Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

इपिसेन्टर : 'शव जलाउने दाउराको अभाव थियो, एकै चितामा तीन, चार जनाको शव जलाईए'

'जुन घरमा सुरक्षित भनेर बसेका थियौँ, तिनै घर हाम्रो मृत्युका कारण बने'
आइतबार, फागुन ६, २०८०
tribeni2

सुर्खेत । 'कर्णाली उत्सव ..कुडा कर्णालीका'को पहिलो दिनको पहिलो सत्र (फागुन ५ गते) गते कात्तिक १७ गते राति ११ बजेर ५७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पको विषयमा छलफल भयो। भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भयो।

'इपिसेन्टर' नामको सत्रमा रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका मेयर रबि केसी, जाजरकोटको बारेकोट गाउँपालिकाका वीरबहादुर गिरी, भूकम्पविद् डा. लोकविजय अधिकारी, नेपाल रेडक्रस सोसाइटीकी रुकुम पश्चिमका सभापति रमा गौतमसँग पत्रकार राजु लामिछानेले छलफल गरे।

उनीहरुले छलफलका क्रममा भूकम्पपछिका अनुभूतिहरु सुनाए। विपतको सामना गर्न पर्याप्त मात्रामा साधानस्रोत नभएको कर्णालीले घण्टी बजाएर नआउने विपतको सामना गर्न निकै कठिन छ। तर कर्णाली चुनौतीका पहाड फोडेर अघि बढ्दै आएको छ।

हरेक वर्ष जसो विपद्बाट मान्छे जोगाउन मुस्किल पर्ने कर्णालीको जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट ठूलो नोक्सान भयो। तर त्यसको सामना गर्नुको विकल्प थिएन। त्यसैले स्थानीय तहहरुले स्थानीय स्रोत, साधन, श्रम र सीपको प्रयोग गरी त्यसको सामना गरे।

नागरिकमा कयौँ निराशा थिए। भरोसाहरु टुटेका थिए। त्यस्तोबेला आशा जगाउनु ठूलो कुरा थियो। भूकम्प प्रभावित क्षेत्रका स्थानीय तहका नेतृत्वले देखाएको आशाले भविष्यमा समेत आइपर्ने विपद्को सामना गर्ने विषयमा गहन छलफल भयो। वक्ताहरुले सक्रियता पूर्वक छलफलमा भाग लिए।

नढलेका घरको समेत भौतिक प्राण थिएन : वीर बहादुर गिरी, अध्यक्ष, बारेकोट गाउँपालिका

भूकम्पले हामी सबैलाई ब्युँझायो। मान्छेहरु बाहिर निस्किरहेका थिए। हामी एकलले अर्कोलाई खोजिरहेका थियौँ। म र उपाध्यक्ष सबै वडामा पुग्यौँ। घर भत्किएका थिए। तर मानवीय क्षति भएको थिएन।

मानवीय क्षति नभए पनि नढलेका घरको समेत भौतिक प्राण थिएन। बारेकोटमा मान्छे घरबाट टाढा भागिरहेका थिए। तर अन्य क्षेत्रमा ठूलो मानवीय हताहती भएको थियो। जीवनप्रतिको आशा र भविष्य गुमेका थिए।

हामी पहिला उद्दारमा लाग्यौँ। पछि राहतमा जुट्यौँ। भूकम्पको क्षतिबाट नेपाल प्रताडित हुँदै आएको छ। अब हामीले भूकम्पविद्हरुले गरेको अनुमानको आधारमा सरकारले राष्ट्रिय अठोट लिन जरुरी छ। सुरक्षित नेपाल बनाउनुपर्छ। २०७२ को भूकम्पपछि नेपालले अठोट लिन नसक्दा हामीले नोक्सान बेहोर्‍यौँ।

अग्लो घरभन्दा पनि सुरक्षित घर बनाउने विषयमा सोच्नु नसक्नु भूल भयो। अब पनि नीतिगत निर्णय लिन नसके हामीले नागरिकलाई सुरक्षित गर्न सक्दैनौँ। नागरिकलाई स्वइच्छाचारी ढंगबाट घर बनाउन दिनुहुन्न।

428226532_312330021825297_4905771935034627214_n1708279374.jpg

जुन घरमा सुरक्षित भनेर बसेका थियौँ, तिनै घर हाम्रो मृत्युका कारण बने : रबि केसी, प्रमुख, आठबिसकोट नगरपालिका

कात्तिक १७ गते आएको भूकम्पले हाम्रो नगरपालिकालाई क्षतविक्षत गरेको थियो। भूकम्पले हामी थिलथिलो भयौँ। दोस्रो पराकम्पमा हामीले कयौँ चिज गुमाउनुपर्‍यो। म बाहिर निस्कँदा कोलाहल मच्चिएको थियो। ठूलो मानवीय हताहत भएको थियो। सकड अवरुद्ध थिए।

घाइते र शव निकाल्ने काम हामी आफैँले गर्‍यौँ। विकासका पूर्वाधार क्षतविक्षत भएको अवस्था हामी चुनौतीका पहाडका अगाडि उभिएका थियौँ। स्थिति विरक्त लाग्दो थियो। तथापि आशा नजगाई अगाडि बढ्न सकिँदैन।

