सोसल मिडिया
१४ वर्ष भएछ, गाउँ छोडेर सदरमुकाम बस्न थालेको । दसैं–तिहार र अरू काम विशेषमा फुत्त पुगेर फर्किहाल्दैमा गाउँ कसरी बुझिन्थ्यो ! केहीअघि मैले एक महिना जन्म गाउँ रुकुपूर्व पोखरामा बिताएँ । सधैं तुफानजसरी पुगेर बेगजसरी फर्किने मलाई लामो समय गाउँमा देख्दा धेरैले जिब्रो टोके ।
म भने यो बसाइमा आफू हुर्के–बढेको पाखा–पखेरा, पढेको स्कुल र मेलापात गरेका वनपाखामा डुल्दै, स्मृतिरमणमा हराउँदै भावुक भइरहेँ ।
स्कुल पढ्दाका केही पुराना किताब–कापी झ्यालको कुनामा थुप्रिएका थिए । राजेश हमाल र करिश्मा मानन्धरको स्क्रिन रोमान्स अनि निखिल उप्रेती र विराज भट्टको एक्सनवाला तस्बिर कोठाको भित्तामा उस्तै अवस्थामा भेटेँ । मैले आठ कक्षा पास गरेपछि आमाले मकै बेचेर किनेको पलङ (खाट) उस्तै देखेँ । यो कोठामा बसेर कण्ठ गरेका गणितका सूत्र, अंग्रेजीका माने र विज्ञानका रसायनका नाम एकपछि अर्को गर्दै सम्झिएँ । बालापनका केही सामग्री कोठामा र यादको भारी मनभरि छन् । यसबाहेक अरू धेरै फेरिएका छन् ।
गाउँ पुगेपछि सबैभन्दा अभाव हुने भनेको आफ्नो उमेरका दोस्ती–दौंतरीहरूको रहेछ । केही बालबालिका र बा–हजुरबा उमेरका मान्छे नै गाउँ बस्दाका साथी बने । मेराभन्दा असंख्य यादको भारी बोकेर गह्रौं मन बनाएर बसेका बा–आमा र हजुरबा–हजुरआमा देख्दा लाग्छ, आसुँबिना सुक्खा भएको मन बाध्यताले पत्थर भइसक्यो ।
म गाउँमै बसिरहेका बेला आमाको अमेरिका जाने ६ महिने भिसा लाग्यो । जीवनमै मुस्किलले २ पटक काठमाडौं पुगेकी आमा ठूलो जहाज चढेर सात समुद्रपारि भिजिट भिसामा जाने कुरा वास्तवमै सपनाजस्तै थियो । छोरी ज्वाइँ भेट्न आमा अमेरिका जाने खबर सुनेर ८० वर्षे हजुरबाको मुहारमा खुसी देखिएन ।
युवाकालमा जीवनसंगिनी गुमाएका हजुरबासँग ५८ वर्षको छँदा छोरा (मेरा बाबा) गुमाउनुपर्दाको चोट छ । त्यसैले हजुरबा हामी सन्तान कता–कता हुँदा आमाकै सहारामा अडिनुभएको छ । त्यसैले छोटै समयका लागि भए पनि बुहारी घरमा नहुने कुराले उहाँलाई पीर थप्यो ।
आमाको भिसा लागेको दिन भकारोमा बाँधिएको दुहुनो भैंसी, एक हल गोरु र बाख्रा अनि आफ्नो खुन–पसिना सिञ्चित भएर लहलह भएको बर्खे बाली हेरेर भित्रभित्रै भक्कानिनुभयो हजुरबा ।
हाम्रो गाउँमा हजुरबा उमेरका धेरै छन् । ती सबैसँग एक्लोपनाको शून्य कथा छ । अर्का एकजना हजुरबाका छन् । तिनका ५ भाइ छोरा, दुई छोरी थिए । चाडबाडमा छोरा, छोरी र नातिनातिना भेला हुँदा त्यो घरमा उत्सव जस्तो माहोल हुन्थ्यो । छोरी जति बिहेघर, छोरा जति तल्लो बाटो अमेरिका छिरेपछि यो घर रित्तो भएको छ । यसपाला उहाँको खुम्चिएको अनुहारमा टाक्सिएको निराशा देखेर मलाई अँगालो हालेर रुन मन लाग्यो ।
झिसमिसेमा म पुग्दा धूवाँले भरिएको कोठाभित्रबाट रेडियोको आवाज र खोकीको आवाज सँगसँगै आइरहेको थियो । हजुरबा सकिनसकी चुल्हो बाल्दै हुनुहुन्थ्यो । हजुरआमा छेवैमा आफैंलाई सम्हाल्दै हुनुहुन्थ्यो । त्यति ठूलो घरमा दुई जनालाई मात्रै देख्दा साह्रै नमज्जा लाग्यो । हजुरआमाले ‘ला च्या खा’ भनेर दिनुभयो । हजुरबाले नसोधीकनै एउटा प्रसंग सुनाउनुभयो ।
आँखाको उपचार गर्न सदरमुकाम गएको र त्यो बेला समातेर उपचार स्थलसम्म लैजाने मान्छे नहुँदा छेवैका एक जनासँग ‘लौ न’ भनेर सहयोग मागेको अनि बामे सर्दै घर फर्केको प्रसंगले मलाई भाउन्न भयो । डाक्टरले आँखामा आँसुको मात्रा कम भएको भन्दै कृत्रिम आँसु दिएर पठाएका रहेछन् । यो सबै सुनाएपछि हजुरबाले भन्नुभयो, ‘सन्तानको पीरमा बगेर सबै आँसु सकिएछ । अनि काँबाट होस् आँखामा आँसु ।’
