Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

छोराछोरी डाक्टर, आमाबाबु हेडमास्टर !

परिवारका तीन जना एसएलसीमा जिल्ला टप
शुक्रबार, चैत ९, २०८०
tribeni2
  • राजेन्द्र कार्की 

आमाबुवा दुवै सरकारी विद्यालयका हेडसर, दुवै छोराछोरी डाक्टर । यस्तो सौभाग्य कमैलाई प्राप्त हुन्छ । तर जाजरकोट खलंगाका भक्तबहादुर मल्लको परिवारलाई यस्तो सुखद अवसर प्राप्त भएको छ ।

बुवा भक्तबहादुर मल्ल र आमा गिता कुमारी शाही मल्ल दुवै जना सामुदायिक विद्यालयका प्रधानाध्यापक हुनुहुन्छ । छोरा भुपेन्द्र प्रकाश मल्ल र छोरी समिक्षा मल्ल दुवै डाक्टर हुनुहुन्छ । अर्की छोरी सुष्मा मल्ल स्टाफ नर्स हुनुहुन्छ।

२०२६ साल भाद्र २६ गते भेरी नगरपालिका ४ मा जन्मिएका मल्ल सदरमुकाम खलंगा स्थित त्रिभुवन माविका प्रधानाध्यापक हुनुहुन्छ । करीब ८ सय विद्यार्थी रहेको विद्यालयको नेतृत्व तीन बर्ष देखि गरिरहनुभएको छ । २०५४ सालमा अस्थायी रुपमा शिक्षण पेशामा जोडिनुभएका उहाँ २०६० सालमा मावि तहमा स्थायी हुनुभएको हो । हाल मावि तह द्धितिय श्रेणीमा कार्यरत मल्लले कानुनमा स्नातक र शिक्षा शास्त्रमा स्नाकोत्तर गर्नुभएको छ । 

मल्लकी श्रीमति गिताकुमारी बुद्धि आधारभुत विद्यालय बोहराकी प्रधानाध्यापक हुनुहुन्छ । २०४६ सालमा स्थायी हुनुभएकी उहाँ प्राथमिक तह द्धितिय श्रेणीमा कार्यरत हुनुहुन्छ । स्नातकसम्मको अध्ययन पुरा गर्नुभएकी उहाँ दुई बर्ष देखि प्रअको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । 

छोरा भुपेन्द्र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमविविएस गरेका छन् । जिल्ला अस्पतालमा ५ बर्ष सेवा गरेर उनी हाल विराटनगरमा एमडी गरिरहेका छन् । कान्छि छोरी समिक्षा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एमविविएस गरेर हाल जिल्ला अस्पताल जाजरकोटमा तीन बर्ष देखि मेडिकल अधिकृत पदमा कार्यरत छन् ।

छोराछोरी दुवै सरकारी छात्रबृत्तिमा एमविविएस अध्ययन पुरा गरेका हुन् । जेठी छोरी सुष्मा सरकारी स्थायी स्टाफ नर्स छन् । नेपाली सेनामा स्टाफ नर्समा नाम निस्केपछि केही समय काम गरेकी उनी सेनाको जागिर त्यागेर हाल शिक्षण अस्पताल महाराजगञ्जमा स्टाफ नर्समा कार्यरत छन् ।

mmm-1-846x10241711073134.jpg

अर्को रोचक कुरा के छ भने सो परिवारका तीन जनाले जाजरकोट जिल्लाबाट एसएलसी परिक्षामा जिल्ला फस्ट गरेर रेकर्ड कायम गरेका छन् । बुवा भक्तबहादुरले २०४२ सालमा जिल्ला प्रथम भएर १२ सय पुरस्कार पाएका थिए । छोरा भुपेन्द्र २०६४ सालमा एसएलसीमा जिल्ला प्रथम भएर १० हजार नगद पुरस्कार र छोरी समिक्षा २०६८ सालमा जिल्ला प्रथम भएर १० हजार नगद पुरस्कार हात पारेकी थिईन ।

भक्तबहादुर भन्नुहुन्छ, ‘मैले सानो छँदा निकै दुखजिलो गरेर पढेको हुँ । हामी आर्थिक अवस्था कमजोर थियो तै पनि मलाई मेरो बुवा र दाईले पढाउनुभयो । विवाह गरे । म अधिवक्ता पनि हुँ तर पनि दुवै जनाले शिक्षण पेशा रोज्यौ । छोराछोरीलाई पढायौ । छात्रबृतिमा नाम ननिस्केको भए निजी स्रोतबाट पढाउन सक्ने हैसियत थिएन । अहिले पनि छोराले एमडी गरिरहेको छ ।'

उहाँ थप्नुहुन्छ, 'जिन्दगीभरको हाम्रो जागिर छोराछोरीकै पढाइमा लगानी गर्यौ । मैले म पढेकै विद्यालय त्रिभुवन माविमा म प्रअ छु । छोराछोरीलाई पनि एसएलसी हालको एसइइ सम्म यही विद्यालयमा पढाएको हुँ । भगवानको कृपाले सवै राम्रै भएको छ । छोराछोरीले पढे । समक्ष भएका छन् यही कुरामा खुसी छौ । लगनशिलता र मिहिनेत नै सफलताको सारथी हुन ।’

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  ०७:३९
प्रतिक्रिया दिनुहोस्