बागलुङ बस दुर्घटना : नौ जनाको मृत्यु, पहिचान नखुलेपनि सात जनाकाे शव रुकुम ल्याईदै

सोमबार, चैत ५, २०८०

बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या नौ पुगेको छ ।

रुकुम पश्चिमबाट काठमाडौं हिँडेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै सात जनाको मृत्यु भएको हो भने दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो । 

प्राथमिक उपचार केन्द्र बुर्तिवाङमा पुग्नु भएका सिस्ने गाउँपालिका -८ रुकुम पूर्वका नैनसिंह बोहराका अनुसार मृतकमध्ये पाँच पुरुष र चार महिला छन् । हालसम्म मृतक मध्य सात जनाको शव रुकुमतर्फ पठाईएको छ भने एक पुरुष र एक महिलाको शव प्राथमिक उपचार केन्द्र बुर्तिवाङमा नै राखिएको छ । 

दुर्घटनामा २४ जना घाइते छन् । २४ जना घाईतेहरुलाई थप उपचारका लागि भर्खरै बागलुङ जिल्ला अस्पतालतर्फ रिफर गरिएको छ । 

इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले गाडीमा ३३ जना यात्रु रहेको जानकारी दिनुभयो । उहाँका अनुसार मृतक र घाइतेहरुको परिचय भने खुल्न बाँकी छ । दुर्घटना स्थलमा घुमाउरो बाटो घुमाउरो भएको र चालकको समेत मृत्यु भएको उहाँले बताउनुभयो । बस सडकदेखि करिब तीन सय मिटर तल खसेको छ । 

नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहित पूर्वी रुकुमबाट नेपाली सेनाको टोलीले घाइतेको उद्धार गरेको थियो । प्रहरी निरीक्षक विकले घटनास्थलबाट बागलुङ सदरमुकाम निकै टाढा पर्ने र सबैजसो यात्रु र मृतकसमेत रुकुम पश्चिमकै भएकाले सात जना मृतकको शव रुकुम पश्चिम नै पठाइएको जानकारी दिनुभयो । दुई जनाको शव भने प्राथमिक उपचार केन्द्र बुर्तिवाङमा रहेको छ । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक नमराज भट्टराईले सात जना मृतकहरु ल्याउँदै गरेको सूचना प्राप्त भएको बताउनुभयो । उहाँका अनुसार अधिकांस यात्रुहरु रुकुमबाटै गएको हुनाले प्रहरीले यता नै शवहरु पठाएको हो । जिल्ला ल्याईसकेपछि मृतकहरुको पहिचान खुल्ने डिएसपी भट्टराईले बताउनुभयो । 

सोमबार साँझ सवा ५ बजे निसीखोला गाउँपालिका वडा नम्बर ६ को जाउलेपानीमा पर्ने मध्यपहाडी लोकमार्गमा बस दुर्घटना भएको हो । घटनास्थल पुगेको प्रहरीले घाइतेहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ पठाएको थियो । घटनास्थल इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट करिब ३० किलोमिटरमा पर्छ । 

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  २२:३९
प्रतिक्रिया दिनुहोस्