Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

७० बर्षिय झुपलालका बारीमा फस्टाएको कृषिको सुगन्ध

मंगलबार, फागुन १५, २०८०
tribeni2

हरेक दिन बिहानै बारीमा पुग्नुहुन्छ, मुसिकोट नगरपालिका –१० का ७० वर्षिय किसान झुपलाल खड्का । उमेरले नेटो काटेपनि झुपलालको कृषि मोह र जाँगरमा कमि देखिन्न । 

दिनभर पसिनाका थोपा चुहाउने झुपलालको बारीमा श्रमपछि फल्ने मोतिले आनन्दित बनाईरहेको छ, सुगन्ध बढिरहेको छ । लसुनबाट सुरु भएको उहाँको कृषि कर्मले अहिले उहाँलाई सुन्तला, अचैलीको व्यवसायिक कृषक बनाएको छ । 

कृषिलाई व्यवसायिकरण नगरेसम्म स्वदेशमै रोजगार र पसिनाको मूल्य हुँदैन भन्ने सोचमा रहनुभएका उहाँले गाउँमा सुरुमै लसुन खेती गर्नुभएको थियो । झुपलाललाई अहिले त्यो साल पनि याद छैन, जुनबेला बेला गाउँका अरु कसैले पनि लसुन लगाउनुपर्छ भन्ने सोच राखेका थिएनन् । त्यतिबेला मुसिकोट नगरपालिका – १० को झ्याङ गाउँमा उहाँले लसुन खेति सुरु गर्नुभयो । 

लसुन राम्रो फल्न थाल्यो । बिक्रि पनि भयो । उहाँले लसुन खेतीलाई विस्तार गर्दै लैजानुभयो । पछिल्लो चार वर्षदेखि लसुनले राम्रै बजार पाईरहेको छ । ‘तीन वर्ष पहिला नै मैलै लसुन बेचेर एक सिजनमा तीन लाख कमाएको हुँ,’ झुपलालले भन्नुभयो, ‘ आफ्नै माटोमा मेहेनत गरे फल अवश्य पाईन्छ ।’

अहिले उहाँको बारीमा लसुन मात्रै छैनन् । सुन्तला र अलैंची खेती फस्टाएको छ । झुपलालले यो बर्ष ६० हजार रुपियाँको सुन्तला घरबाटै बिक्रि गरेको उहाँले बताउनुभयो । वडा सरकारले व्यापारीलाई सहजिकरण गरिदिएपछि बारीबाटै सुन्तला बिक्रि भएको उहाँको भनाई छ ।

दिनभर पसिनाका थोपा चुहाउने झुपलालको बारी श्रमपछिका मोतिले रमणिय छन्, आनन्दित बनाईरहेको छ, सुगन्ध बढिरहेको छ ।

तीन वटा पाखोबारीमा सुन्तला खेती गर्नुभएका झुपलालले कुनै सिजनमा सुन्तला उत्पादन राम्रो हुँदा एक लाख रुपियाँ कमाएको सम्झनुभयो । लसुन र सुन्तलाले बजार पाएपछि यो वर्षदेखि उहाँले खेती बिस्तार गर्नुभएको छ । 

कर्म गर्न बुढेसकालले नछेक्ने उहाँले बताउनुहुन्छ । झुपलालका दुई भाई छोरा बैदशिक रोजगारीमा गएको लामो समय भयो । एउटा छोराले जिल्ला सदरमुकाममा व्यवसाय गर्नुभएको छ । आफू ७० वर्षको हुँदा पनि कृषिको माया उत्तिकै लाग्ने उहाँले सुनाउनुभयो । 

झुपलालले सुन्तला लगाएको बारीमा अलैंची पनि रोप्नु भएको छ । बिहानै देखि बारीमा गोडमेल गर्ने, माटोसँग खेल्ने, रमाउने बानी नै भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अर्गानिक फलाउँछु, अरुलाई पनि अर्गानिक खुवाउँछु, बुढेसकाल लागे पनि कृषिमै रमाउन मन छ ।’

उहाँले फलाएको कृषि उपज बारीबाटै बिक्रि हुन्छ । लसुन, सुन्तला र अलैचीको बजारका लागि भौतारिनु परेको छैन । व्यापारीहरु गाउँमै पुग्छन् । वडा कार्यालयले लसुनको बिउ उपलब्ध गराउन थालेपछि झुपलालले व्यावसायिक लसुन खेती गर्न थाल्नुभएको हो । वडा कार्यालय नै बजारको व्यवस्था गर्न सहजिकरण गरिदिएको छ । 

उहाँ वडाभित्र धेरै लसुन बिक्री गर्ने किसानमा सबैभन्दा अगाडि हुनुहुन्छ । चालु आर्थिक वर्षमा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत कृषि विकास कार्यालयले वडामा लसुन ब्लक र पकेट क्षेत्र घोषणा गरी काम गरिरहेको छ । 

लसुन उत्पादन बढाउनका चालु आर्थिक बर्षमा परियोजनाबाट १५ लाख बजेट विनियोजन भएर बिउ वितरण गरिएको वडा अध्यक्ष धनबहादुर खड्काले जानकारी दिनुभयो । वडाका झ्याङ, झान्डारी, जुगेखोर्या, गलमपाटी, खर्सुपानी, चौर र भेरीखोला टोलमा उत्पादन भएका लसुन सदरमुकाम खलङ्गासहित जिल्ला बाहिर पनि पुग्ने गरेको छ । गत वर्ष यहाँका किसानले ३५ लाख बराबरको लसुन बिक्री गरेका थिए । 

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  ०८:०६
प्रतिक्रिया दिनुहोस्