नेभिगेशन
समाज

ढकालले मनाए गरिब तथा जेहेन्दार विद्यार्थीसँग जन्मदिन

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीहरूलाई  शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।

उहाँले नगरपालिकाको वडा नम्वर ३ स्थित जनज्योति आधारभूत विद्यालय स्यालखोलाका गरिव तथा जेहेन्दार विद्यार्थीहरूलाई व्यक्तिगत रूपमा शैक्षिक सामग्री प्रदान गर्नुभएको हो ।
कमजोर आर्थिक पृष्ठभूमिका वादी समुदायका बालबालिकाहरूलाई लक्षित गरी सामग्री प्रदान गरिएको हो । जनज्योति स्यालखोलामा कक्षा ६ देखि ८ मा अध्ययनरत ८ जना विद्यार्थीलाई एक कार्यक्रमकाबिच कापी, कलम लगायतका सामग्री प्रदान गरिएको हो ।

प्रारम्भिक कक्षामा बादी समुदायका बालबालिकाहरू भर्ना भएता पनि माथिल्ला कक्षासम्म जाँदा बिचमै विद्यालय छोड्ने अवस्था रहेको छ । विद्यालय शिक्षाप्रति वादी समुदाय र विपन्न परिवारका बालबालिकाहरूलाई प्रेरित गरी निरन्तरता दिन सहयोग गर्ने हेतुले शैक्षिक सामग्री प्रदान गरिएको ढकालले बताउनुभयो ।
गरिवीलाई जित्ने भरपर्दो माध्यम नै शिक्षा भएकोले शिक्षाको अवसरका लागि सबैले सहयोग गर्नुपर्ने उहाँको भनाइ छ । "पछिल्लो समय विद्यालयमा व्यक्तिगत लगानी र सहयोग गर्ने संस्कार हराउदै गएको छ", उहाँले भन्नुभयो  "विद्यालयको  विकासका लागि प्रत्येक व्यक्तिको सहयोग पनि आवश्यक छ" । विकासका लागि हरेक सङ्घ संस्था र व्यक्तिको समेत सामाजिक उत्तरदायित्त्व आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो । वार्षिक आम्दानीको थोरै भए पनि सामाजिक क्षेत्रमा लगानी गर्ने संस्कारले सानातिना कामको लागि सरकार र दातृ निकायको मुख ताक्न नपर्ने र फजुल खर्चको सदुपयोग हुने उहाँको भनाइ छ ।

Messenger_creation_3bfb290c-5d3a-4c2d-bb35-b2f9cf47835a1712453417.jpeg
विद्यालयका प्रधानाध्यापक टोपबहादुर के.सी.को अध्यक्षता रहेको शैक्षिक सामग्री वितरण कार्यक्रममा समाजसेवी एवम् नेपाल रेडक्रस सोसाइटी उपशाखा चौरजहारी सभापति तेजबहादुर बटालाको प्रमुख आतिथ्यतामा रहेको थियो । चौरजहारी नगरपालिका रोजगार संयोजक कृष्णप्रसाद शर्मा, प्रशासन सहायक देवबहादुर बटाला, पञ्जीकरण सहायक देवबहादुर रोकाय, आधारभूत विद्यालय नाखिराका शिक्षक निमेन्द्र भण्डारी, नेपाल पत्रकार महासङ्घ रुकुम पश्चिमका उपाध्यक्ष गोपाल रेग्मीको पनि आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज