सोसल मिडिया
चिसो छिप्पिरहेको छ । त्रिपालमाथि त्रिपाल लगाउँदा पनि शीत चुहिन कम भएको छैन । टिनका छाना पनि चिसिएर तपतप पानीका थोपा झारिरहेका छन् । यो कठ्याङग्रिदो जाडोमा भूकम्पले दया गरेर बचेका बालबच्चा, बृद्धबृद्धा, सुत्केरी र दीर्घ रोगीहरुको अवस्था थप जोखिम बनिरहेको छ ।
चिसो रात कटेपछि सुनिएका आँखा देखाउँदै बिहानीपख झुल्कने घामको खोजीमा डाँडामा निस्कन्छन् । यहाँ बालबच्चा काखमा च्यापेर घाम खोज्दै हिडेका सुत्केरी आमाहरु र रातभर त्रिपालमा चिसिएका बालबालिकाहरु दिनभर अस्थायी सिकाई केन्द्रको नाममा बनाईएका कोठामा उकुसमुकुश भएर दिन धकेल्छन् ।
भूकम्प प्रभावित क्षेत्रको यो विकराल अवस्थाले तीन महिना पार गरिसकेको छ । यस बिचमा यहाँ तहसनसह भएका संरचना र विक्षिप्त भएका मनहरुको रंग उड्न नदिन हामी दिनरात खटिएका छौ ।
* * * * * * * * * * * * * *
गत कार्तिक १७ गते रातीको विनासकारी भुकम्पले जाजरकोटसँगै रुकुम पश्चिमका विभिन्न ठाउँमा धनजनको क्षती गरेको दर्दनाक खबरपछि हामी प्रभावित क्षेत्रमा पीडितको घाउमा मलम लगाउन आईपुगेका थियौ । युनिसेफ र सोसेक नेपालको साझेदारिमा सञ्चालित ‘भुकम्प प्रभावित बालबालिकाका लागि बालमैत्री स्नेही केन्द्र’को माध्यामबाट मनोविमर्श सेवा प्रदान गर्न म आठविसकोटमा आईपुगे । कात्तिक २१ गते हाम्रो टोली आठविसकोट र सानोभेरि नगरपालिकामा परिचालन भैसकेको थियो ।
सग्ला घर थिएनन्, अग्ला मन थिएनन् । घरहरु ध्वस्त थिए, अधिकांस चिराचिरा परेका थिए । घरसँगै मनहरु चकिर्एका थिए । मान्छेहरुमा विचलन आएको थियो । परिवार गुमाएको पीडा, घरवास उडेको चिन्ताले यहाँका सर्वसाधारणहरुको मुहारको रंग बदलिएको थियो । बस्ने बास र खाने गास गुमाएपछि निहिक बनेका सर्वसाधारणहरुसँग भेट्दा छुट्ने हिक्कहिक्कले भूकम्पबाट अझै असुरक्षित भएको प्रष्ट हुन्थ्यो ।
म आठविसकोट नगरपालिकाको वडा नम्बर १४ मा खटिए । यो क्षेत्रमा २६ जनाको भूकम्पमा परेर मृत्यु भएको थियो । सुरुमा ज्यामिरकोटको टाकुरामा पुगेर एक बालमैत्री कक्षा सञ्चालन गरे । घरघरमा गएर बालबालिकाहरु बोलाए । बच्चासँगै बाआमा पनि आउन अनुरोध गरे । साथी गुमाएका बिद्यार्थी, छिमेकी गुमाएका अभिभावकहरुको आँखाको आँशु, अझै भूकम्प आउँछ भन्ने भूकम्पको त्रासले माहौल नै अन्धकारमय हुन्थ्यो ।
परिवारका सदस्य गुमाएकाहरु पनि बह पोख्न आउनुहुन्थ्यो । तमाम् पीडा सुनेर उहाँहरुलाई सम्झाउनु र सम्हाल्नु म मनोविमर्शकर्ताको जिम्मेवारी हो भनेर मैले हरसम्भव कोशिस गरे । बहकिएका मनहरु जसोतसो बुझाएर फर्किन सक्ने वातावरण बनाउन सके ।
विस्तारै बस्तिमा पुग्न थाले । सबैको बास त्रिपालमुनिको छ । त्यहाँ दीर्घरोगी, सुत्केरी, नवजात शिशुको सबैको अवस्था घरमा बस्न मिल्ने थिएन । मरेकाहरुको पीडा, बाँचेकाहरुको उपचार, कसैको राहतको पर्खाई । यो बेला महान मानवता जरुरत थियो । सबै क्षेत्रबाट सराकारात्मक पहल भयो ।
अघिल्लो दिन त्रिपालमै पुगेर परामर्श दिएर फर्केका केहि दीर्घ रोगीहरु भोलिपल्ट संसारमा नरहेको खबर सुने । अघिल्लो दिन भेट्दा आफूलाई चाहिने सामानहरु टिपाएका पीडितहरु चिसोले ज्यूँदो नरहेको खबरले मस्तिष्क रन्थनिन्थ्यो । घरमा खानेकुरा नहुँदा लालाबालाको बिचल्ली भएका कति वेदना सुने । पीडितका तमाम् समस्याहरु समाधान गर्न हरसम्भव कोशिस गरे । सम्बन्धित निकायसम्म समस्या सुनाएर समाधान गरे ।
सोसेक नेपालको तर्फबाट पीडितका घाउमा मलम लगाउनमा हामीले हरसम्भव कोशिस गर्यौ । अहिले बालबालिकाहरु हिजोभन्दा भिन्नै देखिन्छन् । हिजो डर थियो, भोक थियो, विपत थियो । आज पनि छ, तर पनि सामान्य हो झै लाग्न थालेको पाईन्छ । मन डराउन कम हुदैछ, बाँच्ने आशा बढ्दैछ । जोस आउँदैछ, जाँगर चल्दै छ । भोलीको बारे सोचिदैछ ।
म आठविसकोट र सानीभेरिका विभिन्न ठाउँमा अभिमुखिकरण गर्न, मनोपरामर्श दिन र सहयोग गर्न हिडिरहेको छु । जुन समयमा जे आवश्यक छ, जे सकिन्छ, यसका लागि खटिएकी छु । कसैका गुनासा माथीसम्म पुर्याउने, धेरैका समस्या सुन्ने र सुनाउने, भारि मन विसाउने एक चौतारी बन्ने प्रयास निरन्तर रहेको छ ।
यो अवधिमा केहि घतलाग्ने कुराहरु अनूभुत गरिरहेकी छु । अझैसम्म त्रिपालमा बस्नुपरेको यथार्थता खोल्दै निहिक नागरिकहरु भन्नुहुन्छ, ‘पावर र पहुँच हुनेले पटक पटक राहत पाए, न्यानो कपडा पाए, हाम्रो त सुनिदिने कोई छैन ।’
आफन्त गुमाएकाहरुलाई घण्टौसम्म परामर्श दिदा पनि अन्त्यमा बिरह गर्नुहन्छ, ‘अहिले उहाँ बाँचिदिएको भए ... ।’
बिद्यालयका भाईबहिनीहरु भन्नुहुन्छ, ‘हाम्रो त पढाइको रफ्तार बिग्रियो । स्कुल कहिले बन्ला ?’ यी सवालहरुसँगै उहाँहरुको मनमा सकारात्मक उर्जा दिन म भूकम्प प्रभावित क्षेत्रमै हिडिरहेकी छु ।
(भण्डारी, सोसेक नेपालको मनाेविमर्शकर्ताको रुपमा रुकुम पश्चिममा कार्यरत हुनुहुन्छ ।)