रुकुम पुर्वमा नयाँ पाठ्यक्रम कार्यान्वयनका लागि शिक्षकहरुलाई सहजिकरण

शुक्रबार, माघ १२, २०८०

रुकुम पुर्वमा कक्षा ५, ८ र १० को नयाँ पाठ्क्रम कार्यान्वयनको लागि २ दिने शिक्षक सहजिकरण कार्यशाला सुरु गरिएको छ ।

शिक्षा विकास तथा समन्वय  इकाई रुकुम पूर्वको आयोजनामा शुक्रबार सिस्ने गाउँपालिका वडा नम्बर ५ मा रहेको रुक्मिणी माविको सभाहलमा कार्यशालाको उद्धघाटन गरिएको हो ।

परिमार्जित भएको कक्षा ५, ८ र १० को नयाँ पाठ्यक्रम कार्यान्वयन सहजताका लागि शिक्षकहरुको सहभागितामा उक्त कार्यशाला सञ्चालन गरिएको शिक्षा विकास तथा समन्वय इकाइ रुकुम पूर्वका प्रमुख तिलक गौतमले बताउनुभयो । उहाँका अनुसार शिक्षक सहजिकरण कार्यक्रममा  जिल्लाका तीन वटै गाउँपालिकामा रहेका बिद्यालयहरुमा ३ वटै तहका अङ्ग्रेजी, गणित र विज्ञान विषय अध्यापनरत ९५ जना शिक्षकहरु सहभागी हुनुहुन्छ ।

जिल्लामा शिक्षण सिकाइका सन्दर्भमा देखिएका बिभिन्न समस्याहरु पहिचान गरी समाधानका लागि छलफल गर्ने उद्देश्यका साथ वार्षिक कार्यक्रमको रुपमा यस कार्यक्रमको आयोजना गरिएको हो । हरेक वर्ष परिमार्जित हुने नयाँ पाठ्यक्रमले शिक्षण सिकाइमा पार्ने प्रभाबलाई यस्ता कार्यक्रमहरुले महत्वपुर्ण भुमिका निर्वाह गर्ने कार्यक्रममा सहभागी वक्ताहरुको भनाइ रहेको थियो । 

कार्यक्रममा विषय बिज्ञ शिक्षकहरुले बिभिन्न विषयमा सहजिकरण गर्नुहुने बताइएको छ । कार्यक्रमको पहिलो दिन आज शिक्षा बिकास तथा समन्वय इकाई रुकुम पुर्वका प्रमुख तिलक गौतमले पाठ्यक्रम तथा सिकाईमा पाठ्यक्रमको महत्व लगाएतका बारेमा सहजिकरण गर्नुभएको थियो । 

अन्य बिषयबिज्ञ प्रशिक्षकहरुले विषयगत शिक्षकहरुलाई शिक्षण सिकाईलाई कसरी प्रभाबकारी बनाउन सकिन्छ भन्ने बारे प्रशिक्षण दिनुभएको बताईएको छ । प्रशिक्षकका रुपमा शिक्षा बिकास तथा समन्वय इकाई रुकुम पुर्वका प्रमुख तिलक गौतम, अङ्ग्रेजी विषयका लागि हेमा बुढाथोकी, गणित विषयका लागि हरि बहादुर थापा र विज्ञान विषयका लागि एकराज डाँगी हुनुहुन्छ । तालिम तथा सहजीकरण कार्यक्रम भोलिसम्म चल्ने बताईएको छ ।

शिक्षा विकास तथा समन्वय इकार्इ प्रमुख गौतमको अध्यक्षता रहेको उद्धाटन कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख मेघबहादुर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो भने सिस्ने गाँउपालिका अध्यक्ष कृष्ण रेग्मीको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सिस्ने गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मङलसिह बुढा, रुक्मिणी मा बि विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओम प्रकाश थापा, प्रधानाध्यापक चन्द्र बहादुर मल्ल लगाएत विभिन्न विद्यालयका शिक्षकहरुको उपस्थिती रहेको थियो ।  कार्यक्रमको संचालन शिक्षा विकास तथा समन्वय इकाईका प्राबिधिक सहायक अनिल कुमार थारुले गर्नु भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १७:१३
प्रतिक्रिया दिनुहोस्