Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बर्षौसम्म लाईसेन्स नपाउँदा रसिदकै भरमा सवारी

बिहीबार, चैत ८, २०८०
tribeni2

रुकुम पश्चिम । सवारी चालक अनुमतिपत्र जारी भएको बर्षौसम्म चालक अनुमतिपत्र नपाउँदा यहाँका सवारी चालकहरुले समस्या खेप्नुपरेको छ । सवारी साधन चलाउनको लागि तोकिएको विधि पुरा गरेर जारी गरिने अनुमतिपत्रको काम राजश्व तिरेको रसिदले हुँदै आएको छ ।  

सरकारले लाईसेन्स छपाई नै नगरेपछि नयाँ र नविकरण गरेको सवारी चालक अनुमतिपत्रको काम रसिदकै भरमा हुँदै आएको हो । चौरजहारी नगरपालिका –५ का बिराज ढकालले एक वर्ष पहिला चौरजहारीस्थित यातायात व्यवस्था सेवा कार्यालयबाट मोटरसाईकल चालक अनुमतिपत्रको लागि लिईएका सम्पूर्ण परिक्षा पास गरेर पनि हालसम्म अनुमतिपत्र पाउन नसकेको बताउनुभयो ।

उहाँले यातायात कार्यालयमा तिरेको करको रसिदको आधारमा सवारी साधन चलाउने गरेको जनाउनुभयो । रसिद बोकेरै यात्रा गर्नुपर्ने, पानीमा भिज्ने, पटक पटक ट्राफिक जाँचका क्रममा देखाउनुपर्ने भएकोले उक्त रसिद पनि झुत्रो भएको उहाँको भनाई छ । 

मुसीकोट नगरपालिका –१ का सुधिर बिक्रम शाहले सवारी चालक अनुमतिपत्र नविकरण गरेको डेढ वर्ष बितिसक्दा पनि लाईसेन्स कार्ड पाउन नसकेको बताउनुभयो ।

नविकरण गर्दा कर तिरेको रसिद बोकेरै विभिन्न स्थानमा जानुपरेको र उक्त रसिद पनि च्यातिन थालेको शाहले जानकारी दिनुभयो । रसिद हराउने, पानीमा भिज्ने, च्यातिने सम्भावना बढी भएकोले सरकारले यसतर्फ ध्यान दिनुपर्ने शाहले उल्लेख गर्नुभयो । 

सरकारले सवारी चालक अनुमतिपत्रलाई स्मार्ट लाईसेन्सको रुपमा वितरण गर्न थालेपनि डेढ वर्ष यता लाईसेन्स छपाई हुनुसकिरहेको छैन । यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीका प्रमुख आनन्द चपाईले स्मार्ट लाईसेन्स सेवाग्राहीलाई दिन नसकेको र जसको मारमा सेवाग्राही परेको स्विकार गर्नुभयो ।

सरकारले लाईसेन्स छपाई नगरेपछि सेवाग्राहीलाई वितरण गर्न नसकिएको र सवारी चालकहरुले राजश्व तिरेको रसिदका भरमा काम चलाउँदै आएको उहाँले जानकारी दिनुभयो । कार्यालय प्रमुख चपाईले भन्नुभयो, ‘सामान्यतया सवारी चालक अनुमतिपत्र जारी भएको एक वर्ष भित्रैमा स्मार्ट लाईसेन्स दिईसक्नुपर्ने हो, तर यहाँ त बर्षौसम्म लाईसेन्स छपाई नै भएको छैन ।’

उहाँले बढी मात्रामा राजश्व संकलन हुने यस क्षेत्रमा सरकारको ध्यान जान नसकेको उल्लेख गर्नुभयो । यातायात कार्यालय प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको हुनाले प्रदेश सरकार समेत यस बिषयमा गम्भिर बन्नुपर्ने उहाँको भनाई छ । बागमती र मधेस प्रदेशले सवारी चालक अनुमतिपत्र छपाईको काम प्रदेशमै सुरु गरेको जानकारी दिनुहुँदै चपाईले कर्णाली प्रदेश सरकारले पनि यो काम तत्काल गर्न आवश्यक रहेको औल्याउनुभयो । 

साउन महिना यता यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीबाट एक हजार दुई सय ४७ वटा नयाँ र करिब एक हजार दुई सय नविकरण गर्नुपर्ने सवारी चालक अनुमतिपत्रको काम भएको छ । यी सबै अनुमतिपत्रको लागि राजश्व तिरेको रसिदकै भरमा काम चलिरहेको छ । 

रसिदमा चालक अनुमतिपत्र नम्बर उल्लेख हुने भएकोले ट्राफिक जाँचका क्रममा पनि रसिदलाई कानूनी मान्यता दिने गरिएको छ । जिल्ला ट्राफिक कार्यालयले रसिद हराएको, च्यातिएको, पानीमा भिजेको, झुत्रो भएको भन्दै सयौ चालहरुले समस्या दर्शाउने गरेको जनाएको छ ।

कतिपयले रसिद हराएको भन्दै मोबाईलको फोटो देखाउने गरेको समेत बताईन्छ । यसो गर्दा लाईसेन्स नक्कली हुनसक्ने, दुर्घटनापछि थप जटिलता आउने, प्रहरीलाई झुक्याउने सम्भावना बढी हुन्छ । 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १०:४७
प्रतिक्रिया दिनुहोस्