रुकुम पश्चिमको बाँफिकोटमा प्रहरी माथि कुटपिट, दुई प्रहरी गम्भिर घाईते

सोमबार, माघ १५, २०८०

रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोटमा दुई जना प्रहरी जवान घाईते भएका छन् । ईलाका प्रहरी कार्यालय बाँफिकोटमा कार्यरत प्रहरी जवानद्वय महेन्द्र बहादुर शाही र हिमराज खड्का घाईते हुनुभएको हो । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार स्थानीय ड्युटिमा रहेको बेला युवाहरुको कुटपिटबाट उहाँहरु घाईते हुनुभएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले आईतबार बेलुका बाँफिकोट गाउँपालिका ३ स्यार्पुमा प्रहरी माथी कुटपिट भएको बताउनुभयो । 

प्राप्त जानकारी अनुसार बाँफिकोट गाउँपालिका ५ का ३४ वर्षिय हिरालाल केसीसँग बाँफिकोट गाउँपालिका ३ का २७ वर्षिय गोबिन्द बिक लगायतको सामान्य विवाद भएको र पछि ति युवाहरुले केसीलाई पछ्याउँदै स्यार्पु गएको सूचनापश्चात प्रहरी घटनास्थल पुगेको थियो । घटनास्थलमा पुगेर सम्झाई बुझाई गर्न खोज्दा उल्टै प्रहरी माथि आक्रमण भएको प्रहरीको भनाई छ । 

उनीहरुले प्रहरी माथि हातपात गर्दै ढुङगा समेत प्रहार गरेर घाईते बनाएको उल्लेख गर्नुभयो । आक्रमणमा परि घाईते भएका प्रहरी जवान शाहीको ढाडमा र खड्काको टाउकोमा चोट लागेको छ । 

उपचारका लागि शनिबार राती जिल्ला अस्पताल सल्ले ल्याईएका उहँँहरुलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा लगिएको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो । प्रहरी माथि हातपात तथा कुटपिट गर्ने व्यक्तिहरु फरार रहेको र उनीहरुको खोज तलास भईरहेको प्रहरीको भनाई छ । 
 

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  ०८:०७
प्रतिक्रिया दिनुहोस्