नेभिगेशन
कला/संस्कृती/धर्म

रुकुम महोत्सवमा आउने ४५ जना कलाकारहरुको नाम सार्वजनिक

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१ खलङ्गाको बराहटाकुरामा हुने महोत्सवमा आउने कलाकारको नाम सार्वजनिक गरिएको छ ।

रुकुम उद्योग वाणिज्य सङ्घको आयोजना र कला संस्कृति, पर्यटन प्रवर्द्धन मञ्चको सह आयोजनामा यही फागुन १८ गतेदेखि २८ गतेसम्म सञ्चालन हुन लागेको  ‘रुकुम पश्चिम कृषि, व्यापार तथा सांस्कृतिक महोत्सव २०८०’ मा आउने कलाकारहरूको नाम सार्वजनिक भएकाे हो । 

महोत्सवमा चर्चित नायक तथा मोडल पल शाह सहित ४५ जना राष्ट्रिय तथा स्थानीय कलाकारहरूले प्रस्तुति राख्ने सह आयोजक कला, संस्कृति, पर्यटन प्रवर्द्धन मञ्चका अध्यक्ष डिल्ली परियारले जानकारी दिनुभयो । अध्यक्ष परियारका अनुसार महोत्सवमा पलसँगै चर्चित हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), चर्चित गायकहरू प्रमोद खरेल, प्रकाश सपुत, रामजी खाड, राजु परियार, पशुपति शर्मा, चर्चित गायिका तथा मोडल ज्योति मगर, शान्ति श्री परियार, एलिना चौहान आउनुहुने छ ।

त्यस्तै गायक तथा सर्जक किरणबाबु पुन, तिलक परियार, जय देवकोटा, कृष क्षेत्र, हिमालयन लोक आइडल बलराम विश्वकर्मा, गायिका टीका सानु, सिम्रन परियार, अस्मिता डल्लाकोटी लगायतका कलाकारहरु पनि महोत्सवमा प्रस्तुतिका लागि आउने परियारले बताउनुभयो । 

‘कला, संस्कृति, कृषि, पर्यटन, उद्योग तथा व्यापार–रुकुम पश्चिम समृद्धिको आधार’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना गरिएको छ ।

महोत्सवबाट रुकुम पश्चिम र आसपासमा रहेका कृषि, जडीबुटी, पर्यटन, ऊर्जा, संस्कृति, सांस्कृतिक वस्तुहरूको प्रदर्शन गरी प्रचार प्रसार गर्ने, स्थानीय उत्पादनहरूको पहिचान गरी बजार विस्तारको अभियान सुरु गर्ने, जिल्लाको लगानीको क्षेत्र र लगानीकर्ताहरूको पहिचान गरी रुकुम पश्चिम लगानी सम्मेलन वा सोही प्रकृतिका कार्यक्रमहरू आयोजना गर्ने लक्ष्य राखिएको अध्यक्ष रुकुम उद्योग वाणिज्य सङ्घका अध्यक्ष पलबहादुर खड्काले जानकारी दिनुभयो।   
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्