भूकम्पले बस्ती भासिएपछि जङगलमै बास

बिहीबार, फागुन ३, २०८०

रुकुम पश्चिम । गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पको कारण रुकुम पश्चिमको आठविसकोट नगरपालिका –११ का दुई बस्ती भासिएका छन् । २५ घरधुरी रहेको मङग्रागाउँ र सात घरधुरी रहेको सिमपाखा बस्ती भासिएपछि अस्थायी आवास निर्माणको काम समेत प्रभावित बनेको छ । 

अहिले मङग्रागाउँ टोलवासीले पाखामै जस्तापाताले बेरेर अस्थायी आवास बनाउन थालेका छन् भने सिमपाखाका भूकम्प प्रभावितहरु अझैसम्म घर फर्केर बस्न सकेका छैनन् । उनीहरु नजिकैको जङगलको बिचमा रातदिन काटिरहेका छन् । 

सिमपाखाका बलबहादुर कामीले सात घरपरिवार अहिलेसम्म स्थानीय घोडेपाईला सामुदायिक वनमा टहरा बनाएर बसिरहेको बताउनुभयो । भूकम्पमा परेर घाईते समेत हुनुभएका उहाँले सिमपाखाको भूभाग भासिएको र बस्न डर लाग्ने अवस्था भएकोले घरमा नगएको जनाउनुभयो ।

अन्यत्र कतैपनि जग्गा नभएकोले सरकारले दिएको अनुदान रकमले जङगलकै बिचमा टहरा बनाएर बस्न बाध्य भएको उहाँले उल्लेख गर्नुभयो । कामीले वन समितिले वन क्षेत्रमा बस्न नमिल्ने बताएपछि आफूहरुलाई अहिले बासको पीरलो भएको बताउनुभयो । 

सोहि टोलका हरिबहादुर थापाले सात घरका २५ जना अहिले जङगलको बिचमा बसिरहेको र चिसोले ज्यान थप जोखिममा परेको बताउनुभयो । उहाँका अनुसार तीन जना सुत्केरी र नावालकहरु समेत रहेका छन् । भूकम्पको रातपछि नियमित छ दिनसम्म खुला आकाशमै बस्नु बसेको र वनको बिचमा सामुदायिक स्वास्थ्य भवन बनाउनलाई खनिएको जग्गामा आएर बसेको उहाँले सुनाउनुभयो । अस्थायी आवास सोहि जङगलमै बनाउनु परेको र घर बनाउनलाई जग्गा नभएको उहाँको भनाई छ । 

मङग्रागाउँ टोलका करिब २५ घरपरिवार अहिले भासिएकै भिरोलो पाखोमा बस्न बाध्य छन् । वडा नम्वर ११ का वडा सदस्य समेत रहनुभएका स्थानीय जगबिर बटालाले जसोतसो टिनका टहरा बनाएतापनि घर बनाउन लायक जमिन नभएको बताउनुभयो । उहाँका अनुसार दुवै टोलको माथिल्लो भागबाट खनिएको सिमपाखा–गोईरी–रातामाटा सडक, टोलको छेउबाटै बनाईएको गिजागार–चौर सिचार्ई नहर र गाउँदेखि तल्लो भागमा रहेको राडिहुँदै रिम्ना जाने सडकको कारण बस्ती नै जोखिममा रहेका थिए ।

अहिले भूकम्पपछि उक्त क्षेत्रको जमिन कम्मरभन्दा बढी भासिएकोले थप जोखिम बढेको उहाँको भनाई छ । वडा कार्यालयको तथ्याङक अनुसार भूकम्पमा परेर वडाका छ जनाको मृत्यु भएको थियो भने घरबास क्षति पुगेका एक हजार ५१४ परिवार हालसम्म लाभग्राही कायम भएका छन् । 

यस विषयमा आठविसकोट नगरपालिका प्रमुख रबि केसीले यो बिषय चुनौतीका रुपमा आएको बताउनुभयो । अहिलेलाई खाली ठाउँमा रहेका सार्वजनिक जमिन उपयोग गर्न सहजिकरण गरिएको र पुनर्निर्माणको बेला सकेसम्म एकिकृत बस्ती हुने गरेर घर बनाउने सोच बनाएको उहाँले उल्लेख गर्नुभयो ।

गाउँघर छरिएर भन्दा पनि एकिकृत रुपमा बनाउन कोशिस रहने र जग्गा नभएकाहरुको हकमा ठोस योजना बनाउन आवश्यक रहेको नगर प्रमुख केसीले जनाउनुभयो । केसीले नगरपालिकाका वडा नम्वर ११, १२ र १३ मा समेत केहि घर तथा बस्तीहरु जोखिममा रहेको जानकारी दिनुभयो ।

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  ०६:३१
प्रतिक्रिया दिनुहोस्