प्रभु बैंकका अप्रेशन ईन्चार्ज शाह बिरुद्ध बैङ्किङ कसुर मुद्धा दर्ता

बुधबार, फागुन २, २०८०

रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा रहेको प्रभु बैंकका एक कर्मचारीले एक करोड बढी रकम अपचलन गरेको आरोपमा मुद्धा दर्ता भएकाे छ । बैंकको अप्रेशन ईन्चार्ज पदमा कार्यरत निरज बिक्रम शाहले एक करोड ३१ लाख २५ हजार रुपियाँ अपचलन गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा मुद्धा दर्ता भएको हाे। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नमराज भट्टराईले शाह बिरुद्ध प्रभु बैंकको कर्णाली प्रदेश कार्यालयले बैङ्किङ कसुर शिर्षकमा मुद्धा दिएको बताउनुभयो । उहाँका अनुसार अपरेशन ईन्चार्ज शाहले बैंकका खातावालाहरुको रकम अनाधिकृत रुपमा निकाल्ने, जम्मा गर्ने, अरुलाई ट्रान्सफर गर्ने गरेको आरोप लागेको छ ।

शाहले पदको दुरुपयोग गरेर करोडौ रुपियाँ हिनामिना गरेको गुनासोपछि बैंकले आन्तरिक छानबिन समेत सुरु गरेको थियो । झुठ्ठा विवरण र खातावालाको जानकारी बिनै बैंकमा जम्मा गरेको रकम अपचलन गरेको पाईएपछि उक्त रहस्य खुलेको हो ।

बैंकको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख शरदराज तिमिल्सिनाको नेतृत्वमा आएको टोलीले यस घटनाको प्रारम्भिक छानबिन गरेर आरोपी कर्मचारी बिरुद्ध मुद्धा दर्ता गरेको हो ।  

प्रारम्भिक छानबिनको क्रममा इन्चार्ज शाहले एक करोड ३१ लाख २५ हजार रुपियाँ अपचलन गरेको देखिएको बताईएको छ । प्रहरी नायब उपरिक्षक भट्राईले अब तत्कालै आवश्यक छानबिन सुरु गरिने बताउनुभयो । बैंकको आन्तरिक सिस्टम लगायतको गहिरो अध्ययन गर्नुपर्ने भएकोले अनुसन्धानपछि नै थप कुरा खुल्ने उहाँको भनाई छ । 

रकम अपचलन गरेको आरोप लागेका कर्मचारी शाह भने फरार रहेको बताईएको छ । अहिले उक्त शाखामा कार्यरत कर्मचारीहरुलाई जिम्मेवारविहिन बनाएर नयाँ कर्मचारीको टोलीले शाखाको दैनिक काम गरिरहेको छ । 

ग्राहकप्रति घात भएको गुनासो

विश्वासको आधारमा बैंकमा रकम जम्मा गरेका सेवाग्राहीहरुले भने बैंककै कर्मचारीबाट ठुलो घात भएको बताएका छन् । आठविसकोट नगरपालिका –१२ का डण्डे कुसारीले बैंकमै गएर दिएको १७ लाख रुपियाँ शाहले गायब पारेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आईपिएस मार्फत पठाउने भनि १७ लाख दिए, उहाँले फाराम भरेर बैंकको छाप र हस्ताक्षर गरेर कागज पनि दिनुभयो । तर अहिलेसम्म हाम्रो खातामा पैसा गएको छैन ।’

आठविसकोट नगरपालिका –११ की मनकला पुनले चेक सकिएपछि निकाल्न गएको बेला ईन्चार्ज शाहले म ल्याईदिउला भनेर चेक छोडेको तर उहाँले जानकारी नदिई आफ्नो चेकबाट रकम निकाल्ने गरेको बताउनुभयो । उहाँले छ लाख रुपियाँ शाहले निकालेर हिनामिना पारिएको सुनाउनुभयो । विश्वासको आधारमा चेक दिएका र खातामा पैसा जम्मा गर्न भनि पैसा दिएका नजिकका आफन्तहरु पनि अहिले बैंकको कर्मचारीबाट ठगिएको भन्दै गुनासो गर्ने गरेका छन् ।

खातामा जम्मा गर्न आएकाहरुको ठुलो रकम अहिले बैंकको सिस्टमले काम नगरेको, भिडभाड भएको लगायतका बहाना बनाउँदै पछि गर्दिन्छु भनेर फर्काउने तर आफूले प्रयोग गर्ने गरेको समेत बताईएको छ । यी बाहेक दर्जनौ बचतकर्ता र सरकारी निकायको रकम दुरुपयोग भएको हुनसक्ने बताईन्छ । 

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  ०८:५७
प्रतिक्रिया दिनुहोस्