शैक्षिक सुधारका लागि सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम सम्पन्न

मंगलबार, चैत २७, २०८०

रुकुम पूर्व/ जिल्लामामा बिद्यालय शिक्षा सुधारका लागि सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । हुरेड-कार्स रुकुमको आयोजनामा जिल्लाको सिस्ने गाउँपालिका ६ छिप्रिदहमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । 

विकास साझेदार संस्थाहरु अमेरिकी अन्तराष्ट्रिय विकास नियोग, सिविल सोसाइटी एण्ड मिडिया एक्टिभिटी, सिकाईमा समूदायको सहभागिता(च्यालेन्ज फन्डको सहयोगमा द एशिया फाउनडेशन र हुरेड कार्स नेपालको साझेदारीमा संचालित परियोजना अन्तर्गत उक्त कार्यक्रमको आयोजना गरिएको हो । 

सामुदायिक बिद्यालयका बिद्यमान शैक्षिक अवस्था, शैक्षिक गुणस्तर, समस्था तथा चुनौतिहरुका बारे गहिरो अध्ययन गरिएको र अध्ययनबाट आएका नतिजाहरुलाई सरोकारवालाहरुसामु प्रस्तुत गरि आगामी शैक्षिक सुधारका उपायहरु खोजी गर्न यस अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिएको हुरेडकार्स रुकुम पूर्वका अध्यक्ष दामोदर गौतमले बताउनुभयो । 

हुरेड कार्स रुकुमले साझेदार निकायहरुको सहयोगमा रुकुम पूर्व जिल्लाको सिस्ने, भूमे र पुथा उत्तरगंगा गाउँपालिका र रोल्पा जिल्लाको थबाङ गाउँपालिकाका अठार बिद्यालयहरुमा समूदाय र संजालको सहभागिता मार्फत सामूदायिक बिद्यालयको शैक्षिक सुधार परियोजना संचालन गरिरहेको बताएको छ । 

अन्तर्क्रिया कार्यक्रममा सामूदायिक बिद्यालयको अवस्था, बिद्यालयहरुका समस्या तथा चुनौतिहरु र बिद्यमान समस्याहरुका बारेमा जानकारी र छलफलका साथै समस्याहरु समाधानका उपायबारे छलफल गरिएको थियो ।

जिल्लाका भूमे र पुथा उत्तरगंगा गाउँपालिकामा यस अघिनै अन्तरक्रिया कार्यक्रम सम्पन्न भैसकेको र आज सिस्ने गाउँपालिका मा कार्यक्रम संचालन गरिएको हो । अन्तरक्रिया कार्यक्रम मार्फत सिस्ने गाउँपालिकाका ५ वटा बिद्यालयको शैक्षिक तथा भौतिक अवस्थाका बारेमा जानकारी गराईएको छ । जसअन्तर्गत गाउँपालिकाको ५ नम्बर वडामा रहेका रुक्मिणी माध्यमिक बिद्यालय, कोट माध्यमिक बिद्यालय रुमालबारा र ६ नम्बर वडामा अवस्थित त्रिभुवन जनता माध्यमिक बिद्यालय छिप्रिदह, सिर्जना आधारभूत बिद्यालय खालबोट र जनता आधारभूत बिद्यालय खोपीचार बाट बिद्यालयका समग्र क्षेत्रमा रिपोर्ट तयार पारि प्रस्तुत गरिएको थियो । 

अन्तर्क्रियामा बिद्यालयका शैक्षिक तथा भौतिक पक्षका केही समस्याहरुको पहिचान समेत गरिएको थियो । तिनै समस्या समाधानका निमित्त आजको अन्तरक्रिया कार्यक्रममा छलफल गरि सहभागी मार्फत सुधारका लागि कार्ययोजना समेत निर्माण गरिएको छ । 

उक्त अन्तरक्रिया कार्यक्रमको सहजीकरण केशब कुमार बिसीले गर्नुभएको थियो । हुरेड-कार्स रुकुमका अध्यक्ष दामोदर गौतमको अध्यक्षता रहेको अनतरक्रिया कार्यक्रममा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीको प्रमुख तथा प्रमुख जिल्ला अधिकारी माधब प्रसाद शर्माको बिशेष आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा सिस्ने गाउँपालिका उपाध्यक्ष गोपाल रेउले, शिक्षा बिकास तथा समन्वय ईकाइ रुकुम पूर्वका प्रमुख तिलक गौतम, वडा अध्यक्षहरु बिभिन्न बिद्यालयका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकहरु, संचारकर्मिहरु र शिक्षासंग सरोकार राख्ने निकायहरुको उपस्थिती रहेको थियो ।
 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  २२:२१
प्रतिक्रिया दिनुहोस्