Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

हरियो रुखलाई बिद्युतको पाेल बनाएर मुसिकाेटका पाँच घरमा बिद्युत लाईन, स्थानीय त्रसित

बुधबार, फागुन २३, २०८०
tribeni2

रुकुम पश्चिमको जिल्ला सदरमुकाम क्षेत्रमै पर्छ, मुसिकोट नगरपालिका –१ को रावलबारा टोल । यहाँका स्थानीयले हरियो रुखलाई बिद्युतका पोल बनाएर बितरण गरिएको बिद्युत सुविधा उपयोग गरिरहेका छन् । 

हरियो रुखबाट बिद्युतको करेन्ट प्रवाह हुने जान्दाजान्दै बिद्युत कार्यालयले भिमल र बकैना जातको रुखमा बिद्युतको नाङगो तार जोडिदिएको छ ।घाँस र दाउराको प्रयोजनको लागि हुर्काईएको रुखमा बिद्युतको नाङगो तार राखेर करेन्ट प्रवाह भएसँगै यहाँका स्थानीय त्रसित भएका छन् ।  

स्थानीय भानु केसीले रुखमै बेरेर आएको बिद्युतको तारबाट टोलमा बिद्युत लाईन वितरण भएको बताउनुभयो । उहाँले उक्त स्थानका दुई वटा हरियो रुखलाई बिद्युतको पोलको रुपमा प्रयोग गरिएको जानकारी दिनुभयो । हावालाग्दा, रुख हल्लिदा झन् डर लाग्ने गरेको उहाँको भनाई छ । 

सोहि टोलकी मनिषा रावलले बिद्युत लाईन जोडिएका रुखहरुको नजिक जानै डर लाग्ने बताउनुभयो । ‘कहिलेकाँहि बालबच्चाहरु जान्छन् कि भन्ने ठुलो डर रहेको छ,’ रावलले भन्नुभयो, ‘बाध्यताले गर्दा टोलका सबैले रुखबाटै जोडिएको लाईनबाट बिद्युत सेवा लिनु परेको छ ।’

यहाँका पाँच घरमा जडान गरिएको बिद्युत सेवाको लागि दुई रुखलाई बिद्युतको पोल बनाईएको छ । स्थानीयहरुले पटक पटक बिद्युत कार्यालय समक्ष पोलको माग गर्दा सुनुवाई नभएको बताएका छन् । घर छेउमै रहेको रुखमा बिद्युतको नाङगो तार जोडिएपछि निर्धक्कका साथ आउजाउ गर्न समेत नसक्ने अवस्था रहेको बताईन्छ । 

बिद्युत वितरण केन्द्र रुकुम पश्चिमका प्रमुख शिवजी प्रसाद शाहले हरियो रुखमा नाङगो तार जोड्ने काम जोखिमपूर्ण रहेको बताउनुभयो । उहाँले त्यस विषयमा कार्यालयको तर्फबाट आवश्यक पहल गरेर तत्कालै समस्या समाधान गरिने उल्लेख गर्नुभयो ।

कार्यालय प्रमुख साहले रुखमा बिद्युतको नाङगो तार जोड्नु नै जोखिम बढाउने काम भएकोले त्यसो नगर्न समेत अनुरोध गर्नुभयो । 

पछिल्लो समय बिद्युतको करेन्टको कारण मृत्यु हुने, घाईते हुने, घर आगलागी हुने घटना समेत बढिरहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बिद्युत पोलको करेन्टका कारण पछिल्लो वर्ष दुई जनाको मृत्यु समेत भएको तथ्याङक रहेको छ । 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १०:३४
प्रतिक्रिया दिनुहोस्