मृतक र घाइते व्यवस्थापन गरेको दिन मलाई लागेको थियो, आगामी दिनका यस्ता दिनहरु भोग्न नपरोस्। जुन घरमा सुरक्षित भनेर बसेका थियौँ, तिनै घर हाम्रो मृत्युका कारण बने। पुनर्निर्माणका लागि अस्थायी आवास बनायौँ। पुनर्निर्माणको कार्यविधि अहिलेसम्म आइपुगेको छैन। त्यसैले व्यवस्थापन ढिलाइ भइरहेको छ।

हजार गुणा ठूलो भूकम्पको जोखिम छ : डा. लोकविजय अधिकारी

म भूकम्पलगत्तै जाजरकोट पुगेको थिएँ। भोलिपल्ट रामीडाँडा पुगेको थिएँ। खलंगा अस्पतालमा पुग्दा घाइतेहरु नेपालगञ्ज र सुर्खेत पुगिसकेका थिए। घाइते व्यवस्थापन गर्न हाम्रा संयन्त्रहरु चलायमान रहेको बुझेँ।

तर क्षति भएको ठाउँमा राहत नपुगेर नागरिक छटपटाइरहेका थिए। नलगाडमा धेरै क्षति भएको थियो। त्यहाँ राहत पुगेको थिएन। नलगाडको चिउरीमा सबैभन्दा बढी क्षति भएको थियो। मान्छे खुला आकासमुनी बस्नुपर्ने स्थिति थियो। १२ वटा शवलाई बाँस पनि पुगेको थिएन। हरियो बाँसको‍ ठाउँमा सुकेको बाँस प्रयोग गर्नुपरेको थियो। दृश्य साह्रै भावुक बनाउने खालका थिए।

शव जलाउने दाउराको अभाव थियो। एकै चितामा तीन, चारको जना शव राखेर जलाइएको थियो। राहत तत्काल वितरण गर्ने संयन्त्रको विकास हुन सकेको थिएन। हामीले अहिले जुन रेक्टरस्केलको भूकम्प बेहोर्दा त यति गाह्रो थियो भने भविष्यमा योभन्दा हजार गुणा शक्तिशाली भूकम्प आउँदा के होला ? त्यसैले आज‌का दिनबाट सचेत हुन जरुरी छ।

प्राविधिक हिसाबले भन्दा इपिसेन्टर भनेको केन्द्रविन्दु हो। भूकम्पको केन्द्रविन्दु रामीडाँडा थियो। तर त्यहाँ कम क्षति भयो। मानवीय क्षति नबेहोरेको केन्द्रविन्दुमा भौतिक क्षतिसमेत कम थियो।

केन्द्रविन्दुभन्दा टाढा पनि बढी क्षति हुन सक्छ। त्यसैले हामीले कम क्षति हुने उपाय अवलम्बन गर्नुपर्छ। अहिले भूकम्प प्रभावित क्षेत्रमा सम्पूर्ण भवन बनाउँदा जहाँ जे पाइन्छ, त्यसैबाट भौतिक संरचना बनिरहेका छन्।

भेरी नदीका चिल्ला र गोला ढुंगा राखेर घर बनाइयो। ती घरहरु अडिन निकै समस्या थियो। सुरक्षित आवासको चेतना त्यहाँसम्म पुगेको छैन। बनाउँदै गरेका घरहरुसमेत भत्किएका छन्।

अहिलेसम्म पनि घर बनाउनलाई अनुमति लिन नपर्ने स्थिति हुँदा बढी क्षति भयो। भूकम्पको चेतना पुगेकै रहेनछ। कतिलाई भूकम्पबारे थाहा नै थिएन।

घर बनाउनलाई अनुगमन गर्ने व्यवस्था नहुनु नै समस्या हो। अहिले हामी जाजरकोटमा गएकोभन्दा एक हजार गुणा शक्तिशाली भूकम्पको छलफल गरिरहेका छौँ। तर एक हजार गुणा कम शक्तिशाली भूकम्पमा हामीले यति धेरै क्षति बेहोर्‍यौँ भने शक्तिशाली भूकम्पपछिको स्थिति के होला ?

427023328_349663994705680_826315328534836628_n1708279373.jpg

भेरीको पानी बग्ने भेरी नदीमा धुँवा बगिरहको थियो : रमा गौतम

भूकम्प गएको दिनदेखि आजका दिनसम्म हामी राम्ररी बस्न पाएका छैनौँ। तर त्यतिबेला रेडक्रसमा पाँच जनालाई पुग्ने राहत थिएन।

के गर्ने कसो गर्ने भनेर रेडक्रसका स्वयंसेवकहरु भूकम्प प्रभावित क्षेत्रतिर पुगेका थियौँ। घाइतेहरुलाई व्यवस्थापन गर्न निकै कठिन थियो। उपशाखा नभएका ठाउँमा स्वयंसेवक खटाउन कठिन थियो।

पछि २५ सय परिवारलाई राहतको काम गरेका थियौँ। तर यतिबेला सामग्री निकै कम थियो। भेरीको पानी बग्ने भेरी नदीमा धुँवा बगिरहको थियो। दृश्यले हृदयविदारक थियो।

हामीले जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय, एकद्धार प्रणाली, स्थानीय सहकारसँगको समन्वय र प्रभावितहरुको आवश्यकताको आधारमा खोज, उद्धार, उपचार र राहत वितरणको काम गरेका छौ ।  

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  २३:४३
प्रतिक्रिया दिनुहोस्