Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आठविसकोटमा सडक कालोपत्रे गरिरहेको निर्माण व्यवसायीद्वारा काम छोड्ने चेतावनी

८० प्रतिशत काम सकिदा पनि भुक्तानी पाईएन, कामदारले काम छोड्न थाले
बुधबार, फागुन २, २०८०
tribeni2

रुकुम पश्चिमको आठविसकोट नगरपालिकाको केन्द्र राडि बजारमा सडक कालोपत्रेको काम गरिरहेको निर्माण कम्पनीले सरकारबाट भुक्तानी नपाएको भन्दै काम छोड्ने चेतावनी दिएको छ । 

आठबिसकोट नगरपालिका –९ को बजार क्षेत्र, क्याम्पस रोड र पसाने सडक कालोपत्रे गर्ने जिम्मेवारी पाएको गोर्खा मंगलदिप जेभीले ८० प्रतिशत काम सम्पन्न गर्दा पनि भुक्तानी नपाएकोले काम छोड्ने जनाएको हो । पाँच महिनादेखि भुक्तानी नपाउँदा समस्यामा परेको र अबको १५ दिनभित्र सम्पन्न काम अनुसारको रकम भुक्तानी नभए निर्माणस्थलबाट फर्कने उक्त कम्पनीले जनाएको छ ।

कम्पनीका निर्देशक राज शाहीले सम्पन्न भएको कामको समयमै भुक्तानी नपाउँदा ठुलो समस्यामा झेलिरहेको बताउनुभयो । उहाँका अनुसार भुक्तानी नपाएका कारण पाँच महिनादेखि कार्यरत कर्मचारी र मजदुरलाई पारिश्रमिकसमेत दिन सकिएको छैन । मंगलदीपले उक्त साइडमा १५ जना कर्मचारी र ५० जना कामदार रहेको जनाएको छ ।

सरकारले पाँच महिनादेखि भुक्तानी नदिएपछि कार्यरत कर्मचारी, कामदारलाई पारिश्रमिक नदिँदा उनीहरू काम छोड्न बाध्य भएका छन् । संघीय सडक आयोजना कार्यालयसँग गत वैशाख महिनामा भएको सम्झौता अनुसार आगामी भदौ १४ सम्म काम सक्ने अवधि रहेको छ ।

सडक कालोपत्रे गर्नका लागि भ्याटसहित २० करोड ७९ लाख ४६ हजार रुपियाँमा सम्झौता भएको बताईन्छ । कम्पनीले अहिलेसम्म कामबापत छ करोड रुपियाँ मात्र पाएको छ भने काम करिब अन्तिम चरणमा पुगेको छ ।

कार्यप्रगतिको आधारमा भुक्तानी दिनुपर्नेमा सरकारले भुक्तानीमा झुलाईरहेको निर्माण कम्पनीको भनाई छ । अब काम अगाडि बढ्ने अवस्था नरहेको र १५ दिनभित्र कार्यप्रगतिअनुसार भुक्तानी नभए साइड छोड्ने तयारीमा रहेको कम्पनीका साइट इन्चार्ज सुर्य शाहीले बताउनुभयो । उहाँका अनुसार अब चार किलोमिटर सडक कालोपत्रे गर्न बाँकि रहेको छ ।

aathbiskot sadak nirman1707893353.jpg

आठविसकोट नगरपालिका –९ मा भईरहेको सडक कालोपत्रको काम । 
 

उक्त कामको सबै तयारी पुरा भइसकेको छ । काम अनुसारको रकम भुक्तानी नहुँदा घरभाडा र खाना खाएको समेत पैसा तिर्न नसक्ने अवस्था रहेको ईन्चार्ज शाहीले जनाउनुभयो । कार्य प्रगतिका आधारमा करिब पाँच करोड रुपियाँ बराबरको बिल नियामक निकायसँग पेस गरेको उहाँले बताउनुभयो । 

यस बिषयमा संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेतका प्रमुख रामकृष्ण आचार्यले निर्माण व्यवसायीबाट प्राप्त बिल भरपाई अनुसार संघमा रकम माग गरेको बताउनुभयो । आचार्यले ८० प्रतिशत भौतिक प्रगती भईसकेकोले अब चाँडै नै झुत्तानी हुने जनाउनुभयो । चार किलोमिटर दुरीको सडक कालोपत्रे गर्नुपर्ने उक्त सडकखण्डमा नाली र ढल, ग्राबेल र ढलानको काम सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो ।

आठविसकोट क्षेत्रको मुख्य सडक कालोपत्रेसँगै बसपार्क पनि निर्माण पनि भईरहेको छ । बसपार्कको करिब ९० प्रतिशत काम सम्पन्न भएपनि उक्त कामको समेत भुक्तानी नहुँदा निर्माण कम्पनीलाई थप समस्या पैदा भएको बताईन्छ । 

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १२:३१
प्रतिक्रिया दिनुहोस्