रुकुमको मुसिकोटमा कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव उद्घाटन

शुक्रबार, फागुन १८, २०८०

रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलङ्गामा रुकुम कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव २०८० सुरु भएको छ । महोत्सवको कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा मन्त्री उर्मिला विश्वकर्माले उद्घाटन गर्नुभएको छ । कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य कल्याणी खड्काको विशेष आतिथ्यता रहेको छ ।

फागुन २८ गतेसम्म सञ्चालन हुने महोत्सवबाट रुकुम पश्चिम र आसपासमा रहेका कृषि, जडीबुटी, पर्यटन, ऊर्जा, संस्कृति तथा सांस्कृतिक वस्तुहरूको प्रदर्शन गरी प्रचार प्रसार गर्ने, स्थानीय उत्पादनहरूको पहिचान गरी बजार विस्तारको अभियान सुरु गर्ने, जिल्लाको लगानीको क्षेत्र र लगानीकर्ताहरूको पहिचान गरी रुकुम पश्चिम लगानी सम्मेलन वा सोही प्रकृतिका कार्यक्रमहरू आयोजना गर्ने लक्ष राखिएको छ ।

त्यस्तै कृषि क्षेत्रको आधुनिकीकरण र जडीबुटी जन्य, वन पैदावार खेती सम्बन्धी अभिमुखीकरण गोष्ठी, जलवायु परिवर्तन अनुकूलन गोष्ठीहरूको आयोजना गरी व्यवसायीकरण तर्फ लिने, जिल्लाका पर्यटकीय सम्भावना सम्बन्धी सम्मेलन आयोजना गर्ने र महोत्सवको आम्दानीबाट कृषि पर्यटन, उद्योग व्यापारका क्षेत्रमा काम गर्ने कामदार, मजदुर, कर्मचारीको सेवा सुविधा सुनिश्चितता र बेरोजगारहरूको अवस्था अध्ययन गरी रोजगार र स्वरोजगारमा लगाउनका लागि रोजगार बैङ्कको स्थापना गर्ने लक्ष राखिएको छ ।

यसका साथै महोत्सवको आम्दानीबाट सङ्घको संस्थागत विकास सम्बन्धी गतिविधिहरू गर्ने र महोत्सवको आम्दानीबाट अक्षय कोष स्थापना गरी त्यसबाट सेवा गर्ने लक्ष समेत राखिएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष खड्काको भनाई छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १६:५७
प्रतिक्रिया दिनुहोस्