Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिमका चार स्थानीय तहमा घरधुरी भन्दा लाभग्राही बढी

बिहीबार, चैत २२, २०८०
tribeni2

रुकुम पश्चिममा भूकम्पको कारण घर क्षती भएपछि कायम गरिएका लाभग्राहीहरुको संख्या घरधुरी भन्दा बढी रहेको छ । गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पको कारण घर क्षती भएकाहरुको विवरण घरधुरी भन्दा बढी पाईएको हो । 

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालका अनुसार अस्थायी आवास निर्माणको क्रममा हालसम्म ३२ हजार ९९६ जना लाभग्राही कायम भएका छन् । करिब ३५ हजार लाभग्राही कायम हुने उहाँको अनुमान छ ।

केन्द्रिय तथ्याङ विभागले २०७८ सालमा गरेको घरधुरी सर्वेक्षण अनुसार आठविसकोट नगरपालिका, चौरजहारी नगरपालिका, सानीभेरी गाउँपालिका र त्रिवेणी गाउँपालिका २३ हजार ९९० घरधुरी रहेका छन् । तर यी चार स्थानीय तहमा मात्र २८ हजार ६९५ लाभग्राही कायम भएका छन् । अझैपनि स्थानीय तहबाट लाभग्राही कायम भएर आउने क्रम जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी बढुवालले बताउनुभयो । 

तथ्याङ्क कार्यालय रुकुम पश्चिमका सुपरिवेक्षक सतिश कुमार चौधरीले जनगणना २०७८ को क्रममा लिईएको विवरण अनुसार आठविसकोट नगरपालिकामा सात हजार ५५३ घरधुरी रहेको जानकारी दिनुभयो । यहि पालिकामा भूकम्पबाट प्रभावित दश हजार ३९४ घरधुरी लाभग्राही कायम भएका छन् ।

चौरजहारी नगरपालिकामा छ हजार ८३७ घरधुरी रहेको सरकारी आँकडा रहेको छ भने सात हजार ५०२ घर लाभग्राही रहेका छन् । त्यसैगरी सानीभेरी गाउँपालिकामा छ हजार ७४ घरधुरी लाभग्राही कायम भएका छन् भने यहाँ पाँच हजार २९२ घरधुरी रहेको तथ्याङक कार्यालयले जनाएको छ ।

जिल्लाको मुसीकोट नगरपालिकामा भने आठ हजार ६९३ घरधुरी रहेकोमा एक हजार ६६० लाभग्राही कायम भएका छन् भने बाँफिकोट गाउँपालिकामा चार हजार ६०७ घरधुरी रहेकोमा दुई हजार ६४१ लाभग्राही कायम भएका छन् । सुपरिवेक्षक चौधरीले घरधुरी विवरण संकलन गर्दा खाली रहेका र एउटै व्यक्तिका दुई भन्दा बढी घर पनि गणना गरिएको बताउनुभयो । 

सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले सरकारले बनाएको भूकम्प प्रभावित घर परिवारलाई अस्थायी आवास कार्यविधि, २०८० अनुसार स्थानीय तहले लाभग्राही कायम गरेर पठाएको बताउनुभयो । उहाँले यस कार्यमा जिल्ला प्रशासन कार्यालयको भूमिका नरहेको तर सरकारले पठाएको अस्थायी आवास निर्माणको रकम सम्बन्धित पालिकाको खातामा पठाउने गरिएको बताउनुभयो ।

कार्यविधिले कहिलेसम्म लाभग्राही कायम गरिसक्ने भन्ने यकिन नगरेकोले स्थानीय तहहरुले अझैपनि लाभग्राही कायम गरेर पठाउने गरेको उहाँले जनाउनुभयो । 

आठविसकोट नगरपालिकाका प्रमुख रबि केसीले झट्ट हेर्दा लाभग्राही बढी देखिएतापनि यो स्वभाविक रहेको दाबी गर्नुभयो । दुई वर्षको बिचमा घरहरु थपिएको, अंशबन्डा गरेकाहरु अलग भएको लगायतका कारण २०७८ को भन्दा हाल घरधुरी बढी भएको उहाँको भनाई छ ।

वडास्तरबाटै स्वघोषणा गरेर पीडितहरुले आवश्यक प्रक्रिया र कागजातसहित आउने भएकोले पालिकाबाट लाभग्राही कायम गरिएको उहाँले स्पष्ट पार्नुभयो । 

सरकारले अस्थायी आवासका लागि प्रति आवास ५० हजार अनुदान दिने भएपछि धमाधम लाभग्राही एकिनको काम अघि बढेको थियो । हालसम्म ३२ हजार ९९६ जना लाभग्राहीलाई २५ हजारको दरले पहिलो किस्ता वापतको रकम उपलब्ध गराईएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । दोश्रो किस्ता वितरणको काम भने अझै हुन सकिरहेको छैन । 

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  ०६:५९
प्रतिक्रिया दिनुहोस्