सोसल मिडिया
पछिल्लो समय राजनीतिमा स्वच्छ छबि, इमानदारिता, निष्ठा, बेदाग भएका व्यक्तिहरु कमै मात्रामा भेटिन्छन् । यी गुण तथा बिशेषता बोकेका राजनीतिक व्यक्तित्वहरुको सूचि तयार गर्दा अग्रभागमा आउने एक नाम हो, कृष्ण बहादुर रोकाय । गर्वलायक व्यक्तित्व, अनुशरणयोग्य बिशेषता र प्रेरक राजनीतिक धरातलले हालसम्म उहाँ सर्वप्रिय हुनुहुन्छ ।
राजनीतिमा निष्ठाको खोजी, निश्पक्षताको जरुरत, विवादरहित व्यक्तित्व तथा इमानको वकालतकर्ताको अभाव भईरहेको बेला उत्प्रेरणा र उर्जा दिने व्यक्तित्वभित्र अटाउनुहुन्छ रोकाय । विपक्षि दलका नेता कार्यकर्ता समेतको मन जित्नसक्ने खुबि बोकेका नेताको रुपमा चिनिनुहुने रोकाय बिहिबार कर्णालीबाट राष्ट्रिय सभाको सदस्यमा अत्याधिक मत ल्याएर विजयी हुनुभएको छ ।
नेपाली काँग्रेसका नेता रोकाय सत्ता साझेदार दलहरुको गठबन्धनको तर्फबाट उमेदवार बन्नुभएको थियो । रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१ खलंगा निवासी रोकायको राष्ट्रिय सभामा प्रवेशले रुकुम पश्चिमसँगै कर्णालीका सबै दलका कार्यकर्ताहरुमा खुशियाली छाएको छ ।
सर्वप्रिय रोकायको यो जीतमा चौतर्फि खुशिको कारण भनेको उहाँको हालसम्मको लगाव, स्वच्छ छबि र कसैलाई पनि नबिझाउने बानी हो । ५५ बर्षे रोकाय असल राजनीतिको दरो खम्बा, धैर्यवान, संघर्षशिल नेताको रुपमा चिनिनुहुन्छ ।
२०२५ साल कार्तिक २५ गते रुकुम पश्चिमको मुसिकोट खलङगामा जन्मिनुभएका कृष्ण बहादुर रोकाय बिद्यार्थी संगठनको जिम्मेवारीबाट राजनीतिमा प्रवेश गर्नुभएको हो ।
२०४७ सालमा नेपाल बिद्यार्थी संघ रुकुमको अध्यक्ष बन्नुभएका उहाँ २०४९ मा पनि नेबि संघको अध्यक्ष हुनुभएको थियो । नेबि संघ रुकुमको संस्थापक अध्यक्ष रोकाय त्यसपछि नेपाली काँग्रेसको पार्टी राजनीतिमा प्रवेश गर्नुभएको थियो ।
उहाँ २०५३ सालदेखि २०५७ सम्म नेपाली काँग्रेसको जिल्ला कार्यसमिति सदस्य हुनुभएको थियो भने २०५७ सालमा नेपाली काँग्रेसको जिल्ला पार्टी सचिवको जिम्मेवारी सम्हाल्नु भएको थियो ।
पार्टीको दशौ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बन्नुभएका उहाँ २०६७ सालमा पार्टीको विभागिय सदस्य समेत बन्नुभएको थियो । उहाँले २०७२ सालमा नेपाली काँग्रेसको केन्द्रीय नीति, प्रशिक्षण प्रतिष्ठानको सदस्यको जिम्मेवारी समेत पाउनुभएको थियो ।
२०७८ सालमा नोपली काँग्रेसको कर्णाली प्रदेश महामन्त्रीमा निर्वाचित हुनुभएका रोकाय कर्णालीमा सभ्य, शालिन, स्पष्ट, व्यवहारिक र प्रेरक नेताको रुपमा चिनिनु हुन्छ ।
राजनीतिसँगै रोकाय रुकुम पश्चिमको मुसिकोट खलंगा बहुमुखि क्याम्पसको संचालक समितिको अध्यक्ष समेत भएर कार्य गरिसक्नु भएको छ । यसका साथै विभिन्न सामाजिक संस्था र गतिविधिहरुमा रहेर उहाँले योगदान दिनुभएको छ ।
रुकुममा गोकर्ण गिरी बृद्धाश्रमको सस्थापक सचिव हुनुभएका रोकाय बाल मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा रहेर समेत काम गरिसक्नुभएको छ । उहाँ २०७० र २०७४ सालमा प्रतिनिधी सभा सदस्यको उमेदवार समेत बनिसक्नुभएको छ ।
२०५० साल असोज २६ गते शारदा आचार्य रोकायसँग वैवाहिक जीवन सुरु गर्नुभएका रोकायका एक छोरा र एक छोरी हुनुहुन्छ । राजनीतिसँगै खलंगामा रहेको घरमा उहाँले व्यवसाय समेत संचालन गर्दै आउनुभएको छ ।
रोकायको राष्ट्रिय सभामा प्रवेशसँगै लामो समयपछि रुकुमको नेपाली काँग्रेसले न्याय पाएको काँग्रेसजनहरुको भनाई छ ।