Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

गाराघाट पुल : डिजाईन बदलेपछि काम तिब्र, सात वर्षमा ७० प्रतिशत मात्र प्रगती

'तीन वर्षमै बन्नुपर्ने गाराघाट पुल सात वर्षसम्म बनेन'
बिहीबार, फागुन १०, २०८०
tribeni2

रुकुम पश्चिमको मुसीकोट नगरपालिका –१ र बाँफिकोट गाउँपालिका –१० जोड्ने गाराघाट पुल २०७६ सालको असारमै बनिसक्नुपर्ने सम्झौता हो । सम्झौता भएको सात वर्षसम्म पनि पुल निर्माण सम्पन्न हुन सकिरहेको छैन । 

तर पछिल्लो समय तिब्र गतिमा पुल निर्माणको काम भईरहेको बताईन्छ । सानीभेरी नदि माथीको उक्त पुलको डिजाईन परिवर्तन गरेपछि अहिले काम तिब्र रुपमा भैरहेको सडक डिभिजन कार्यालय चौरजहारीले जानकारी दिएको छ । 

तीन वर्षमै निर्माण सम्पन्न हुने गरि २०७३ असार ३१ गते सम्झौता भएको उक्त पुल सात वर्षसम्म पुरा हुन सकेको छैन । सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख तेजस्वी शर्माका अनुसार सम्झौता गर्दाको बेला पुलको डिजाईन ‘पायल’ फाउण्डेशनमा आधारित थियो । तर यो फाउण्डेशनबाट उक्त स्थानमा पक्कि पुल सम्भव नभएपछि बदलेर ‘ओपन’ फाउण्डेशन डिजाईन गरिएको छ ।

डिजाईन परिवर्तनपछि काम तिब्र भएको र हालसम्म करिब ७० प्रतिशत प्रगती भएको डिभिजन प्रमुख शर्माले जानकारी दिनुभयो । डिभिजन कार्यालयले कार्य प्रगतीको आधारमा निर्माण व्यवसायीलाई हालसम्म चार करोड ६४ लाख रकम भुक्तानी गरिसकेको जनाएको छ ।  

संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय अन्तर्गत सडक डिभिजन चौरजहारी मार्फत आर्थिक वर्ष ०७२/०७३ मा गाराघाट पुल निर्माणको ठेक्का खोलिएको थियो । भ्याट रकम बाहेक आठ करोड ५० लाख ४८ हजार ७७८ रुपियाँमा काम सम्पन्न गर्नेगरी नागार्जुन कन्ट्रक्सन कम्पनीले ठेक्का सम्झौता गरेको थियो ।

अहिले पुलको फाउण्डेशन निर्माण भएर तल्लो भागको दुबै तर्फको काम पुरा भएको छ । माथिल्लो तर्फको एक भाग पुल निर्माण भईसकेको छ भने अर्को भागको काम भैरहेको छ । ठेकेदारले यहि गतिमा काम गरेमा चालु वर्षमै पुल निर्माण भैसक्ने डिभिजन प्रमुख शर्माले बताउनुभयो । आगामी असार मसान्तभित्र काम सक्नेगरी म्याद समेत थप भएको जनाईएको छ । 

निर्माण कम्पनीले विगतमा फाउण्डेशन परिवर्तनमा ढिलाई भएको, कोरोना लगायतका महामारीले सामाग्री ढुवानी र कामदार परिचालनमा समस्या भएकोले समयमै पुन निर्माण हुन नसकेको बताउँदै आएको छ । पुल निर्मांणको काम लामो समयसम्म सम्पन्न नहुँदा यातायात सञ्चालनमा कठिनाई हुने गरेको छ ।

विशेष गरेर वर्षा याममा सर्वसाधारणहरुलाई आउजाउ र दैनिक उपभोग्य सामाग्री ढुवाानीमा समस्या हुने गरेको छ । पक्कि पुल निर्माणस्थल नजिकैको झोलुङगे पुलबाट मोटरसाईकलहरु वारपार गराईदा उक्त पुल जीर्ण बन्दै गरेको स्थानीयको गुनासो रहेको छ । अहिले सानीभेरी नदिमा होमपाईप हालेर यातायातका साधनहरु आउजाउ गर्ने गरेका छन् । बर्षायाममा भने यो बाटो बन्द हुने गर्दछ । 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  ०९:५२
प्रतिक्रिया दिनुहोस्