Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

लाजले लुकाउँछन् क्षयरोग : सर्वेक्षणमा बढी, परिक्षणमा कमी

मंगलबार, चैत १३, २०८०
tribeni2

रुकुम पश्चिममा क्षयरोगका शंकास्पद बिरामीहरुले रोग लुकाउने गर्दा निदान तथा नियन्त्रणमा चुनौति रहेको बताईएको छ । सचेतनाको कमी र लाजको कारण क्षयरोगको जाँच नै नगर्ने गरेकोले सर्वेक्षणमा बढी र जाँचमा कम क्षयरोगी पत्ता लाग्ने गरेका छन् । 

स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाईजर कृष्णा खड्काका अनुसार राष्ट्रिय क्षयरोग केन्द्रले गरेको सर्वेक्षणमा बढी मात्रामा क्षयरोगका बिरामीहरु रहेको बताईएतापनि चालु वर्षको आठ महिनामा जिल्लामा ११२ जना  नयाँ क्षयरोगीहरु पत्ता लागेका छन् । केन्द्रको सर्वेक्षण रिपोर्टमा भने करिब ३९० जना क्षयरोगी रुकुम पश्चिममा रहेको तथ्याङक रहेको सुपरभाईजर खड्काले उल्लेख गर्नुभयो ।

राष्ट्रिय क्षयरोग केन्द्रले क्षयरोगबाट हुने बिरामी र मृत्युदर घटाई रोग सर्ने प्रक्रियालाई रोकेर सन् २०५० सम्ममा क्षयरोग अन्त्य गर्ने लक्ष्य लिएको जानकारी दिनुहुँदै खड्काले यस वर्षदेखि रुकुमपश्चिमका मुसीकोट र आठविसकोट नगरपालिकामा क्षयरोग मुक्त अभियान सञ्चालन भएको जनाउनुभयो ।  

मुसीकोट नगरपालिकाका स्वास्थ्य अधिकृत मानबहादुर खत्रीले शंकास्पद बिरामीहरु जाँच गर्न नआउने र रोग लुकाउने गर्ने भएकाले क्षयरोग पहिचान तथा उपचारमा समस्या भएको बताउनुभयो । उहाँका अनुसार सरकारले क्षयरोगको सम्पूर्ण जाँच नि:शुल्क गरेतापनि परम्परागत गलत धारणा र लाजको कारण जाँच गर्नेहरुको संख्या कम हुने गरेको छ । 

स्वास्थ्य सेवा कार्यालयको तथ्याङक अनुसार रुकुमपश्चिममा आर्थिक बर्ष ०७८/७९ मा १७६ जना, ०७९/८० मा १६९ जनामा र चालु आर्थिक वर्षको फागुनसम्म ११२ जना क्षयरोगका बिरामी रहेका छन् । गत वर्ष क्षयरोगका कारण सात जनाको मृत्यु भएको थियो भने चालु वर्षमा दुई जनाको मृत्यु भएको छ । 

जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी एवम् जनस्वास्थ्य निरीक्षक कालिबहादुर ओलीका अनुसार क्षयरोग पत्ता लागेका सबै बिरामीहरु स्वास्थ्य संस्थाको पहुँचमा रहेका छन् । उनीहरुमध्य ९५ प्रतिशतले औषधि सेवन गरिरहेका छन् । उहाँका अनुसार जिल्लामा ३२ वटा स्वास्थ्य संस्थामा क्षयरोगको उपचार तथा औषधि वितरण हुन्छ भने चार स्थानबाट माईक्रोस्कोप र एक स्थानबाट जिनएक्पर्ट केन्द्र मार्फत क्षयरोगको परिक्षण हुनेगर्छ । 

जिल्ला अस्पताल सल्ले, आठविसकोट नगर अस्पताल, चौरजहारी अस्पताल र सहिद स्मृति नगर अस्पतालबाट माईक्रोस्कोपबाट क्षयरोगको परिक्षण हुने गरेको छ भने जिल्ला अस्पताल सल्लेमा जिनएक्पर्ट मेसिनबाट क्षयरोग परिक्षण हुने गरेको छ ।

क्षयरोगको परिक्षण भने न्यून मात्रामा हुने गरेको छ । तीन वर्ष अघि करिब ४० लाखको लगानीमा ल्याईएको जिनएक्पर्ट मेसिनमा दैनिक ५–७ जना बिरामीको मात्र क्षयरोग परिक्षण हुने गरेको छ । जनस्वास्थ्य अधिकृत ओलीका अनुसार बिरामी सन्चो नभएमा अथवा अवस्था बिग्रिएमा मात्र क्षयरोग परिक्षण गर्ने चलन भएकोले सबै क्षयरोग संक्रमितहरुले जाँच नगरेको उहाँको भनाई छ । 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १०:०९
प्रतिक्रिया दिनुहोस्