मुसिकोटमा आजदेखि महोत्सव 

शुक्रबार, फागुन १८, २०८०

रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा आजदेखि  ‘रुकुम पश्चिम कृषि, व्यापार तथा सांस्कृतिक महोत्सव’ सुरु हुने भएको छ । 

रुकुम उद्योग वाणिज्य सङ्घको आयोजना र कला, संस्कृति, पर्यटन प्रवर्द्धन मञ्चको सह आयोजनामा खलङ्गाको बराहटाकुरामा आज देखि महोत्सव सुरु हुन लागेको हो । 

महोत्सवको आज दिउँसो कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा मन्त्री उर्मिला विश्वकर्माले उद्घाटन गर्ने आयोजक रुकुम उद्योग वाणिज्य सङ्घले जनाएको छ । दिउँसो १ बजेदेखि उद्घाटन समारोह सञ्चालन हुने सङ्घका अध्यक्ष पलबहादुर खड्काले जानकारी दिनुभयो । उद्घाटन समारोहमा जिल्लास्थित सरोकारवाला सबैलाई आमन्त्रण गरिएको उहाँको भनाई छ । 

यसैबिच महोत्सवको सबै तयारी पुरा भएको बताइएको छ । स्टल तथा मञ्च व्यवस्थापन लगायतका अन्य सबै तयारी पुरा भएको सह आयोजक कला, संस्कृति पर्यटन प्रवर्द्धन मञ्चका अध्यक्ष डिल्ली परियारले बताउनुभयो । महोत्सव उद्घाटन कार्यक्रममा स्थानीय झाँकी तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने उहाँको भनाई छ । महोत्सव खलङ्गाको बराहटाकुरामा हुने छ ।

फागुन २८ गतेसम्म सञ्चालन हुने महोत्सवबाट रुकुम पश्चिम र आसपासमा रहेका कृषि, जडीबुटी, पर्यटन, ऊर्जा, संस्कृति तथा सांस्कृतिक वस्तुहरूको प्रदर्शन गरी प्रचार प्रसार गर्ने, स्थानीय उत्पादनहरूको पहिचान गरी बजार विस्तारको अभियान सुरु गर्ने, जिल्लाको लगानीको क्षेत्र र लगानीकर्ताहरूको पहिचान गरी रुकुम पश्चिम लगानी सम्मेलन वा सोही प्रकृतिका कार्यक्रमहरू आयोजना गर्ने लक्ष राखिएको छ ।

त्यस्तै कृषि क्षेत्रको आधुनिकीकरण र जडीबुटी जन्य, वन पैदावार खेती सम्बन्धी अभिमुखीकरण गोष्ठी, जलवायु परिवर्तन अनुकूलन गोष्ठीहरूको आयोजना गरी व्यवसायीकरण तर्फ लिने, जिल्लाका पर्यटकीय सम्भावना सम्बन्धी सम्मेलन आयोजना गर्ने र महोत्सवको आम्दानीबाट कृषि पर्यटन, उद्योग व्यापारका क्षेत्रमा काम गर्ने कामदार, मजदुर, कर्मचारीको सेवा सुविधा सुनिश्चितता र बेरोजगारहरूको अवस्था अध्ययन गरी रोजगार र स्वरोजगारमा लगाउनका लागि रोजगार बैङ्कको स्थापना गर्ने लक्ष राखिएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  ०९:१४
प्रतिक्रिया दिनुहोस्