आठविसकोटस्थित प्रभु बैंकबाट करोडौ रकम हिनामिना गरेर फरार रहेका कर्मचारी पक्राउ

शुक्रबार, चैत ९, २०८०

रुकुम पश्चिमको आठविसकोट नगरपालिका ९ राडिमा रहेको प्रभु बैंकबाट करोडौ रकम अपचलन गरेर फरार रहेका बैकका कर्मचारी पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले बैंकको अपरेशन ईन्चार्ज पदमा कार्यरत कर्मचारी निरज बिक्रम शाहलाई पक्राउ परेको हो । पक्राउ परेका शाहलाई शुक्रबार पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक गरेको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नमराज भट्टराईले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १५ स्थित जमुनाहबाट शाहलाई पक्राउ गरिएको बताउनुभयो । 

प्रहरी निरिक्षक धर्मेन्द्र खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले चैत ८ गते बिहिबार शाहलाई पक्राउ गरेको थियो । 

शाहले बैंकमा कार्यरत रहँदा बैंकको खाताबाट एक करोड ३१ लाख २५ हजार रुपियाँ अपचलन गरेको भन्दै प्रभु बैंकका कर्णाली प्रदेश प्रमुख शरद राज तिमिल्सिनाले मुद्धा दर्ता गराउनुभएको थियो । तिमिल्सिनाले आठविसकोट नगरपालिकाको खाताको तीन वटा चेक मार्फत उक्त रकम अपचलन गरेको आरोपमा बैंकिङ कसुर शिर्षकमा मुद्धा चलेको थियो । 

प्रहरी नायब उपरिक्षक भट्टराईमा अनुसार आठविसकोट नगरपालिकाको उक्त रकम भूकम्प पीडितहरुको अस्थायी आवास निर्माणका लागि निकासा गर्नलाई बैंकमा पठाईएको रुपियाँ हो । यस बाहेक अन्य सेवाग्राहिहरुको लाखौ रकम समेत कर्मचारी शाहले हिनामिना गरिएको देखिन आएको प्रहरीको भनाई छ । 

शाहलाई उच्च अदालत सुर्खेतबाट सात दिन थुनामा राख्ने अनुमति लिएर आवश्यक अनुसन्धान सुरु गरिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १४:००
प्रतिक्रिया दिनुहोस्