सोसल मिडिया
म घरको जेठो छोरा । मेरा तीन भाई छन् । बुवा भारतमा मजदुरी गर्नुहुन्छ । दिदिबहिनी छैनन् । दिदिबहिनी नभएका हामीलाई चाडबाडले कति रुवाउँछन्, त्यो सम्झदा मन अहिले पनि चस्किन्छ । म यहाँ तपाईहरुलाई मेरो संघर्ष र कहानी शेयर गर्न मात्र चाहन्छु ।
मैले १८ वर्षकै उमेरमा लोकसेवा पास गरेर सरकारी जागिर खाएको हुँ । अहिले २२ वर्षको भए । घर रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्वर ३ मा हो ।
जागिर खानुभन्दा पहिला म बुवाको साथमा कालापहाड जानुपर्ने अवस्था आयो । भारतको हिमाचल प्रदेश, सोलनमा मजदुरी गर्न गए । म पहिलो पटक साना तीन भाई र आमासँगबाट टाढा भएको थिए । त्यो बेला मेरो मनको बेचैनी र एक्लोपन भनि साध्य छैन ।
बालकैमा घर छोड्नु, गह्रौ भारी बोक्नु, बेलैमा खाना नपाउनु, एक्लो लाग्नु र रुनु मेरा बाध्यता भैदिए । कामको चापका कारण मेरो ढाडमा समस्या आयो । जसोतसो भाडा जुटाएर चार महिनामै घर फर्के ।
त्यहाँको काम र जमिनदारको व्यवहारले नेपालमै सानोतिनो जागिर गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । यसैबाट प्रेरित भए, ऋण निकालेर पढ्न लागे ।
प्राविधिक लाईन रोजेर पढे । सुरुमा करारको जागिरमा लागेको थिए । जागिर गर्दै लोकसेवा तयारी गर्नमा जुटे । पहिला गण्डकी प्रदेश लोकसेवाले गरेको बिज्ञापनमा नाम निकाले । फेरि पनि संघीय लोकसेवाले गरेको विज्ञापनमा नाम निकाल्न सफल भए । अहिले म राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरामा पशु प्राविधिक पदमा कार्यरत छु ।
मेरा बुवा अहिले पनि भारतमा मजदुरी गर्नुहुन्छ । मैले जति अनुरोध गर्दा पनि घर आउनै मान्नुहुन्न । छोरालाई लागेको ऋणमा केही भएपनी थपथाप हुन्छ, म घर आउँदिन, सकेको यतै दुःख गर्छु भन्नुहुन्छ । माइलो भाई बिद्यार्थी भिजामा जापान पुगेको छ । पढ्न र पैसा कमाउने भनेको हो, तर भाईको कमाई हुने अवस्था छैन ।
भाई जापान जाँदा लिएको १५ लाख रुपैयाँ ऋणको चर्को ब्याज तिरिरहेका छौ । भाईले उताबाट ब्याज समेत तिर्ने पैसा पठाउन सकेका छैनन् । मैले खाई, नखाई बचाएको तलब र बुवाले मजदुरी गरेर पठाएको पैसाले अलिअली ऋण घटाउँदै गएका छौ । घरमा पढ्दै गरेका दुई साना भाई र आमाको लागि खर्च पनि पठाउनुपर्छ ।
पछिल्लो समय आफुसँगै पढे, खेलेका साथीभाई अमेरिका, अस्ट्रेलिया, जापान, क्यानडा गएको देख्छु । आफूपनि उतै जाम कि भन्ने सोच आउँछ । तर जसोतसो दुई छाक टार्न भएनी जागिर खाएको सम्झेर मन बुझाउँछु । बरु भाईलाई पठाउँला भन्ने सोच आउँछ ।
सोझा र निरक्षर बाआमा, चार भाई मध्य म घरको जेठो सन्तान । दिदीबहिनीको अभाव पल–पलमा खड्किन्छ । सानैदेखि जिम्मेवारीको भारीले थिचिएको छु ।
सानोछँदा कापी कलम किन्ने पैसा हुँदैनथ्यो । घर नजिकैको दोकानको सामान बोक्थे । करिब सात किलोमिटर टाढाको उकालो ओरालो बाटोमा दोकानको सामान बोकेर प्रतिकिलो पाँच रुपियाँ पाउँथे । दुख, संघर्ष, अभाव, आफन्तहरुको हेपाई सबै भोगेको छु । अहिले यो ठाउँमा उभिन पाएकोमा गर्व लाग्छ ।
गाउँका साथीभाईहरु ७०, ८० लाख तिरेर अवैध बाटो अमेरिका गएका छन् । कतिबेला त ऋण कारेर भएनी एजेण्ट समातेर हिन्दिम कि जस्तो लाग्छ ।
टाउकोमा ऋणको भारी र काँधमा जिम्मेवारी बोकेर हिँडेको छु । चिन्ता लाग्छ, तनाव हुन्छ । तर हार खाँदिन । मलाई यहाँसम्म पुर्याउनु हुने मेरा बाआमाले गरेको दुखलाई दिमागमा राखेको छु । सन्तानको लागि राम्रो धरातल निर्माण गर्ने मेरो सपना छ मेरो ।
जिन्दगीमा खुसी कसैले बनाउने कुरा हैन । खुसी त आफू हुने कुरा रैछ । मेरो जीवनको २२ बर्षे यो दौरानमा मैले सिकेको कुरा यहि हो । रुखोसुखो जे छ, गाउँघरमै परिवारको साथमा खान पुगोस् । ऋण त श्रम गरेर तिरिन्छ, दिन नलागोस् ।
परदेशमा कमाएको पैसाले क्षणिक सुख देला, अधिकांशको खुशि खोसिदिएको पाउँछु । लोभ, पाप, स्वार्थ र घमण्ड पलाउन नदिऔ । असल कर्म गरौ ।