सोसल मिडिया
रुकुम पूर्व । रुकुम पूर्वमा विपद प्रतिकार्यका लागी कृतिम घटना अभ्यास गरिएको छ । विपद जोखिम न्यूनीकरण परियोजना अन्तर्गत नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रुकुम पूर्वको आयोजना तथा जिल्ला प्रशासन कार्यालयको समन्वयमा सिस्ने गाउँपालिका वडा नम्बर ५ स्थित कमलदह छेउमा उक्त कृतिम घटना अभ्यास गरिएको हो ।
आगलागी तथा भुकम्पमा परेकाहरुलाई कसरी उद्धार गर्न सकिन्छ भन्ने कुराको जानकारी गराउने उदेश्यले उक्त अभ्यास गरिएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रुकुम पूर्व शाखाका अध्यक्ष दामोदर गौतमले बताउनुभयो ।
नेपाली सेनाको चण्डीदल गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गुल्मको संयुक्त टोलीले आगलागी तथा भुकम्पमा परेकाहरुको उद्धारको कृतिम घटना अभ्यास गरेको हो ।
जुनसुकै समयमा पनि घट्न सक्ने विपदजन्य घटनाहरु आगलागी तथा भुकम्पमा परि घाइते भएकाहरुको उद्धार कसरी गर्न सकिन्छ भन्ने कुराको अभ्यास स्वरुप यो कार्यक्रम गरिएको हो ।
जिल्लामा विपदमा खटिने टिम तयारीका लागि गत चैत्र ८ गतेदेखी ११ गतेसम्म रेडक्रसकै आयोजनामा आधारभूत प्राथमिक उपचार सम्बन्धि समूदायका २४ जना नागरिकहरुलाई तालिम समेत प्रदान गरिएको थियो । सोही टिम विपद्का बेलामा प्राथमिक उपचारका लागि तयारी अवस्थामा रहने कुरा जानकारी गराउन पनि यो कार्यक्रमले महत्वपूर्ण सहयोग पु¥याउने अध्यक्ष गौतमले उल्लेख गर्नुभयो ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रुकुम पूर्व शाखाका सभापति दामोदर गौतमको अध्यक्षतामा भएको घटना अभ्यास कार्यक्रममा प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
यसैगरि कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख एवम् प्रतिनिधीहरुका साथै शिक्षक बिद्यार्थीहरुको पनि उपस्थिती रहेको थियो ।