Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

एउटै कार्यालयलाई दुई जिल्ला र प्रदेशको कार्यभार

सोमबार, चैत १२, २०८०
tribeni2

रुकुम पश्चिममा रहेका दुई सरकारी कार्यालयले फरक जिल्ला र प्रदेश समेतको कार्यक्षेत्र भित्र रहेर काम गरिरहेका छन् ।

कर्णाली प्रदेशको रुकुम पश्चिममा रहेको जिल्ला हुलाक कार्यालय र कारागार कार्यालयले लुम्बिनी प्रदेशमा पर्ने रुकुम पूर्व जिल्लाको समेत कार्यभार सम्हाल्दै आएका हुन् । 

संविधान र राज्य पुर्नसंरचनाले समेत अलग जिल्ला र प्रदेश विभाजन भएपनि हालसम्म यी कार्यालयले दुई जिल्ला तथा प्रदेशको जिम्मेवारी निभाउँदै आएका छन् । एउटै कार्यालयले अलग जिल्ला र प्रदेशमा समेत कार्य गर्नुपर्दा सेवा प्रवाह, समन्वय र व्यवस्थापनमा समस्या झेल्नु परेको छ । 

जिल्ला हुलाक कार्यालयका प्रमुख कुमारी रीमा मल्लले दुई प्रदेशका फरक जिल्लाको लागि एउटै कार्यालय रहेकोले जनशक्ति व्यवस्थापन तथा समन्वयको काममा समस्या हुने गरेको बताउनुभयो । रुकुम पूर्वमा रहेका तीन वटा ईलाका हुलाक, १३ वटा अतिरिक्त हुलाकका साथै रुकुम पश्चिममा रहेका पाँच ईलाका हुलाक र २१ वटा अतिरिक्त हुलाक कार्यालयको लागि मुसीकोटमा रहेको जिल्ला हुलाक कार्यालयले काम गरिरहेको छ ।

विभागमा पत्राचारमा समस्या नभएपनि जिल्ला र प्रदेशमा पत्राचार तथा समन्वयका काममा असहजता हुने गरेको मल्लले उल्लेख गर्नुभयो । यस बिषयमा विभागमा पत्राचार समेत गरिएको उहाँले बताउनुभयो । 

२०७२ साल असोज ३ गते जारी नेपालको संविधानले सिङ्गो रुकुमलाई दुई जिल्लामा विभाजन गरेको थियो । यसपछि २०७४ भदौ ५ गतेको मन्त्रीपरिषद् बैठकले रुकुमलाई छुट्टाछुट्टै जिल्ला कायम गर्दै दुई प्रदेशमा राखेर भूभागको विभाजन गरेको थियो ।

२०७४ असोज १८ गते जिल्ला प्रशासन कार्यालय समेतका अन्य कार्यालयहरु रुकुम पूर्वको रुकुमकोटमा स्थापना गरिएतापनि हालसम्म हुलाक र कारागार कार्यालय स्थापना हुन सकेका छैनन् ।  

रुकुम पश्चिममा रहेको कारागार कार्यालयले दुबै जिल्लाका कैदीबन्दीहरु व्यवस्थापनको काम गरिरहेको छ । २५ जनाको क्षमता रहेको यस कारागारमा अहिले १५४ जना कैदीबन्दीहरु रहेका छन् । 

क्षमता भन्दा छ गुणा बढी कैदीबन्दी भएपछि व्यवस्थापनमा समस्या हुने गरेको कारागार प्रशासक तथा सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले बताउनुभयो । उहाँका अनुसार पाँच जना महिला र २० जना पुरुषको क्षमता रहेको यस कारागारमा अहिले १० जना महिला, १४२ जना पुरुष र दुई जना नाबालक रहेका छन् ।

दुबै जिल्लामा रहेका अदालतबाट दोषि ठहर भएका र अभियोग लागेका कैदीबन्दीहरु यहि कारागारमा ल्याउने गरिएको छ । अहिले कारागारमा बसाई, खानेपानी, शौचालय प्रयोग लगायत सुत्ने स्थानको समेत समस्या हुने गरेको छ ।

जानकारी अनुसार कैदीबन्दीहरु सुत्ने ठाउँको अभावले कोल्टो फेर्न नपाई उठ्नुपर्ने बाध्यता रहेको छ । कारागार भवन सानो हुँदा भित्री सुरक्षामा समेत चुनौती रहेको छ । 

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  ०७:२७
प्रतिक्रिया दिनुहोस्