Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारीमा सूचना विभागको घुम्ती शिविर सुरु, तीन जिल्लाका ६५ पत्रकारको सहभागिता

मंगलबार, फागुन २९, २०८०
tribeni2

रुकुम पश्चिमको चौरजहारीमा प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण तथा अनलाईन सञ्चार माध्याम दर्ता र पत्रकारहरुको क्षमता विकासका लागि तालिम सुरु भएको छ । सूचना तथा प्रसारण विभागले घुम्ती शिविरको रुपमा आयोजना कार्यक्रम तीन दिनसम्म चल्ने बताईएको छ । 

कार्यक्रमको उद्घाटन सत्रमा सूचना तथा प्रसारण विभागका महानिर्देशक शंकर नेपालले पत्रकारितामा आकर्षण र विकासका लागि गहन बहस हुनुपर्ने बताउनुभयो । 

विभागले भूकम्प प्रभावित क्षेत्रका सञ्चारमाध्याम र सञ्चारकर्मीहरुको लागि गरेको घुम्ती शिविरमा बोल्नुुहुँदै महानिर्देशक नेपालले श्रमजीवी पत्रकारिता ऐन कार्यान्वय हुन नसकेको उल्लेख गर्नुभयो । उहाँले पत्रकारहरुको सेवा, सुविधा, पेशाप्रतिको आकर्षण, वृत्ति विकासको बारेमा गहन बहस हुनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा उहाँले नेपालमा सञ्चार माध्यामहरु संख्यामा मात्र भन्दा पनि गुणस्तरियतामा फोकस हुनुपर्ने जनाउनुभयो । महानिर्देशक नेपालले पछिल्लो समय सञ्चार माध्यामहरुको बजार र विज्ञापनको क्षेत्र साँघुरिदै गएकोले पनि सञ्चार माध्यामहरु समस्यामा पर्न थालेको बताउनुभयो ।

पत्रकारिता क्षेत्र विषयहरु खोतलेर, मथेर, निश्कर्ष निकाल्न सक्ने वर्ग भएकोले पेशागत हितका लागि पत्रकार स्वयम् नै चिन्तनशिल रहन पनि आवश्यक रहेको महानिर्देशक नेपालले उल्लेख गर्नुभयो । 

महानिर्देशक नेपालले नेपालका विभिन्न सञ्चार माध्यामहरुको सम्पादकिय स्वतन्त्रामाथि समेत विभिन्न अध्धयनहरुले प्रश्न उठाउने गरेको जनाउनुभयो । सूचना तथा प्रसारण विभागले सञ्चार माध्याम र पत्रकारहरुको सहजताको लागि जिल्लास्थित हुलाक कार्यालयहरुलाई सञ्चार माध्याम दर्ता, नविकरण, प्रेस पास लगायतका अधिकारहरु प्रत्यायोजन गरेको जानकारी दिनुभयो । 

उहाँले प्रेस प्रतिनिधि परिचय पत्र बनाउने सबै पत्रकारहरु सक्रिय पत्रकारितामा नरहेपनि कागज मिलाएर आउने भएकोले परिचय पत्र उपलब्ध गराउनुपर्ने बाध्यता रहेको समेत उल्लेख गर्नुभयो । 

कार्यक्रममा चौरजहारी नगरपालिकाका उप प्रमुख ईश्वरी शर्मा बिएमले समाजमा रहेका सबैपक्षहरुको उजागर गर्न सञ्चार माध्यामहरु पछि पर्न नहुने उल्लेख गर्नुभयो । उहाँले पत्रकारहरुलाई बिषयको गहिराईमा पुगेर तथ्यपरक ढंगले समाचार सम्प्रेषण गर्न समेत अनुरोध गर्नुभयो । 

रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले राज्य र जनतालाई जोड्ने पुलको काम सञ्चार माध्यामले गरिरहेको बताउनुभयो । उहाँले सञ्चार माध्यामको सहि सूचना र खबरदारीको कारण सरकारी सेवा प्रवाह समेत जनतामैत्री हुने उल्लेख गर्नुभयो । 

विभागले नेपाल पत्रकार महासंघ रुकुमपश्चिम शाखाको सहकार्यमा चौरजहारीमा सुरु गरेको तीन दिने घुम्ती शिविर तथा पत्रकार क्षमता अभिबृद्धि कार्यक्रम सञ्चालन गरेको हाे । कार्यक्रममा रुकुमपश्चिम, जाजरकोट र सल्यान जिल्लाका ६५ जना पत्रकारहरुको सहभागिता रहेको पत्रकार महासंघ रुकुमपश्चिमका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभयो । 

शिविरबाट प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण तथा अनलाईन सञ्चार माध्याम दर्ता र पत्रकारहरुको क्षमता विकासका लागि तालिम सञ्चालन हुने बताईएको छ । 

महासंघका रुकुम पश्चिम अध्यक्ष लक्ष्मण केसीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा विभागका महानिर्देशक शंकर नेपालको प्रमुख आतिथ्यता रहेको थियो भने चौरजहारी नगरपालिकाका उप प्रमुख ईश्वरी शर्मा बिएम र प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तको बिशेष आतिथ्यता रहेको थियो । 

कार्यक्रममा विभागका निर्देशक भरत गौतम, चौरजहारी नगरपालिकाका पूर्व नगर प्रमुख बिशाल शर्मा, पत्रकार महासंघ जाजरकोटका अध्यक्ष बालकुमार शर्मा, प्रहरी नायब उपरिक्षक नमराज भट्टराई, रेडक्रस चौरजहारीका सभापति तेजबहादुर बटाला, चौरजहारी उद्योग वाणिज्य संघका यदु कुमार आचार्य, चौरजहारी अस्पतालका डिल बहादुर गिरी लगायतको आतिथ्यता रहेको थियो ।  

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १६:१०
प्रतिक्रिया दिनुहोस्