Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सानीभेरीको १४ औ गाउँ सभाबाट चार विधेयक पारित

आइतबार, माघ २१, २०८०
tribeni2

विभिन्न चार वटा विधेयक पारित गर्दै रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको १४ औँ गाउँ सभा सम्पन्न भएको छ । 

आईतबार सहिद सहिद स्मृति भवन सिम्लीमा भएको गाउँसभाले चार वटा विधेयक पारित गर्नुका साथै अन्य प्रस्तावहरू पारित गरेको छ । गाउँ सभाले विभिन्न समयमा भएका निर्णयहरू पनि पास गर्दै बजेट रकमान्तर समेत गरेको छ । 

गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टका अनुसार गाउँ सभामा विधायन समितिका संयोजक कुलबहादुर बुढाले प्रस्तुत गर्नुभएको अपाङ्गता भएका व्यक्तिहरूको अधिकार संरक्षण, प्रवर्द्धन र कार्यान्वयन सम्बन्धी विधेयक २०८० र दलित समुदायको अधिकार संरक्षण, प्रवर्द्धन र कार्यान्वयन सम्बन्धी विधेयक, २०८० पारित गरिएको छ ।

त्यसैगरी वन तथा वातावरण समितिका संयोजक पहलसिं घर्तीमगरले प्रस्तुत गर्नुभएको सानीभेरी गाउँपालिकाको वन विधेयक २०८० र सामाजिक विकास समितिका संयोजक शेर बहादुर खड्काले प्रस्तुत गर्नुभएको शिक्षा ऐन पहिलो संशोधन विधेयक, २०८० सर्वसम्मत पारित गरिएको छ । 

यसका साथै गाउँपालिका उपाध्यक्ष कमला रोकाले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष ०८०/८१ को बजेट तथा कार्यक्रम संशोधन सम्बन्धी प्रस्ताव, लेखा समितिका संयोजक टेक बहादुर पुनले प्रस्तुत गर्नुभएको साउन १ देखि पुस ३० गतेसम्मको गाउँपालिकाको आयव्यय सार्वजनिक तथा प्रगति समीक्षा सम्बन्धी प्रस्ताव र आर्थिक वर्ष ०७९/८० को आर्थिक कारोबारको अन्तिम लेखा परीक्षणको प्रारम्भिक लेखा परीक्षण प्रतिवेदन र चालु आवको लागि संघ र प्रदेशबाट थप बजेट सहितको कार्यक्रमहरू पनि पास गरिएको छ । 

सभाबाट स्थानीय तह संस्थागत क्षमता स्व मूल्याङ्कन र स्थानीय तह वित्तीय जोखिम सुशासन स्व मूल्याङ्कन तथा स्थानीय आर्थिक विकासको नतिजा र गाउँपालिकाले सृजना गरेका करार शिक्षक तथा कर्मचारीहरूको दरबन्दी अनुमोदन, गाउँपालिका विषयगत समिति र अन्य विभिन्न समितिहरूले २०७९ साउन १ देखि हालसम्म विभिन्न मितिमा बसेको बैठकले पारित गरेका विभिन्न कार्यक्रम रकमान्तर निर्णय, विविध नियम, कार्यविधि, निर्देशिका र मापदण्ड अनुमोदन पनि भएको छ । 

यसका साथै गाउँ सभाले वित्तीय अनुशासन जोखिम मूल्याङ्कन कार्यविधि, २०७७ बमोजिम गाउँपालिकाको सार्वजनिक सम्पत्तिहरूको अद्यावधिक सहितको अभिलेख र आ.व. ०८०/८१ मा स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिका निर्णयहरू समेत अनुमोदन गरेको छ ।

गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टको अध्यक्षतामा भएको गाउँ सभामा जिल्ला समन्वय समिति रुकुम पश्चिमका उप प्रमुख देवबहादुर बिकको प्रमुख र गाउँपालिकाका पूर्व अध्यक्ष नरबहादुर पुनको विशेष आतिथ्यता रहेको थियो । सभामा गाउँपालिका उपाध्यक्ष कमला रोका, पूर्व उपाध्यक्ष इन्दिरा ओली, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, गाउँ सभाका सदस्य, पत्रकारहरु लगायत सरोकारवालाको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १९:१६
प्रतिक्रिया दिनुहोस्