सानीभेरी गाउँपालिका -५ का वडा अध्यक्षको मृत्यु

सोमबार, माघ २२, २०८०

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष अल बहादुर खनालको मृत्यु भएको छ ।

४१ बर्षका वडा अध्यक्ष खनालको सोमबार बिहान काठमाडौको मेडिसिटी अस्पतालमा निधन भएको हो । नेपाली काङ्ग्रेसका वडा सभापति समेत रहनु भएका खनालको उपचारकै क्रममा मृत्यु भएको नेपाल तरुण दलका केन्द्रिय सदस्य हरि खनालले जानकारी दिनुभयो ।

लामो समयदेखि कलेजो, मृगौला र फोक्सोको  समस्याले ग्रसित मृतक खनालको अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । आइतबार थप उपचारको लागी एयर एम्बुलेन्स मार्फत भारतको दिल्लीस्थित एपोलो अस्पताल लिने तयारी गरिएतापनी खराब मौसमको कारण लिन नसकिएको बताइन्छ ।

मृतकका दुई छोरा र एक श्रीमती हुनुहुन्छ । उहाँको शवलाई गृह जिल्लामै ल्याएर अन्तेष्टी गरिने जनाईएको छ । 

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  ११:४३
प्रतिक्रिया दिनुहोस्