सोसल मिडिया
दाङको घोराहीमा रहेको एक होटलमा आमा छोरा मृत अवस्थामा फेला परेका छन् । उनीहरुको हत्या अभियोगमा प्रहरी जवान पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले २२ वर्षीया श्रीमती टीका विक र अढाई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेको अभियोगमा पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लले जानकारी दिनुभयो ।
नेपालगञ्जबाट श्रीमती आएको भनेर गएराति कार्यालयबाट बिदा मागेर गएका नेपाली घोराहीको शहीद गेटमा रहेको एक होटलमा बास बसेका थिए । आज बिहान आपसी विवादपछि श्रीमती र छोराको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी मल्लले जानकारी दिनुभयो ।
श्रीमती र छोराको हत्यापछि उनी आफैँ प्रहरी कार्यालयमा उपस्थित भएका थिए । रोल्पाको रुन्टीगढी गाउँपालिका–९, घर भएका नेपाली लामो समय नेपालगञ्ज प्रहरी तालिम केन्द्रमा कार्यरत थिए । उनी दुई महिनाअघि मात्रै सरुवा भएर दाङ आएका थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।