बिद्युत लाइनको तार चुँडिएर आँगनमा खस्दा एकै घरका तीन जनाको मृत्यु

शनिबार, चैत १०, २०८०

दाङमा करेन्ट लागेर एकै घरका तीन जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले दिनुभएको जानकारी अनुसार मृत्यु हुनेमा राप्ती गाउँपालिका-३ घण्टदेव चोक निवासी ५५ वर्षीया दिलसरा केसी, उहाँका श्रीमान ६० वर्षीय गोरखबहादुर केसी र चार वर्षीय नाति कृष्ण केसी रहेका छन् ।

प्रहरी नायब उपरीक्षक मल्लका अनुसार शनिबार दिउँसो हाइटेन्सन लाइनको विद्युतको तार चुँडिएर घरको आँगनमा खस्दा करेन्ट लागेर दिलसरा र नाति कृष्णको घटनास्थलमै मृत्यु भएको थियो। करेन्ट लागेर गम्भीर घाइते हुनुभएका गोरखको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। 

नेपाल विद्युत प्राधिकरणको हाइटेन्सन लाइनको तार एक्कासि चुँडिएर घरको आँगनमा खस्दा उहाँहरुको करेन्ट लागेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिनुभएको छ। 

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १९:१४
प्रतिक्रिया दिनुहोस्