सोसल मिडिया
रुकुम पश्चिममा ९५ रोपनी जग्गामा लगाईएको अवैध लागु औषध अफिम खेती फडानी तथा नष्ट गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयले पछिल्लो पाँच दिनमा मात्रै ९५ रोपनी जग्गामा लगाईएको अफिम फडानी गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक नमराज भट्टराईका अनुसार जिल्लाको आठविसकोट नगरपालिका, मुसीकोट नगरपालिका र सानीभेरी गाउँपालिकाको विभिन्न स्थानमा अवैध रुपमा लगाईएको लागु औषध अफिम खेती फडानी तथा नष्ट गरिएको हो ।
गत भदौ ५ गते आठविसकोट नगरपालिका वडा नम्वर १ स्याला र वडा नम्वर २ कालजुरा भन्ने स्थानमा ६० रोपनी जग्गामा लगाईएको अफिम फडानी गरिएको थियो । त्यसगैरी भदौ ६ गते सानीभेरी गाउँपालिका वडा नम्वर ३ को तिमिले, कमैदे र काफिगैरा भन्ने स्थानमा २९ रोपनी जग्गामा लगाईएको अवैध अफिम खेती फडानी गरिएको प्रहरी नायब उपरिक्षक भट्टराईले बताउनुभयो ।
भदौ ८ गतेका दिन मुसीकोट नगरपालिका ८ को घोरखानीमा एक रोपनी जग्गामा लगाईएको अफिम पनि फडानी तथा नष्ट गरिएको छ । त्यसैगरी आज शुक्रबार आठविसकोट नगरपालिका वडा नम्वर ३ दाङ भन्ने स्थानको पाँच रोपनी क्षेत्रफल जग्गामा लगाईएको अफिम नष्ट गरिएको छ ।
जिल्ला विभिन्न स्थानमा लुकिछिपी अवैध मानिएको अफिम खेती हुने गरेको सूचना पश्चात प्रहरीले फडानी तथा नष्ट गरेको हो । प्रहरीले हरेक वर्ष अवैध लागु औषध अफिम खेती फडानी तथा नष्ट गर्दै आएको छ ।