Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भूकम्प प्रभावित क्षेत्रमा बृहत प्रजनन् स्वास्थ्य शिविर सम्पन्न, सात हजार तीन सयलाई सेवा

आइतबार, फागुन १३, २०८०
tribeni2

गत कार्तिक १७ गते जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिमका विभिन्न क्षेत्रमा नेपाल परिवार नियोजन संघले बृहत प्रजनन् स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शिविरबाट दुवै जिल्लाका सात हजार तीन सय प्रभावितहरुले सेवा लिएका छन् । 

गत मंसिर ११ गतेपछि नेपाल परिवार नियोजन संघले आइ.पि.पि.एफ. को सहयोग र स्वास्थ्य सेवा कार्यालयको समन्वयमा भूकम्प प्रभावित क्षेत्रमा प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । 

विभिन्न ४६ स्थानमा गरिएका शिविरमा ६ हजार ३५५ जना महिला, ९४४ जना पुरुष र एक जना यौनिक अल्पसंख्यकलाई सेवा दिईएको संघका शाखा प्रवन्धक बसन्त खनालले जानकारी दिनुभयो । उहाँका अनुसार जाजरकोटको बारेकोट गाउँपालिका, कुशे गाउँपालिका, नलगाड नगरपालिका र भेरी नगरपालिका र रुकुम पश्चिमको आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा उक्त शिविरहरु सञ्चालन गरिएको थियो । 

वृहत् प्रजनन स्वास्थ्य शिविरबाट रुकुम पश्चिममा मात्र दुई हजार आठ सय ७० जनाले सेवा लिएको परियोजना संयोजक समेत रहनुभएका खनालले बताउनुभयो । आईतबार मुसिकोट खलंगामा भएको साझेदार संस्थाहरूसँग भूकम्प प्रभावितका लागि सञ्चालित कार्यक्रमहरूको प्रगति समीक्षा कार्यक्रममा उक्त जानकारी गराईएको हो । 

उहाँका अनुसार शिविरबाट रुकुम पश्चिमका दुई हजार पाँच सय १० महिला, तीन सय ५९ पुरुष र एक जना यौनिक अल्पसंख्यक नागरिकले सेवा लिएका हुन् । जसअन्तर्गत अपाङ्गता भएका ३७ जना, पाठेघरको मुखको क्यान्सर चेक जाँच एक हजार ६७४, स्त्री रोग सम्बन्धी सेवा दुई हजार २२९, यौनजन्य सङ्क्रमणको उपचार एक हजार २४३, परिवार नियोजनको लामो अवधिको साधन (इम्प्लान्ट) को सेवा १९८, आइयूसिडी प्रयोग गर्ने दुई जना, पाठेघर खसेका ४९, बच्चाहरू २६५, गर्भवती तथा सुत्केरी सम्बन्धी सेवा १६२, गर्भवती मात्र १४७ जनाले शिविरबाट सेवा दिएको शाखा प्रबन्धक खनालले जानकारी  गराउनुभयो ।

f0fca5e7-bdb5-439b-ab26-69f521c3e7ff1708873263.jpg
 
यसका साथै शिविरबाट ४१ जना सुत्केरीलाई मर्यादा सामग्री वितरण, पाठेघरको मुखमा क्यान्सर शङ्कास्पद ९ जना, एचआइभी परीक्षण नौ जना, गर्भवती भिडियो एक्स रे सेवा ९२ जनाले लिएका छन् । यी सेवाका लागि रुकुम पश्चिममा मात्र १७ वटा शिविर सञ्चालन गरिएको थियो ।

शिविरमा पाठेघरको मुखको क्यान्सर जाँच, स्त्री रोग सम्बन्धी सेवा , यौनजन्य सङ्क्रमणको उपचार परिवार नियोजनको लामो अवधिको साधन इम्प्लान्ट सेवा,  आईयूसिडी सेवा,  पाठेघर खसेका महिला, भिडिओ एक्स-रे सेवा दिइएको थियो । शिविरबाट लैङ्गिक हिंसा , गर्भवती महिला , सुत्केरी महिला ,किशोर किशोरीलाई प्रजनन स्वास्थ्य सम्बन्धी सेवा र परामर्श ,यौन रोग तथा एच. आई. भि. एडस सम्बन्धी परामर्श तथा उपचार सेवा, परिवार नियोजन सेवा ,पाठेघर मुखको क्यान्सरको स्कृनिङ सेवा प्रदान गरिएको नेपाल परिवार नियोजन संघका अनुगमन तथा मूल्याङ्कन प्रमुख चेतराज जोशीले जानकारी दिनुभयो ।।

संघले सामुदायिक स्वास्थ्य सचेतना कार्यक्रम समेत सञ्चालन गरेको जनाएको छ । सानीभेरी गाउँपालिका र आठविसकोट  नगरपालिकामा चलाइएका १७०  सामुदायिक स्वास्थ्य सचेतना कार्यक्रमबाट सात हजार ७९७ व्यक्तिले सेवा पाएको अनुगमन तथा मूल्याङ्कन प्रमुख चेतराज जोशीले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समिति रुकुम पश्चिमका उप प्रमुख देवबहादुर विकको अध्यक्षतामा भएको प्रगति समीक्षा कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठ, प्रमुख अनुसन्धान अधिकृत चिरञ्जिवी बुढा मगर लगायत विभिन्न सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरु सहभागिता रहेको थियो ।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  २०:४१
प्रतिक्रिया दिनुहोस्