मापदण्ड ल्याउनुपर्ने बताउनुभएको छ । भूकम्पपछिको पुनर्निर्माण काममा ढिलाइ भइसकेकाले सरकारले तत्काल पुनर्निर्माणको मापदण्ड ल्याउनुपर्ने बताउनुभयो ।   

भूकम्प प्रभावित क्षेत्र चौरजहारी नगरपालिकाकाबासीसँग शनिवार अन्तरक्रिया गर्दै शर्माले पुनर्निर्माण विषयमा नयाँ तरिकाले जानुपर्ने बताउनुभएको हो । शर्माले केही दिनयता भूकम्प प्रभावित क्षेत्र रुकुम पश्चिमका पालिकाहरूमा पुगेर भूकम्पपछिको पुनर्निर्माणका सन्दर्भमा जनताहरूसँग अन्तरक्रिया गरिरहनुभएको छ ।  

शनिवारको अन्तरक्रियामा राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थान प्राधिकरणका प्रमुख अनिल पोख्रेलको समेत सहभागीता रहेको थियो  ।

शर्माले पोख्रेललाई पुनर्निर्माण विषयमा चाँडो अग्रसरता देखाउन आग्रह समेत गर्नुभयो ।  ‘हामीलाई डोको र पोको राख्ने पुनर्निर्माण चाहिन्छ, पुनर्निर्माण भनेको मान्छेका लागि एउटा घर बनाउने मात्र होइन, हाम्रा आफ्नै रहनसहन छन्, आयआर्जनको कुरा छ,’ उहाँले भन्नुभयो, ‘त्यसकारण पुनर्निर्माण परिभाषा विगतभन्दा अलि फरक छ, मेरो विचारमा, बस्तु भाउ बस्नेदेखि अन्नपातको व्यवस्थापन गर्ने गरी अगाडी बढाउनुपर्छ ।’ 

मान्छेको जीवन, उत्पादन र संस्कृतिसँग गाँसिने गरी पुनर्निर्माण आवश्यक रहेको उल्लेख गर्नुभयो ।  तर सरकारले अहिलेसम्म कुनै स्रोत जुटाउनतर्फ ध्यान नदिएको पनि बताउनुभयो ।  शर्माले पुनर्निर्माण मापदण्ड तत्काल ल्याउन सरकारलाई आग्रह गर्नुभएको हो ।  ‘सबैभन्दा पहिला सरकारको अनुदान के हो रु हामीलाई भन्दिनुपर्‍यो, ०७२ को भन्दा बढी अनुदान चाहिन्छ, मैले प्रधानमन्त्री समक्ष भनिसकेको छु,’ उहाँले भन्नुभयो, ‘जनतामा ठुलो समस्या छ । घर बनाउने मात्र होइन, सार्वजनिक संरचनाहरूको विकास पनि गर्न आवश्यक छ ।’ 

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  २०:३६
प्रतिक्रिया दिनुहोस्