ओमनमा बन्धक बनाईएकी रुकुमकी सुस्माको उद्धार

मंगलबार, फागुन २९, २०८०

“नमस्कार, म एकल महिला हुँ । दलालले दुबैमा राम्रो काम छ भनेर प्रलोभनमा पारेर मलाई ओमनमा पठाएछ । हप्ता दिनसम्म खाना पाउँदिन, एक घरमा बन्धक बनाईएको छ । मेसिन जसरी यो घरको काममा जोतिएकी छु । बोल्न पाउँदिन, खाना पाउँदिन, मोबाईल खोसिन्छ । निरन्तर घरेलु हिंसाको सिकार भएकी छु । सायद अब यतै मर्छु, मेरा छोराछोरीको कोहिकसैले लालनपालन गरिदिनु होला । कि भने मेरा उद्धार गरिदिनुस् ।”

यस प्रकारको भिडियो सन्देश सामाजिक सञ्जाल फेसबुकमा पोष्टगरकी रुकुम पश्चिमको चौरजहारी नगरपालिका –१२ सानाखोलाकी ३६ बर्षिया सुस्मा बिकको उद्धार गरिएको छ । बैदेशिक रोजगारीको प्रलोभन देखाएर ओमनमा बन्धक बनाईएकी सुस्मालाई उद्धार गरेर घर पुर्याईएको छ । 

चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादी, उप प्रमुख ईश्वरी शर्मा बिएम, वडा अध्यक्ष टिकाराम ओली लगायतको पहलकदमीको कारण सुस्माको उद्धार भएको हो । अहिले सुस्माको घरमा भेट्न आउने र खुशि साट्ने आफन्तहरुको बाक्लो आउजाउ छ ।  

चौरजहारी नगरपालिकाका उप–प्रमुख ईश्वरी शर्मा बिएमले सुस्मा ओमनको सोहार भन्ने ठाउँमा बन्धकमा परेको खबर लगत्तै गृह मन्त्रालय मार्फत उद्धारको पहल गरेर घरसम्म ल्याउन सफल भएको बताउनुभयो ।

सुस्माले सार्वजनिक गरेको एक भिडियो सन्देशपछि उहाँ बन्धकमा परेको जानकारी पाएको र तत्कालै उद्धारको लागि स्थानीय सरकार लागि परेको उप–प्रमुख शर्माले जानकारी दिनुभयो । ओमनमा घरेलु हिंसाको सिकार भएकी सुस्मा मानव बेचबिखनको जालोमा परेको समेत उहाँले उल्लेख गर्नुभयो । 

गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय हुँदै सुस्मालाई पठाउने म्यानपावर कम्पनीलाई ताकेता गरेपछि ओमनबाट फिर्ता ल्याईएको हो । म्यानपावर कम्पनीले भने अहिले कामदार कम्पनीलाई दोष थुपारेर भाग्न खोजेको बताईन्छ । 

सुस्माको आमा तुली बिकले गत साउन २४ गते घरबाट गएदेखि सम्पर्कमा नआएकी छोरी सबैको पहलकदमीको कारण घर आईपुगेको बताउनुभयो । सुस्मा एकल महिला हुनुहुन्छ । दश बर्ष अघि उहाँका श्रीमान मनजित टमाटाको मृत्यु भएपछि एक छोरी र एक छोराको लालनपानको लागि उहाँले बैदेशिक रोजगारीको बाटो अङगाल्नु भएको थियो ।

“एकल नारीलाई यसै त गाह्रो हुन्छ, झन् बिदेश नजान भनेको छोराछोरीको भविष्य सपार्छु भन्दै घर छोडी”, सुस्माको आमा तुलीले भन्नुभयो, “दुबैमा राम्रो काम पाईयो भनेर गएकी छोरीलाई कुन पापीले ओमनमा बेचेछ ।” सुस्माका १३ वर्षको छोरा र १० वर्षकी छोरी हुनुहुन्छ । छोराछोरीलाई माईतीघरमा छोडेर सुस्मा वैदेशिक रोजगारीको लागि जानुभएको थियो । 

सुस्माले आफूलाई सुर्खेत घर बताउने एक दलालले डालिया इम्प्लोमेन्ट अफ मेनपावर मार्फत दुबै पठाउने भनेर झुक्याएर ओमनमा बन्धक बनाएको बताउनुभयो । सुस्माले भन्नुभयो, ‘एउटा घरभित्रैका १८ कोठाको सरसफाई र १२ जना परिवारको लत्ताकपडा धुने, खाना, खाजा खुवाउने काममा लगाईयो । कुनै बेला हप्ता दिनसम्म पनि खाना दिएनन्, दिएपनि कुहिएको जस्तो बासी खाना दिन्थे ।’

‘कि मर्छु, कि कसैले उद्धार गर’ भनेर आफूले सार्वजनिक गरेको भिडियो पछि परिवार र स्थानीय सरकारले वास्तविकता बुझेर उद्धार गरेको उहाँको भनाई छ । खाना र पानी माग्दा सधै कुटाई खानुपरेको, मोबाईल खोसेर नदिने गरेको समेत सुस्माले सुनाउनुभयो ।

“घर व्यवहार चलाउन बैदेशिक रोजगारीमा गएकी म दलालको फन्दामा परे, ओमनमा निरन्तर विभिन्न घरेलु हिंसाहरु सहनु पर्यो,” उहाँले भन्नुभयो, “न स्वदेशमा भने जस्तो काम छ, न त बिदेशमा सुरक्षित काम गर्ने अवस्था । सुरक्षित बैदेशिक रोजगारी ग्यारेन्टी नगरी कोहि पनि बिदेश नजानुहोला ।” काम गरेको ज्याला समेत नपाएको उहाँको भनाई छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  ०६:०८
प्रतिक्रिया दिनुहोस्