Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कार्यसम्पादन मूल्याङ्कनमा चौरजहारी नगरपालिका उत्कृष्ट

स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङन, स्थानीय तह वित्तिय सुशासन जोखिम मूल्याङन र स्थानीय आर्थिक विकास मूल्याङनमा कुन पालिकाले कति अंक ल्याए ?
शुक्रबार, माघ १२, २०८०
tribeni2

रुकुम पश्चिमको चौरजहारी नगरपालिका कार्यसम्पादन मूल्याङनमा उत्कृष्ट भएको छ । जिल्लाका ६ वटा स्थानीय तह मध्य चौरजहारी नगरपालिका उत्कृष्ट भएको हो । स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङन र स्थानीय तह वित्तिय सुशासन जोखिम मूल्याङनमा चौरजहारी नगरपालिकाले सबैभन्दा बढी नम्बर प्राप्त गरेको छ । 

आर्थिक वर्ष ०७९/८० को कार्यसम्पादनका आधारमा चौरजहारी नगरपालिकाले सबैभन्दा राम्रो नम्वर प्राप्त गरेको जिल्ला समन्वय समिति रुकुम पश्चिमका निमित्त जिल्ला समन्वय अधिकारी जितबहादुर ओलीले जानकारी दिनुभयो । 

स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङनमा चौरजहारी नगरपालिकाले जिल्लाका अन्य स्थानीयतहहरु भन्दा बढी अर्थात ९३.५ प्रतिशत अंक प्राप्त गरेको छ । निमित्त जिल्ला समन्वय अधिकारी ओलीका अनुसार आठबीसकोट नगरपालिकाले स्वमूल्याङनमा ९२ अंक प्राप्त गरेको छ भने त्रिवेणी गाउँपालिकाले ८७ अंक प्राप्त गरेको छ । त्यसैगरी सानीभेरी गाउँपालिकाले ८१, मुसिकोट नगरपालिकाले ७३.७५ र बाँफिकोट गाउँपालिकाले ६८.५ अंक प्राप्त गरेका छन् । 

निमित्त जिल्ला समन्वय अधिकारी ओलीले स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङन लागि विभिन्न नौ वटा बिषयमा रहेर मूल्याङन हुने गरेको बताउनुभयो । यसमा शासकिय प्रवन्ध, संगठन तथा प्रशासन, बजेट तथा योजना व्यवस्थापन, बित्तिय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायीक कार्य सम्पादन, भौतिक पूर्वाधार, वातावरण तथा विपल् व्यवस्थापन र सहकार्य र समन्वयको बिषयवस्तुमा आधारित भएर मूल्याङन हुने गर्दछ । 

एक सय पूर्णाङकमा ४० भन्दा कम ल्याउनेलाई असफल मानिन्छ भने ४० देखि ८० अंक ल्याउनेलाई मध्यम र ८० भन्दा बढी ल्याउनेलाई उत्कृष्ट मानिन्छ । 

त्यसैगरी  स्थानीय तह वित्तिय सुशासन जोखिम मूल्याङनमा पनि चौरजहारी नगरपालिका अन्य पालिकाभन्दा उत्कृष्ट भएको छ । यसमा चौरजहारी नगरपालिकाले ९२, त्रिवेणी गाउँपालिकाले ९०.५ र आठबीसकोट नगरपालिकाले ८१ अंक प्राप्त गरेका छन् । त्यसैगरी मुसिकोट नगरपालिकाले ७२, सानीभेरी गाउँपालिकाले ७१.५ र बाँफिकोट गाउँपालिकाले ५८.५ अंक ल्याएका छन् । 

स्थानीय तह वित्तिय सुशासन जोखिम मूल्याङन विभिन्न पाँच वटा बिषयमा रहेर गरिन्छ । योजना, वजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, अनुगमन, लेखाङ्कन तथा प्रतिवेदन, मूल्यांकन तथा लेखा परिक्षण र राजश्यक व्यवस्थापन शिर्षकमा अंक प्राप्त हुने व्यवस्था रहेको छ । 

यस वर्षदेखि सुरुवात भएको स्थानीय आर्थिक विकास मूल्याङनमा भने त्रिवेणी गाउँपालिकाले सबैभन्दा बढी अंक ल्याएको छ । यसमा त्रिवेणी गाउँपालिकाले ६९, मुसिकोट नगरपालिकाले ५६, आठविसकोट नगरपालिकाले ५४.५, चौरजहारी नगरपालिकाले ३७.५ र सानीभेरी गाउँपालिकाले २४.५ अंक प्राप्त गरेका छन् । बाँफिकोट गाउँपालिकाले हालसम्म आवश्यक कागजात सिस्टममा उपलब्ध नगराएको निमित्त जिल्ला समन्वय अधिकारी ओलीको भनाई छ । 

यस मूल्याङनमा स्थानीय आर्थिक नीति तथा योजना, आर्थिक विकास पूर्वाधार, आर्थिक सशक्तिकरण र उद्यमशिलता विकास तथा औद्योगिक प्रवर्धनका बिषयवस्तुमा अंक प्रदान गरिन्छ । 

चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शेर प्रसाद ढकालले कर्मचारी, जनप्रतिनिधि, राजनीतिक दल, समुदाय समेतको सक्रियताको कारण अघिल्लो वर्षभन्दा राम्रो अंक ल्याउन सफल भएको बताउनुभयो । 

स्थानीय तहको कार्यप्रक्रिया र उपलब्धिहरुको बारेमा लेखाजोखा गरि सबल र दुर्बल पक्षहरुको पहिचान गर्न, विकास तथा सुशासनमा रहेका कमी कमजोरी र सुधार गर्नुपर्ने पक्षहरुको बारेमा जानकारी दिने उद्धेश्यले यो यी मूल्याङकन गर्ने व्यवस्था रहेको छ । 

सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता मूल्याङकन कार्यविधि, २०७७ र स्थानीय तह वित्तिय सुशासन जोखिम मूल्याङकन कार्यविधि, २०७७ जारी गरेपछि स्थानीय तहले सम्पादन गरेका कार्यहरुको तोकिएको सूचक र प्रमाणका आधारमा मूल्याङकन हुने गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  ११:५३
प्रतिक्रिया दिनुहोस्