बाटोमै हराएकाहरूको कथा सुनिन्छ । अमेरिकाका विभिन्न जेलमा बसेर मुद्दा लडिरहेकाहरूको कथा सुनिन्छ । डिपोर्ट भएर, पुर्पुरोमा हात राखेर बसेकाहरूको व्यथा सुनिन्छ । सानैदेखि घाँस–दाउराको भारी बोकेकाहरूलाई अहिले ऋणको भारी बोक्नुपरेको छ ।
पहिले–पहिले हाम्रो गाउँका मान्छे कालापहाड जान्थे । यसरी जानेहरू खेती लगाएर गएका हुन्थे । त्यसैले बाली भित्र्याउने बेला जसरी पनि घर फिर्थे । नुनका ढिका, तेलका पोका र नयाँ लुगा लिएर घर फर्किनेहरू आशा बोकेर जान्थे, प्रेम लिएर फर्किन्थे । अब त मान्छेहरू निराशा लिएर अमेरिकाजस्ता धेरै परका देश जान्छन् अनि लामो समय उतै हराउँछन् ।
मानव तस्करको जालोमा परेर अवैध बाटो हुँदै अमेरिका छिर्नेहरूको कथा मेरो गाउँमा सबैको साझा कथा जस्तै हुन थालिसक्यो । गाउँमा अमेरिका छिर्दाछिर्दै बीचबाटै फर्किएको कथा सुनिन्छ । जाँदा र फर्किंदा लागेको ऋणको कथा सुनिन्छ ।
बाटोमै हराएकाहरूको कथा सुनिन्छ । अमेरिकाका विभिन्न जेलमा बसेर मुद्दा लडिरहेकाहरूको कथा सुनिन्छ । डिपोर्ट भएर, पुर्पुरोमा हात राखेर बसेकाहरूको व्यथा सुनिन्छ । सानैदेखि घाँस–दाउराको भारी बोकेकाहरूलाई अहिले ऋणको भारी बोक्नुपरेको छ । एक काकाले भन्नुभयो, ‘घाँस–दाउराको भारी बोक्दा दुनियाँले देख्थे, पसिना ओभाएपछि शीतल भैजान्थ्यो । खाना रुच्थ्यो, निन्द्रा लाग्थ्यो । तर, ऋणको भारी त देखिँदैन । भोग–नीद सबै हरायो ।’
घर–आँगनदेखि गाउँ भरिलो बनाउने छोराछोरी अमेरिका र अन्य देश पुगेपछि बेला कु–बेलामा भिडियो–कल गर्छन् । केही सुखका कुरा गर्छन्, केही दुःखका ! लामो कुराकानी पछि उता छोराछोरी पिलपिल, यता आमाबा पिलपल ! एक जनाले सुनाए, ‘मेरो छोराले त एक दिन आमा गहुँ रोप्ने बेला भो ? भनेर पो सोध्यो । अनि मैले हाँस्दै जवाफ दिएँ– ओ लाटा, काँ गहुँ हुन्छ । मकै रोप्ने बेला पो हो त यो ।’ केही सम्झेझैं गरेर उनले थपिन्, ‘यताको रात उताको दिन भएपछि छोरो हिउँद र बर्खामै झुक्कियो ।’
मेरो गाउँ रहेको सिस्ने गाउँपालिका–३ ले हिजोआज अवैध रूपमा अमेरिका जाने गाउँको परिचय पाएको छ । पहिले यो गाउँको परिचय कालापहाड तन्नेरी पठाउने गाउँका रूपमा थियो । यहाँका हरघरको सम्पर्क मानव तस्करहरूसँग छ भन्दा पनि फरक पर्दैन । फरक यत्ति हो, केही पुगिसके, कोही बाटोमै छन, कोही जाने तयारीमा गाउँ छोडेर हिँडिसके ।
गाउँमा विदेश जान नसकेका एकाध तन्नेरी मात्रै छन् । तन्नेरी हुन हुर्किरहेकाहरू पनि विदेशकै सपना देखेर हुर्किरहेका छन् । विद्यालयमा पढिरहेका बाबुनानीहरू पनि पढाइका लागि गम्ने भन्दा अमेरिकाको निस्सार यात्राको कल्पनामा रमाउँछन् । नागरिकता नै नबनाएका नाबालकलाई समेत ‘अमेरिका पुगेपछि सोझै काममा लाग्न पाइन्छ’ भन्दै यो अन्ध–यात्रामा धकेलेका थुप्रै उदाहरण छन् ।
आधा करोड खर्चेर पढाइ सकेका डाक्टर–इन्जिनियरहरू पनि सबै सपना लत्याएर आधा पृथ्वी कटेर डलर कमाउने आसमा निस्किएका छन् । जब बचेखुचेका हजुरबा अनि हजुरआमाहरू पनि गाउँमा नरहलान्, तब यो गाउँ कस्तो होला ? यहाँका गोरेटोहरू, एकाध चौताराहरूले मात्रै गाउँको याद जीवित राख्न सक्लान् कि नसक्लान् ? - कान्तिपुरबाट