सोसल मिडिया
रुकुम पश्चिमको मुसिकोटबाट संचालनमा रहेको रेडियो सानोभेरी १७ वर्षमा प्रवेश गरेको छ ।
सिस्ने बहुउद्देश्यीय जनसेवा केन्द्रद्धारा जिल्लाको पहिलो रेडियोको रुपमा २०६४ साल चैत्र २५ गते स्थापना भएको रेडियो सानोभेरी आजबाट १६ वर्ष पूरा भई १७ वर्षमा प्रवेश गरेको हो । वार्षिकोत्सवको अवसरमा रेडियोले सम्पूर्ण स्रोता, विज्ञापनदाता, संस्थामा कार्यरत कर्मचारी तथा पत्रकार, शुभेच्छुक तथा शुभचिन्तकहरुमा शुभकामना व्यक्त गरेको छ । रेडियोका प्रवन्ध निर्देशक ध्रुवविक्रम बुढाथोकीले प्रेस विज्ञप्ती जारी गर्दै शुभकामना व्यक्त गर्नुभएको हो । सञ्चार माध्यमकको तर्फबाट नागरिकको अभिमत अनुरुप विकास, समृद्धि र उत्पादनको योजना कार्यान्वयनलाई तिव्रता दिई समाजवादको आधार तयार गर्न तथा संघीयताको सवल कार्यान्वयनका लागि राज्यका सबै निकायलाई थप उत्तरदायी बनाउन जोड दिने विज्ञप्तीमा उल्लेख गरिएको छ । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारबाट भए गरेका कामहरुको प्रचार प्रसार र त्यसमा विकृति देखिए उजागर गर्ने कार्यमा रेडियो सानीभेरी सदैव क्रियाशील रहँदै आएको बताईएको छ । सरकारले अघि सारेको सुशासन, समृद्धि र सामाजिक न्यायको कार्यक्रम कार्यन्वयनको क्रममा प्राप्त उपलब्धि र भएका कमी कमजोरीहरु जस्ताको तस्तै जनसमक्ष पुर्याउने काममा तटस्थ रुपले सक्रिय रहेका पनि विज्ञप्तीमा जनाइएको छ । मौलिक कला–संस्कृतिको जगेर्ना, स्थानीय प्रतिभाहरुको प्रष्फुटन, जनहितकारी सन्देश प्रवाह जस्ता नियमित कार्यहरुलाई पनि यस रेडियोले अग्रस्थान दिँदै आएको छ ।
त्यस्तै प्रबन्धक बुढाथोकीले आफ्नै स्वामित्वको आधुनिक प्रसारण भवनबाट संचार सेवा प्रवाह गर्ने अवसर सृजना गरिदिनुहुने राजनैतिक तथा प्रशासनिक नेतृत्वहरुप्रति हार्दिक आभारसहित विशेष धन्यवाद ज्ञापन गर्नुभएको छ ।