Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पितिबाङ पुल : 'कुशासन र अनियमितताको नमूना, राजनैतिक र प्रशासनिक कार्यसम्पादनमा लाज'

चैत ७ गते भित्र काम सुचारु गर्न समाजवादी मोर्चाको अल्टिमेटम
सोमबार, फागुन २८, २०८०
tribeni2

राप्ती राजमार्गको रुकुम पश्चिम सडकखण्ड अन्तर्गत पितिबाङ खोलामा अलपत्र अवस्थामा रहेको मोटरेबल पुल निर्माणको काम तत्काल सुरु गर्न अल्टिमेटम दिईएको छ । 

समाजवादी मोर्चा रुकुम पश्चिमले प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तलाई एक ज्ञापनपत्र बुझाउँदै पुल निर्माणको काम पुनः सुचारु गराउने पहलकदमीको लागि अल्टिमेटम दिएको हो ।

आगामी चैत ७ गतेभित्र पुल निर्माणको काम सुरु नभएमा समाजवादी मोर्चामा आवद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी) र नेकपा लगायतका अन्य दलहरुले थप संघर्षका कार्यक्रम सुरु गर्ने निर्णय भएको मोर्चाका संयोजक गोविन्द रोकाले जानकारी दिनुभयो । 

जिल्लाको मुसीकोट नगरपालिका वडा नम्बर ११ र १२ मा पर्ने पितिबाङ खोलामा पुल निर्माणको काम लामो समयदेखि अलपत्र अवस्था रहेको छ । संरक्षण निर्माण सेवा प्रा.लि.ले दुई वर्षभित्र सम्पन्न गर्नेगरी २०७६ असार ८ गते उक्त पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो ।

सम्झौता भएको साढे चार वर्षसम्म पुलको एकातर्फको जग निर्माण बाहेक अन्य प्रगती हुन सकेको छैन । सडक डिभिजन कार्यालयका अनुसार संरक्षण निर्माण सेवाले मूल्य अभिबृद्धि कर बाहेक चार करोड १२ लाख ३९ हजार तीन सय ७५ रुपैयाँमा निर्माणको जिम्मा लिएको छ । 

मोर्चाका संयोजक रोकाले राप्ती राजमार्ग अन्तर्गत झुल्नेटा हुँदै मुसीकोटसम्म सडक संचालन भएको १७ वर्षसम्म पनि पितिबाङ्ग खोलामा पुल नबन्दा यात्रु, यात्रुबाहक सवारी साधन, उद्योगी व्यवसायीका मालबाहक गाडीहरुले चरम सास्ती व्यहोर्नु परेको उल्लेख गर्नुभयो ।

यसका साथै कुशासन र अनियमितताको भद्दा नमूनाको रुपमा पितिबाङ्ग खोलामा पुल निर्माणको कामलाई लिने गरिएको समेत रोकाले बताउनुभयो । यसले गर्दा जिल्लाको राजनैतिक तथा प्रशासनिक कार्यसम्पादन लज्जास्पद अवस्थामा रहने गरेको उहाँले उल्लेख गर्नुभयो । पितिबाङ खोलामा पुल नबन्दा बिशेष गरेर बर्षायाममा समस्या हुने गरेको छ । खोला बढेसँगै सवारी साधनहरुको आउजाउ ठप्प हुने गरेको छ । 

प्रमुख जिल्ला अधिकारी समक्ष बुझाईएको ज्ञापनपत्रमा सडक डिभिजन कार्यालय चौरजहारी, संरक्षण निर्माण सेवा प्रा.लि., जिल्लाबाट प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेशसभामा प्रतिनिधित्व गर्नुहुने जनप्रतिनिधिहरु, जिल्ला प्रहरी कार्यालय, मुसीकोट नगरपालिकालाई समेत पहलकदमीका लागि अनुरोध गरिएको छ ।

333f9d09-41c1-4573-97c8-85f784199bb91710137961.jpeg

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  ११:५८
प्रतिक्रिया दिनुहोस्