सोसल मिडिया
रुकुम पश्चिम / कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले गरिवलाई धनि र धनिलाइ समुन्नत बनाउने सपना रहेको बताउनुभएको छ ।
उहाँले अझ रुकुमका जनतालाई कसरी कसरी स्वरोजगार बनाउने र कसरी समृद्ध समाज बनाउने भनेर प्रदेश सरकार बिभिन्न योजना बनाएर कार्यान्वयन तर्फ लागेको उल्लेख गर्नुभयो ।
आईतबार रुकुम पश्चिमको बाँफिकोटमा स्थानीय प्रगतिशील युवा क्लबले वार्षिकोत्सबको अवसरमा आयोजना गरेको प्रगतिशिल खेलकुद तथा साँस्कृतिक कार्यक्रममा बोल्नुहुदै मन्त्री शर्माले यस्तो बताउनुभएको हो ।
उहाँले माओवादी नेतृत्वमा रहेको वर्तमान कर्णाली प्रदेश सरकारले विकासका पुर्वाधारहरु निर्माणका काममा कस्सिएको र यहाँ सडक, बिजुली, सिचाई, कुलोको क्रमश विकास भएको बताउनुभयो । मन्त्री शर्माले युवाहरुले आफ्नो कार्यभार सम्हाल्न अनुरोध गर्नुहुँदै युवाहरुको साथमा कर्णाली प्रदेश सरकार रहेको जनाउनुभयो ।
मन्तव्यका क्रममा मन्त्री शर्माले रुकुम सदरमुकाम खलंगा देखि आठबिसकोटको राडी सम्मको बाटो कालोपत्रे यहि वर्ष हुने र बाँफिकोटको खेल पनि निर्माण हुने आश्वासन दिनुभयो ।
क्लबका अध्यक्ष देवराज खनालले अध्यक्षतामा भएको कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य तथा माओवादी केन्द्रका कर्णाली प्रदेश सदस्य रातो कामीको बिशेष आथित्यता रहेको थियो ।