भूकम्पपीडितको अस्थायी टहरामा आगलागी, सबै सामान नष्ट

बुधबार, चैत २८, २०८०

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा एक भूकम्पपीडितको अस्थायी आवास (टहरा) मा आगलागी भएको छ । 

मंगलबार बेलुका त्रिवेणी गाउँपालिका वडा नम्वर ५ घोरनेटी निवासी चन्द्रकला घर्तीको अस्थायी आवासमा आगलागी भएको हो । 

वडा अध्यक्ष रनबहादुर पुनका अनुसार खाना पकाउने क्रममा चलेकाे हावाहुरी कारण टहरामा आगो सल्केकाे हो । गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर आएको भूकम्पको कारण घर क्षती भएपछि घर्तीको सात जनाको परिवार अस्थायी टहरामा बस्दै आएको वडा अध्यक्ष पुनले जानकारी दिनुभयो । 

आगलागीबाट टहरासहित त्यसमा रहेका अन्नपात, लत्ताकपडा, नागरिकता, जन्मदर्ता लगायतका कागजात लगायतका सामाग्री जलेर नष्ट भएका छन् । करिब दुई लाख बराबरको सामाग्री जलेर नष्ट भएको छ । 

435197765_3831086360459691_5408421147599204469_n-1712732356.jpg
 

आगलागी पीडित घर्तीको परिवारलाई वडा कार्यालयले तत्कालको लागि एक बोरा चामल, एक पेटी तेल, पाँच किलो दाल, पाँच पोको नुन दिने भएको छ । केहि बेरमा पीडितको घरमा गएर राहत उपलब्ध गराईने वडा अध्यक्ष पुनले बताउनुभयो । 

गर्मियाममा हावाहुरीको कारण अरुको तुलनामा अस्थायी आवासमा आगलागीको जोखिम रहेको बताईन्छ । वडा अध्यक्ष पुनले यस समयमा आगलागी हुनसक्ने जोखिम उच्च रहेकोले सावधानी अपनाउन अनुरोध गर्नुभएको छ । 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १२:४६
प्रतिक्रिया दिनुहोस्