सोसल मिडिया
अर्थ मन्त्रालयले जाजरकोट भूकम्पका कारण भत्किएका विद्यालय भवन पुनः निर्माणका लागि आवश्यक रकम व्यवस्थापन गर्ने भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेटबाट शैक्षिक संस्थाका भवन पुनः निर्माण हुने भएको हो ।
आज अर्थमन्त्री वर्षमान पुन र शिक्षामन्त्री सुमना श्रेष्ठसहित दुवै मन्त्रालयका प्रशासनिक नेतृत्वबीच अर्थ मन्त्रालयमा भएको छलफलमा बजेट व्यवस्थापनको सहमति भएको हो । भूकम्पका कारण जाजरकोट, रुकुमपश्चिम र बझाङमा गरी सात सय वटाभन्दा धेरै विद्यालय भवन भग्नावशेषमा परिणत भएका थिए ।
छलफललगत्तै अर्थमन्त्री पुनले चालु आर्थिक वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बिनियोजन भएर खर्च हुन बाँकी रहेको रकम विद्यालय भवन पुनः निर्माणमा खर्च गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । जाजरकोटको बारेकोट गाउँपालिका–१ लामिडाँडा केन्द्रबिन्दु भएर गएको कात्तिक १७ गते राति गएको छ दशमलव चार रेक्टर स्केलको भूकम्पका कारण तीन जिल्लामा पूर्ण र आंशिक गरी सात सय वटा विद्यालय भवन भत्किएका थिए ।
यस्तै दुई मन्त्रालयबीच आउँदो आर्थिक वर्ष २०८१/०८१ देखि राष्ट्रपति शैक्षिक सुधार शीर्षकमा बजेट बिनियोजन नगर्ने सहमति भएको छ । सरोकारवालाहरुबाटै कार्यक्रम प्रभावकारी नभएको गुनासो पटक–पटक आउने गरेको थियो ।