भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि चौरजहारीका सिकर्मी डकर्मीलाई तालिम 

आइतबार, चैत २५, २०८०

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले भूकम्प प्रतिरोधी भवन तथा संरचना निर्माणसम्बन्धी कार्यगत तालिमको सुरु गरेको छ ।

कार्तिक १७ गते जारजकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि पुनर्निमार्णका लागि जनशक्तिको क्षमता विकास गर्न २० दिने कार्यगत तालिम सुरु गरिएको हो ।  

आज आईतबार वडा नम्वर ११ स्थित जहारी क्याम्पस खोलागाउँमा औपचारिक कार्यक्रमका बिच तालिमको उदघाटन गरिएको छ । चौरजहारी नगरपालिका, कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालसँग तालिम सञ्चालनका लागि गत फागुन २३ गते सम्झौता भएको थियो ।

तालिममा १४ जना सिकर्मी तथा डकर्मीहरूको सहभागिता रहेको चौरजहारी नगरपलिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शेर प्रसाद ढकालले जानकारी दिनुभयो। स्थानीय साधन स्रोतको प्रयोग गरी भूकम्प प्रतिरोधी घर तथा संरचना निर्माणका विषयमा सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण प्रदान गरिने बताईएको छ । 

तालिमको क्रमम हिमालय मावि खोलागाउँको कक्षा ५ कक्षासम्म सञ्चालित विद्यालय टाटामा दुई कोठे नमुना भवन निर्माण गरिनेछ । कार्तिक १७ गते राति जाजरकोट केन्द्र विन्दु भइ आएको भूकम्पका  कारण  चौरजहारीमा सात हजार ५०२  सय घरमा क्षति पुगेको तथ्याङ्क रहेको छ । 

चौरजहारी नगरपालिका प्रमुख पुष्प वादीको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य गीता केसी, जहारी क्याम्पस खोलागाउँका क्याम्पस प्रमुख सुदर्शन शाह, कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रशासन अधिकृत नवीन ढकाल, भूकम्प प्रविधि राष्ट्रिय समाजका निर्देशक सुमन प्रधान कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानका क्षमता विकास विज्ञ गणेश उपाध्यायको आतिथ्यता रहेको थियो । 

कार्यक्रममा बोल्दै चौरजहारी नगरपालिका प्रमुख पुष्प वादीले पुनर्निमाणको अभियानमा सबै एकजुट भएर लाग्न आग्रह गर्नुभयो । भूकम्प पीडितहरूका लागि प्रदान गरिएको अनुदान रकमको सही सदुपयोग र बलियो संरचना निर्माणमा जिम्मेवार बन्नुपर्ने उहाँको भनाइ छ । कार्यक्रमको सञ्चालन चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले गर्नुभएको थियो । 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १९:१२
प्रतिक्रिया दिनुहोस्