लिउरेबारीमा पानीको टन्टा, एक गाग्री पानी ल्याउन तीन घण्टा

जलेको मोटर र कन्ट्रोलर मर्मतको लागि आर्थिक समस्या
शुक्रबार, फागुन ११, २०८०

गत कात्तिक १७ गते जाजरकोटको रामिडाँडा केन्द्रु बनाएर गएको भूकम्पले रुकुम पश्चिमको चौरजहारी नगरपालिका -१४ लिउरेबारीमा रहेको खानेपानी आयोजना अबरुद्ध भएको छ ।

हालसम्म पनि उक्त आयोजना मर्मत हुन नसक्दा यहाँका सर्वसाधारणहरुलाई खानेपानीको समस्या भईरहेको छ । घर नजिकै आएको खानेपानी आयोजना अवरुद्ध भएपछि तीन घण्टा लगाएर पानी ल्याउनुपर्ने बाध्यता रहेको छ । 

लिउरेबारीकी कमला केसीले भूकम्पले निम्त्याएको खानेपानीको समस्या समाधान नभएको बताउनुभयो । तीन वर्ष पहिला निर्माण भएको खानेपानी आयोजना अवरुद्ध भएपछि पानीको समस्या झेल्नुपरेको केसीले उल्लेख गर्नुभयो । बर्षौदेखि स्थानीय खानीखोला र पधेरीखोलाबाट पानी बोकेर घर धानेका यहाँका स्थानीयको दैनिकी फेरि पनि एक गाग्री पानी भर्न तीन घण्टा हिड्नुपर्ने बाध्यतामै फर्कनुपरेको छ । 

भूकम्पको कारण बोझाबारीखोला–लिउरेबारी सौर्य खानेपानी योजना अवरुद्ध भएपछि पानीको पीरलोमै दैनिकी बित्ने गरेको स्थानीय दिपा केसीले बताउनुभयो । वडा सदस्यसमेत रहनुभएकी दिपाले पीउने पानी ल्याउन घण्टौसम्म महिलाहरु गाग्री बोकेर खोला धाउनुपर्ने बाध्यता चुलिएको जनाउनुभयो ।

पशुचौपायालाई घाँसपात, घरधन्दा लगायतका अन्य काममा रहेका महिलाहरुलाई घरभन्दा टाढाको खोलाबाट पानी बोक्ने बाध्यता थपिएको छ । खोलासम्म आउजाउ गर्दा तीन घण्टा लाग्नेभएपछि घरको काम, व्यक्तिगत काम, समुह र वडाका विभिन्न कामहरु प्रभावित भएको वडा सदस्य दिपाले उल्लेख गर्नुभयो । 

pani problem1708608638.jpg

कमला र दिपा जस्तै लिउरेबारी गाउँका ११० घरधुरी परिवार अहिले घण्टौ लगाएर खानेपानीको जोहो गरिरहेका छन् । यहाँका अधिकांश महिलाहरुको दैनिकी अहिले पानी बोक्नमै बित्ने गरेको छ । भूकम्पले गर्दा २०७७ सालमा एक करोड २० लाख रुपियाँको लगानीमा निर्माण सम्पन्न भएको बोझाबारीखोला लिउरेबारी सौर्य खानेपानी योजना अहिले अबरुद्ध भएपछि समस्या भएको हो । 

खानेपानी उपभोक्ता समितिका अध्यक्ष बिरबहादुर ओलीले भूकम्पले गर्दा गाउँमा खानेपानीको समस्या बल्झिएको बताउनुभयो । उहाँका अनुसार भूकम्पको कारण योजनाको मोटर र कन्ट्रोलर जलेपछि अझैसम्म खानेपानी सुचारु हुन सकेको छैन । गाउँ नजिकै पानीका मुहान नभएपछि डेढ घण्टा टाढा रहेका खानीखोला र पधेरीखोलाबाट पानी बोक्नुपरेको अध्यक्ष ओलीले जनाउनुभयो ।

उपभोक्ता समितिसँग मर्मतको लागि आर्थिक अभाव रहेको र सरोकारवाला पक्षले वेवास्ता गरिरहेको उहाँको भनाई छ । घरका सदस्यहरु, गाईवस्तु, अस्थायी आवास निर्माण लगायतको लागि पानीको समस्या भएपछि स्थानीयवासीले हैरानी खेप्नुपरेको छ । यो योजना निर्माण गर्दा प्रत्येक घरधुरीबाट २५ हजार नगद र १० दिन बराबरको श्रमदान गरिएको थियो । योजना मर्मतका लागि फेरि पनि रुपियाँ उठाउने अवस्था नरहेको उपभोक्ता समितिको भनाई छ । 

चौरजहारी नगरपालिका वडा नम्वर १४ का वडा अध्यक्ष थलबहादुर कँवरले लिउरेवारीमा खानेपानीको समस्या भएको उल्लेख गर्नुभयो । वडा कार्यालयमा वजेट नहुँदा समयमै समस्या समाधान गर्न नसकेको उहाँको भनाई छ । सरोकारवाला पक्षसँग खानेपानी आयोजना मर्मतका लागि आवश्यक कागजात तयार पारेर पठाईएको उहाँले जानकारी गराउनुभयो । वडाले खानेपानी समस्या समाधानका लागि पहल गरिरहेको वडा अध्यक्ष कँवरको भनाई रहेको छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  ०५:५८
प्रतिक्रिया दिनुहोस्