सोसल मिडिया
जनयुद्ध दिवसको अवसरमा रूकुम पश्चिमको सानीभेरी गाउँपालिकामा आयोजना गरिएको राष्ट्रिय मौराखारा गुरिल्ला म्याराथन सकिएको छ ।म्याराथनको पुरूषतर्फको उपाधि सोलुखुम्बुका अर्जुन राई र महिलातर्फको उपाधि जुम्लाकी राज्यलक्ष्मी रावलले जित्नुभएको छ ।
पुरुष म्याराथनतर्फ सानीभेरी गाउँपालिका –३ बेल्टापुबाट मौराखारा लेक, रिम्ना चाईनाबगर, सिम्ली, छिबाङ हुँदै बेल्टापुसम्मको कुल ४८ किलोमिटर लामो दूरी तय गरिएको थियो । पुरुष तर्फको म्याराथन ४ घण्टा ४० मिनेटमा पार गर्दै सोलुखुम्बुका अर्जुन राईले प्रथम स्थान हाँसिल गर्नुभएको छ ।
त्यसैगरी ४ घण्टा ५३ मिनेटमा तोकिएको दुरी पार गर्दै रूकुमपूर्वका शक्तिराम रोका दोस्रो, ५ घण्टा १ मिनेटमा पार गर्दै रूकुमपश्चिमका भुवन ओली तेस्रो र ५ घण्टा १५ मिनेटमा पार गर्दै रूकुमपश्चिमका दुर्गाराज बुढा चौथो हुनभएको छ ।
महिलातर्फको म्याराथन बेल्टापुबाट सुरू भई मेघा, बलिबाङ, रिम्ना, चाईनाबगर, सिम्ली, छिबाङ हुँदै बेल्टापुसम्मको कुल ३६ किलोमिर लामो दूरी तय गरिएको थियो । उक्त दुरी ३ घण्टा ११ मिनेटमा पार गर्दै जुम्लाकी राज्यलक्ष्मी रावल प्रथम, ३ घण्टा १७ मिनेटमा पार गर्दै रूकुमपश्चिमकी सुशीला पुन दोस्रो, ३ घण्टा २७ मिनेटमा पार गर्दै खोटाङकी निर्मला राई तेस्रो र ३ घण्टा ४० मा पार गर्दै रूकुमपश्चिमकी कविता बस्नेत चौथो हुनुभएको छ ।
पुरूषतर्फका विजेतामध्ये प्रथमलाई एक लाख, दोस्रोलाई ७५ हजार, तेस्रोलाई ४५ हजार तथा चौथोलाई १५ हजार नगदका साथै सबैलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ । त्यसैगरी दशौं स्थानसम्मका विजेतालाई तीन हजार नगद प्रदान गरिएको सानीभेरीका गाउँपालिकाका प्रवक्ता पहलसिं घर्तीले जानकारी दिनुभयो ।
प्रवक्ता घर्तीका अनुसार महिलातर्फका विजेतामध्ये प्रथमलाई ६० हजार, दोस्रोलाई ४० हजार, तेस्रोलाई २० हजार तथा चौथोलाई १० हजार रुपियाँ नगद उपलब्ध गराईएको छ । सबैलाई मेडल तथा प्रमाणपत्रका साथै दशौं स्थानसम्मका विजेतालाई नगद तीन हजार रुपियाँ प्रदान गरिएको छ ।
तत्कालिन माओवादीले सशस्त्र विद्रोह सुरु भएको दिन फागुन १ गतेलाई हरेक वर्ष जनयुद्ध दिवसको रुपमा बनाउँदै आएको र यस पटकको म्याराथन म्याराथनको छैठौं संस्करण भएको गाउँपालिका अध्यक्ष बिर्ख बहादुर बिष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार पर्यटन र खेलको विकासका साथै गणतन्त्रको आधारका रुपमा सुरु भएको जनयुद्धको स्मरणमा हरेक वर्ष म्याराथन हुँदै आएको छ । गाउँपालिकाले राष्ट्रिय खेलकुद परिषदको सहयोगमा उक्त कार्यक्रम गरेको जनाएको छ ।